२७ आश्विन २०८३ मंगलबार
image/svg+xml
अर्थ

चार सय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६० ग्राहकलाई भूमिगत माध्यमबाट विद्युत् प्रदान गरिएको छ।  

बाइपास रोड, सहिदचोकदेखि पुलचोकसम्म र चितवन मेडिकल कलेज अगाडिका ती ग्राहकलाई भूमिगत विद्युत् वितरण गरिएको हो। नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार अहिले पनि ग्राहककोमा भूमिगत विद्युत् जडानको काम भइरहेको छ। अहिले दैनिक १३ वटा हाराहारी मिटरमा लाइन जडानको काम भइरहेको छ। उनका अनुसार भूमिगत विद्युतीकरणअन्तर्गत १८ वटा फिडरमध्ये तीन वटामा लाइन जडानको काम बाँकी रहेको छ भने अन्यमा जडान गरी सकिएको छ।  

भूमिगत विद्युतीकरणअन्तर्गत भरतपुर महानगरपालिकाका एक हजार २४० ग्राहककोमा लाइन जडान गर्नुपर्ने हुन्छ। अहिलेसम्म आयोजनाले ९५ प्रतिशत काम सम्पन्न गरिसकेको उनले जानकारी दिए। भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्नका लागि रु एक अर्ब ४० करोड लागत लाग्ने छ। सुरुआती समयमा रु एक अर्ब ३० करोड बजेट भरतपुरलाई विनियोजन गरिएको थियो। काम थपिएसँगै रु १० करोड थप गरिएको हो।

निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले पाएको थियो। सन् २०२१ अक्टोबरदेखि ठेक्का सम्झौता गरी काम सुरु गरिएको हो। ठेक्का सम्झौताअनुसार पहिलो चरणको समय सन् २०२४ को जनावरी २० मा सकिएसँगै पटकपटक म्याद थप गरेर कामलाई अघि बढाइएको हो। एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो। रासस

प्रकाशित: २७ आश्विन २०८३ ०९:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App