अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको बोझिलो प्रशासनिक संरचनामा व्यापक कटौती गर्दै मन्त्रालयको संख्या १८ मा झार्ने घोषणा गरेका छन्।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उनले खर्च कटौती र प्रशासनिक चुस्तताका लागि हाल कायम रहेका २२ वटा मन्त्रालयलाई घटाएर १८ कायम गरिएको जानकारी दिए।
सरकारले सार्वजनिक खर्च घटाउन र संगठनलाई छरितो बनाउन विभिन्न ३१ वटा सरकारी निकायलाई पूर्ण रूपमा खारेज गर्ने निर्णय समेत गरेको छ।
बजेट वक्तव्यका क्रममा अर्थमन्त्री वाग्लेले ६ वटा निकायलाई एक आपसमा गाभ्ने, ६ वटालाई हस्तान्तरण गर्ने र १८ वटा निकायको पुनर्संरचना गरिने योजना सार्वजनिक गरे।
संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले भने, ‘नेपाल सरकारको बोझिलो संगठन संरचना अब छरितो हुनेछ। मन्त्रालय र निकायहरूको कटौतीबाट बचत हुने खर्चलाई प्रशासन सुधारमा खर्च गरी सरकारी सेवा प्रवाहलाई चुस्त दुरुस्त पारिनेछ।’
प्रकाशित: १५ जेष्ठ २०८३ १६:३९ शुक्रबार





