२२ भाद्र २०८३ सोमबार
image/svg+xml
अर्थ

सार्वजनिक बिदा भए पनि मंगलबार अत्यावश्यक बैङ्किङ सेवा सञ्चालन गर्न राष्ट्र बैङ्कको निर्देशन

सरकारले सार्वजनिक बिदा दिएको भए पनि भदौ २३ गते मंगलबार ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका इजाजतपत्र प्राप्त सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थाहरूलाई अत्यावश्यक बैङ्किङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैङ्कले निर्देशन दिएको छ।

नेपाल राष्ट्र बैङ्कअन्तर्गतको बैङ्क तथा वित्तीय संस्था नियमन विभागले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै बाढीपहिरो प्रभावित क्षेत्रको राहत तथा उद्धार कार्यलाई सहज बनाउन यस्तो निर्देशन दिएको हो।

गत भदौ १० गते रसुवा, नुवाकोटलगायतका जिल्लामा आएको प्राकृतिक विपद्‌बाट प्रभावित नागरिकहरूलाई राहत वितरण, आर्थिक परिचालन तथा खोज-उद्धार कार्यमा सघाउ पुर्‍याउने उद्देश्यले काउन्टर तथा बैङ्किङ सेवा नियमित रूपमा सञ्चालनमा ल्याउन राष्ट्र बैङ्कले परिपत्र गरेको छ।

मन्त्रिपरिषद्को भदौ १८ गतेको निर्णयअनुसार भदौ २३ गते जेन्जी सहिद दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने घोषणा गरिएको थियो।

तर, आपत्कालीन परिस्थिति र विपद् व्यवस्थापनमा वित्तीय अवरोध नहोस् भन्ने हेतुले उक्त दिन सार्वजनिक बिदाका बाबजुद अत्यावश्यक बैङ्किङ सेवा बन्द नगरी सुचारु राख्न विभागले निर्देशन दिएको छ।

प्रकाशित: २२ भाद्र २०८३ १९:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App