चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालगन्ज भन्सार कार्यालयले अघिल्लो वर्षको तुलनामा राजस्व असुलीमा सुधार गरेको छ ।
कार्यालयका अनुसार लक्ष्यअनुसारको ७४ प्रतिशत असुल गरिएको छ, जुन अघिल्लो वर्षको साउन महिनाको तुलनामा केही प्रतिशत अंकले बढी हो ।
कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार चालु वर्षको साउन महिनामा १८ लाख ६६ हजार पाँच सय ४६ रुपैयाँ लक्ष्य निर्धारण गरिएको थियो । यो लक्ष्यअनुसार १३ लाख ८३ हजार सात सय ८४ रुपैयाँ राजस्व असुल भएको छ । यो लक्ष्यको ७४ प्रतिशत हो ।
अघिल्लो वर्षको साउनमा भने २० लाख ४१ हजार चार सय ६६ रुपैयाँ लक्ष्य निर्धारण गरिएको थियो तर असुली मात्र १५ लाख तीन हजार आठ सय ३४ रुपैयाँमा सीमित भएको थियो । त्यसबेला लक्ष्यको ७३.६७ प्रतिशत मात्रै असुल भएको थियो । यसरी हेर्दा चालु वर्षको पहिलो महिनामा नेपालगन्ज भन्सार कार्यालयले अघिल्लो वर्षको तुलनामा राजस्व असुलीमा वृद्धि गरेको देखिन्छ ।
नेपालगन्ज भन्सारले राजस्व संकलनमा देखिएको सुधारलाई आयातका वस्तुमा भएको वृद्धिसँग जोडेको छ । विशेष गरी घरेलु उपभोगका वस्तुहरू जस्तैः एलपी ग्यास, चामल, खाद्यान्न मकै र तयारी कपडा आयातमा भएको वृद्धिले राजस्व असुलीलाई टेवा दिएको कार्यालयको भनाइ छ ।
साउन महिनामा मात्र चार लाख ४२ हजार पाँच सय पाँच रुपैयाँ बराबरको एलपी ग्याँस नेपालगन्ज भन्सार हुँदै भित्रिएको छ । यस्तै, चामल चार लाख सात हजार ८८ रुपैयाँ, खाद्यान्न मकै दुई लाख १८ हजार सात सय ८१ रुपैयाँ तथा तयारी कपडा दुई लाख सात हजार ६ सय २१ रुपैयाँ बराबर आयात भएको छ ।
यी सामग्रीहरूको आयातले राजस्व वृद्धिमा महŒवपूर्ण योगदान पुगेको कार्यालयले जनाएको छ । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले यसपटकको असुलीलाई सकारात्मक सूचकको रूपमा लिएको बताए ।
उनले भने, ‘अघिल्लो वर्षभन्दा यस वर्ष साउन महिनामा राजस्व असुलीमा सुधार भएको छ । मुख्यतया एलपी ग्यास र खाद्यान्नका सामग्रीको आयात बढेकाले राजस्व वृद्धिमा सहयोग पुगेको हो । यसले आगामी महिनामा अझै राम्रो नतिजा आउने संकेत दिएको छ ।’
उनका अनुसार भन्सार कार्यालयले लक्ष्यअनुसारको असुली गर्न सक्ने अवस्थाको सिर्जना गर्न विभिन्न संयन्त्रहरू सक्रिय गरिएका छन् । विशेष गरी सीमा क्षेत्रमा हुने अनधिकृत गतिविधि नियन्त्रण, सूचना प्रवाह प्रणालीलाई सबल बनाउने काम तथा भन्सार प्रशासनलाई चुस्त बनाउन गरिएको प्रयासका कारण पनि असुलीमा सुधार देखिएको पौडेलको भनाइ छ । तर, भन्सार प्रमुख पौडेलले लक्ष्य पूरा गर्न अझै धेरै चुनौती बाँकी रहेको बताएका छन् ।
भन्सार नाकामा हुने तस्करी, मूल्यांकनमा हुने समस्या, राजनीतिक तथा सामाजिक दबाबजस्ता कारणले राजस्व संकलनमा अझै कठिनाइ छन् ।
नेपाल–भारत सिमानामा हुने आवागमन सहज भएकोले आयातसँगै अनधिकृत गतिविधि पनि बढ्ने खतरा रहने उनको बुझाइ छ । भन्सार कार्यालयले यसलाई नियन्त्रणमा लिन भन्सार कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य निकायसँग सहकार्य गरिरहेको उनले जानकारी दिए ।
भन्सार असुली बढ्नु केवल सरकारी राजस्व संकलनमा मात्र सीमित नभई स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने विशेषज्ञहरूको भनाइ छ । नेपालगन्ज भन्सार नाकाबाट हुने आयातले बाँके र आसपासका जिल्लामा उपभोग्य वस्तुको उपलब्धता बढाउँछ । यसले बजारमा स्थिरता ल्याउनुका साथै स्थानीय व्यापारलाई गतिशील बनाउन मद्दत गर्दछ । एलपी ग्यासको आयात बढ्नु उपभोक्ताको आवश्यकतासँग प्रत्यक्ष सम्बन्धित छ । बाँके, बर्दिया, सुर्खेत, दाङलगायतका जिल्लामा एलपी ग्यासको माग उच्च छ । यसै कारण यस वर्षको साउन महिनामा ग्यास आयात अघिल्लो वर्षको भन्दा बढी भएको भन्सार अधिकृत पौडेलको भनाइ छ ।
समग्रमा हेर्दा, चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालगन्ज भन्सार कार्यालयले देखाएको राजस्व असुलीको सुधार सकारात्मक संकेत हो । आयातमा देखिएको वृद्धि र प्रशासनिक चुस्ती यसका मुख्य आधार हुन् । तर, अझै बाँकी रहेका चुनौतीहरू समाधान गर्न सकिएमा नेपालगन्ज भन्सारले आगामी महिनामा लक्ष्यभन्दा बढी राजस्व असुल गर्न सक्ने सम्भावना प्रबल देखिन्छ ।
नेपालगन्ज भन्सारमार्फत यस वर्ष पहिलोपटक भारततर्फ टायल निर्यात सुरु भएको छ । अघिल्लो वर्ष साउन महिनामा कुनै टायल निर्यात नभएकोमा चालु वर्ष भने एक हजार ६६ रुपैयाँ बराबरको टायल भारत निर्यात भएको भन्सार तथ्यांकले देखाएको छ । रकमको हिसाबले यो निर्यात ठूलो नभए पनि यसलाई व्यापारिक सम्भावनाको सुरुआतको रूपमा लिइएको छ । नेपालगन्ज भन्सारमार्फत यस वर्ष पहिलोपटक भारततर्फ काजु हस्क निर्यात भएको छ । अघिल्लो वर्ष साउन महिनामा यस वस्तुको निर्यात शून्य रहेकोमा चालु वर्ष भने दुई सय ७२ रुपैयाँ बराबरको काजु हस्क भारत पठाइएको तथ्यांकले देखाएको छ ।
प्रकाशित: ७ भाद्र २०८२ १७:३० शनिबार





