३१ असार २०८३ बुधबार
image/svg+xml
अर्थ

अब नेपाल टेलिकमका सिमकार्ड हुलाकमार्फत् घर घरमै!

नेपाल टेलिकमका सेवाग्राहीले अब सिमकार्डसहित दूरसञ्चार सेवासँग सम्बन्धित विभिन्न सामग्री घरमै प्राप्त गर्न सक्ने भएका छन्। यसका लागि नेपाल टेलिकम र हुलाक सेवा विभागबीच बिहीबार औपचारिक सम्झौता भएको छ।

नयाँ सम्झौताअनुसार आगामी साउन १ गतेदेखि हुलाक सेवा विभागले नेपाल टेलिकमका सिमकार्ड, चिठीपत्र, आवश्यक कागजात तथा दूरसञ्चार सेवामा प्रयोग हुने विभिन्न स्पेयर पार्ट्सलगायत सामग्रीको ढुवानी तथा वितरण गर्नेछ।

यो व्यवस्था लागू भएपछि सेवाग्राहीले चाहेअनुसार नेपाल टेलिकमका सेवा तथा सामग्री कम्पनीको कार्यालयमा उपस्थित नभई हुलाकमार्फत आफ्नै घरदैलोमा प्राप्त गर्न सक्नेछन्। यसलाई सेवा प्रवाहलाई थप सहज र पहुँचयोग्य बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

सम्झौतापत्रमा नेपाल टेलिकमका तर्फबाट निमित्त प्रबन्ध निर्देशक रीना डंगोल तथा हुलाक सेवा विभागका तर्फबाट महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरेका छन्।

हस्ताक्षर समारोहमा निमित्त प्रबन्ध निर्देशक डंगोलले सेवाग्राहीलाई कार्यालयसम्म धाउनुपर्ने बाध्यता हटाउँदै घरमै सेवा उपलब्ध गराउने नीति अन्तर्गत यो सहकार्य गरिएको बताइन्। उनका अनुसार कम्पनीले सेवा वितरणलाई अझ आधुनिक, सहज र प्रभावकारी बनाउने दिशामा काम गरिरहेको छ।

त्यस्तै हुलाक सेवा विभागकी महानिर्देशक पंगेनीले सरकारी सेवालाई नागरिकको घरदैलोसम्म पुर्‍याउने सरकारको लक्ष्य कार्यान्वयनमा यो सहकार्य महत्वपूर्ण हुने विश्वास व्यक्त गरिन्।

सरकारी स्वामित्वमा रहेका दुई ठूला संस्थाबीच भएको यस सहकार्यले हुलाक सेवाको देशव्यापी सञ्जाल प्रयोग गर्दै नेपाल टेलिकमको सेवा प्रवाहलाई थप प्रभावकारी, सुरक्षित तथा गुणस्तरीय बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित: १८ असार २०८३ १८:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App