कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक ७.३७ अंकले घटेर २६४३.८३ विन्दुमा कायम भएको छ। पछिल्ला तीन कारोबार सामान्य अंकले बढेपनि शुक्रबार भने नेप्सेमा सामान्य गिरावट आएको हो। सेन्सेटिभ इण्डेक्स ०.१३ अंक, फ्लोट इण्डेक्स ०.४० अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंकले घटेको छ।
नेप्से घटेपनि कारोबार रकम भने बिहीबारको तुलनामा ५० करोडभन्दा बढीले वृद्धि भएको छ। शुक्रबार ३४४ स्टकको ४३ हजार ६० पटकको कारोबारमा ४ अर्ब २७ करोड ५६ लाख ७५ हजार रुपैयाँबराबरको ९७ लाख ५४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। बिहीबार नेप्सेमा ३ अर्ब ७२ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।
माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र विकास हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब ७ प्रतिशतले बढेको छ भने सुपर खुदी हाइड्रोपावरको शेयरमूल्य १२.८३ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको एग्रीकल्चरल बण्ड (९ वर्षे) को ७० करोड ८७ लाख ९९ हजार रुपैयाँबराबरको कारोबार भयो। खानी खोला हाइड्रोपावर कम्पनीको करिब १८ करोड र लिबर्टी इनर्जी कम्पनीको साढे १६ करोड रुपैयाँ बराबरको कारोबार भयो।
१३ उपसमूहमध्ये शुक्रबार चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ। जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।
प्रकाशित: २९ श्रावण २०८३ १५:३२ शुक्रबार





