नयाँ वर्षको अवसर पारेर नेपालगन्जमा हुने सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमबाट कर असुल्ने तयारी गरिएको छ।विशेषगरी राष्ट्रिय कलाकारहरूको उपस्थितिमा तारे होटलहरूमा आयोजना हुने कार्यक्रमलाई लक्षित गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले प्रतिटिकट २५ रुपैयाँका दरले मनोरञ्जन कर उठाउने निर्णय गरेको हो।
नयाँ वर्ष नजिकिँदै जाँदा नेपालगन्जका ठूला होटल तथा पार्टी प्यालेसहरूमा भव्य कार्यक्रमहरूको तयारी तीव्र भएको छ। चर्चित राष्ट्रिय कलाकारहरूलाई बोलाएर सांगीतिक कार्यक्रम आयोजना गर्ने र त्यसका लागि दर्शकबाट महँगो शुल्क लिने प्रवृत्ति बढ्दै गएको छ। यस्ता कार्यक्रमहरूबाट ठूलो आर्थिक कारोबार हुने भए पनि यसअघि प्रभावकारी रूपमा कर असुली हुन नसकेको भन्दै उपमहानगरपालिकाले अब कडाइ गर्ने नीति लिएको हो।
नगरका अनुसार, सांस्कृतिक, मनोरञ्जनात्मक तथा कन्सर्ट कार्यक्रमहरूमा टिकट बिक्री हुँदा तोकिएको दरअनुसार कर अनिवार्य रूपमा तिर्नुपर्ने कानुनी व्यवस्था छ। सोही व्यवस्थाअनुसार अब आयोजना हुने सबै कार्यक्रमबाट प्रतिटिकट २५ रुपैयाँ कर असुल गरिनेछ। उपमहानगरपालिकाका राजस्व शाखाका अधिकारीहरूले पछिल्लो समय यस्ता कार्यक्रमहरूमा व्यापक सहभागिता हुने र टिकटको मूल्यसमेत उच्च हुने भएकाले कर संकलनको सम्भावना पनि ठूलो रहेको बताएका छन्। यसबाट नगरको आन्तरिक आम्दानीमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ। संकलित राजस्वलाई विकास निर्माण, सरसफाइ, सडक सुधार तथा अन्य सार्वजनिक सेवामा उपयोग गर्ने योजना रहेको जनाइएको छ।
यसअघि केही कार्यक्रमहरू बिना कर तिरे सञ्चालन भएको गुनासो आएपछि नगरले यस विषयमा चासो दिएको हो। अब भने कर छल्ने वा नियम उल्लंघन गर्ने आयोजकलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारिएको छ। आवश्यक परे अनुगमनलाई पनि कडाइ गरिने बताइएको छ । होटल तथा कार्यक्रम आयोजकहरूलाई पारदर्शी रूपमा टिकट बिक्रीको विवरण राख्न, आम्दानी लुकाउन नपाउने र समयमै कर बुझाउन निर्देशन दिइएको छ। नगरले यसलाई राजस्व चुहावट रोक्ने तथा आर्थिक अनुशासन कायम गर्ने अभियानको रूपमा अघि बढाएको जनाएको छ।
स्थानीय स्तरमा मनोरञ्जनात्मक कार्यक्रमको विस्तारसँगै करको दायरा पनि बढ्दै गएको छ। उपमहानगरपालिकाको यो कदमले आगामी दिनमा यस्ता कार्यक्रमहरू व्यवस्थित र कानुनी दायराभित्र सञ्चालन हुने अपेक्षा गरिएको छ। साथै, यसबाट नगरको आम्दानी बढ्ने र सार्वजनिक सेवा प्रवाहमा थप सुदृढता आउने विश्वास गरिएको छ।
प्रकाशित: ३० चैत्र २०८२ १५:५५ सोमबार





