नेप्से परिसूचकमा बुधबार सामान्य सुधार देखिएको छ । यो साता कारोबार हुने अन्तिम दिन बुधबार नेप्से परिसूचक १.३७ अंक बढेर २५८५.८७ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ०.९४ अंक, फ्लोट इण्डेक्स ०.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०४६ अंकले वृद्धि भएको छ ।
बुधबार कारोबार रकम भने २० करोडले घटेको छ। बुधबार ३३४ स्टकको ६२ हजार ७६८ पटकको कारोबारमा ३ अर्ब २२ करोड ४६ लाख ६४ हजार रुपैयाँबराबरको ७२ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। मंगलबार ३ अर्ब ४२ करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ५.३२ प्रतिशतले बढेको छ भने ग्रामिण विकास लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको एसवाई प्यानल नेपालको १४ करोड ४९ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये बुधबार ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ्ग, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बिमा र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।
प्रकाशित: ९ पुस २०८२ १५:३६ बुधबार





