१ वैशाख २०८३ मंगलबार
image/svg+xml
अर्थ

आयल निगमलाई १५ दिनमै ७ अर्ब ८१ करोड घाटा हुने

नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यबारे सामाजिक सञ्जालमा फैलिएका भ्रामक सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्यसूची अनुसार खरिद लागत बढेको तर बिक्री मूल्य कम हुँदा निगमलाई आगामी १५ दिनमै ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ।

निगमका अनुसार मार्च ३१, २०२६ मा आईओसीबाट प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलको खरिद लागत प्रतिलिटर २ सय २१ रुपैयाँ ३२ पैसा, डिजेलको २ सय ९४ रुपैयाँ ९९ पैसा र खाना पकाउने एलपी ग्यासको प्रतिसिलिन्डर २ हजार ३ सय ४१ रुपैयाँ २५ पैसा पुगेको छ।

तर, हाल नेपाली बजारमा निगमले खुद्रा बिक्री मूल्य क्रमशः पेट्रोल २ सय १९ रुपैयाँ, डिजेल २ सय ७ रुपैयाँ र ग्यास २ हजार १० रुपैयाँ तोकेको छ।

खरिद लागत बढेर आए पनि बजारमा सोही अनुपातमा मूल्य समायोजन नगर्दा निगमले प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ ३२ पैसा, डिजेलमा ८७ रुपैयाँ ९९ पैसा र मट्टितेलमा ३६ रुपैयाँ ७० पैसा घाटा व्यहोरिरहेको छ।

यसैगरी, खाना पकाउने एलपी ग्यासमा निगमलाई प्रतिसिलिन्डर ३ सय ३१ रुपैयाँ २५ पैसा घाटा भइरहेको छ। हवाई इन्धन (बाह्य) मा भने प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा नाफा रहेको निगमले जनाएको छ।

पाक्षिक (१५ दिन) रूपमा हुने बिक्री परिमाणलाई आधार मान्दा निगमलाई डिजेलको कारोबारबाट मात्रै सबैभन्दा बढी ७ अर्ब २३ करोड ९३ लाख रुपैयाँ घाटा हुने अवस्था छ।

समग्र पेट्रोलियम पदार्थको बिक्रीबाट आगामी १५ दिनमा कुल ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ घाटा हुने निगमले प्रस्तुत गरेको तथ्याङ्कमा उल्लेख छ।

अन्तर्राष्ट्रिय परिवेशले सिर्जना गरेको जटिल परिस्थितिमा पनि निगमले आपूर्ति व्यवस्थापन सहज बनाइरहेको दाबी गरेको छ।

निगमका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्ने क्रममा आएपछि सोही अनुसार मूल्य समायोजन हुने व्यहोरा समेत सरोकारवाला सबैमा जानकारी गराउन चाहन्छौं।’

प्रकाशित: ३० चैत्र २०८२ १७:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App