ऋणीले राखेको घरजग्गालगायत धितो बिक्री नभएर बैंकहरूलाई कर्जा उठाउन सास्ती भइरहेको छ। अहिले बैंकका कर्मचारी कर्जा चुक्ताका लागि ऋणीको घर–कार्यालयमै पुगेर ताकेता गर्दा पनि उनीहरूले अनेक समस्या देखाएर तिर्ने भाका लम्ब्याइरहेको गुनासो बैंकरहरूको छ। कर्जा उठाउन गएका बैंकका कर्मचारीसमेत पिटिएका घटना बाहिरिएपछि सुरक्षामा पनि चुनौती बढेको छ।
ऋणीले तोकिएको म्यादमा ऋण नतिरेपछि धितोबापत राखेको सम्पत्ति जफत गर्न पटकपटक कर्जा चुक्ताको सूचना पत्रपत्रिकामा निकाल्नेदेखि अनेक प्रयास गर्दा समेत असुल हुन सकेको छैन। खराब कर्जा व्यवस्थापन अर्थात् ऋणीले राखेको धितो बिक्री नहुँदा बैंकहरूमा गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ। बैंकिङ क्षेत्रमा खराब कर्जा व्यवस्थापन निकै चुनौतीपूर्ण बनेको बैंकरहरू बताउँछन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को तथ्यांकअनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति ४६ अर्ब ८० करोड रुपैयाँबराबर भन्दा बढी छ। यो रकम आर्थिक वर्ष २०८१/८२ को तुलनामा १८.८९ प्रतिशतले बढी हो।
सरोकारवाला एवं बैंकर्सहरूका अनुसार गैरबैंकिङ सम्पत्ति यसरी बढ्दै जानु बैंकिङ प्रणालीमा देखिएको जटिल समस्या हो। यसले बैंकहरूको कर्जा प्रवाहमै गम्भीर असर पार्न सक्ने सरोकारवालाको दाबी छ। उनीहरूका अनुसार ऋणीले समयमा साँवाब्याज तिर्न नसक्नु र बैंकले धितो बेचेर असुली गर्न नसक्नुले बजारमा चक्रीय मन्दी रहेको पुष्टि गर्छ। आगामी दिनमा आर्थिक गतिविधि वृद्धि नभए र घरजग्गा कारोबार सहज नभए बैंकहरूको ‘ब्यालेन्स सिट’मा नै अनुत्पादक गैरबैंकिङ सम्पत्तिको भार झन् बढ्ने देखिन्छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा विभिन्न वाणिज्य बैंकसँग ३८ अर्ब ७९ करोड रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थियो। एक वर्षको अवधिमा बैंकहरूमा यस्तो सम्पत्ति ८ अर्ब १० करोड रुपैयाँले थपिएको छ।
सरकारबाट नीतिगत दबाब पार्ने, राष्ट्र बैंक गुहार्नेलगायत धेरै प्रयास गर्दै आएका बैंकहरूले लामो समयदेखि नउठेको खराब कर्जाको समस्या समाधानमा सफलता पाउन सकेका छैनन्। धेरै प्रयासबाट पनि बैंकहरूले प्रवाह गरेको कर्जा असुली नहुने र धितो लिलामीमा राख्दा कसैले नसकारे बैंक आफैंले त्यस्तो धितो (घरजग्गा वा अन्य चलअचल सम्पत्ति) आफ्नो नाममा ल्याउनुपर्ने हुन्छ। यसलाई गैरबैंकिङ सम्पत्ति भनिन्छ। यस्तो सम्पत्ति बढ्नु भनेको बैंकको पुँजी ‘डेढ एसेट’मा फ्रिज हुनु हो। जसले बैंकको नाफा र तरलता सञ्चालनमा समेत प्रत्यक्ष असर पु¥याउँछ।
हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरूको विवरण हेर्दा हिमालयन बैंक सबैभन्दा बढी गैरबैंकिङ सम्पत्तिको भार बोक्ने सूचीमा छ। हिमालयन बैंकसँग ६ अर्ब २३ करोड ८५ लाख ९० हजार रुपैयाँबराबरको यस्तो सम्पत्ति छ। त्यसपछि ग्लोबल आइएमई बैंकसँग ५ अर्ब ८९ करोड ११ लाख ७० हजार र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा ४ अर्ब ७० करोड ३२ लाख २० हजार रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति छ।
त्यस्तै एनआइसी एसिया बैंकसँग ४ अर्ब १७ करोड ७१ लाख ४० हजार, नबिल बैंकसँग ३ अर्ब ३८ करोडँ, कुमारी बैंकसँग २ अर्ब ४५ करोड, लक्ष्मी सनराइज बैंकसँग २ अर्ब ४४ करोड, एनएमबी बैंकसँग २ अर्ब १ करोड रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति छ।
सरकारी स्वामित्वमा सञ्चालित कृषि विकास बैंकसँग १ अर्ब ३८ करोड, नेपाल बैंकसँग २३ करोड ३६ लाख र राष्ट्रिय वाणिज्य बैंकसँग ३१ करोड ४ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति छ। यो तथ्यांकले पनि बैंकहरू खराब कर्जाको जोखिममा र धितो व्यवस्थापनको दबाबमा रहेको देखाउँछ।
यस अवधिमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने गैरबैंकिङ सम्पत्तिको अनुपात शून्य प्रतिशत कायम राखेको छ। स्ट्यान्डर्डबाहेक अन्य सबै बैंकमा खराब कर्जा धितो सम्पत्ति झन् थुप्रिने क्रममा छ।
काठमाडौं उपत्यकालगायत देशभर घरजग्गा कारोबार, सेयर बजार, पूर्वाधार तथा निर्माण क्षेत्रमा देखिएको मन्दी, सुस्तताका कारण बैंकहरूले लिलामीमा चढाएका धितोहरू बिक्री हुन सकिरहेका छैनन्।
यस्तो सम्पत्ति बैंकले लामो समय होल्ड गर्दा त्यसबाट ब्याज आम्दानी नहुने मात्र होइन, उल्टै प्रोभिजनिङ (सम्भावित जोखिम व्यवस्थापन)मा रकम छुट्याउनुपर्ने हुन्छ। यसले बैंकहरूको प्रतिसेयर आम्दानी र लाभांस वितरण क्षमतामा समेत गम्भीर प्रभाव पार्ने बैंकर्सहरूको भनाइ छ।
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहाल अनेक उपाय गर्दा पनि बैंकहरूलाई धितोकर्जा उठाउन निकै सास्ती भइरहेको बताउँछन्। उनले विगतका वर्षमा भन्दा यो वर्ष खराब कर्जा उठाउन झन् सकस भएको जानकारी गराए।
नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले गैरबैंकिङ सम्पत्तिलाई नियमित कारोबारमा प्रयोग गर्न सकियोस् भनेर सकेसम्म छिटो बिक्री गरी नगदमा परिणत गर्नुपर्छ। राष्ट्र बैंकको नियम पालना गर्दै बैंकहरूले खराब कर्जा उठाउन सक्दो प्रयास गर्दै आए पनि सफलता पाएका छैनन्।
प्रकाशित: १३ श्रावण २०८३ ०७:४७ बुधबार





