नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाईमा)द्वारा आयोजना हुने नाईमा मोबिलिटी एक्सपो, २०२६ मा ५१ वटा स्टल रहने भएको छ ।
कुल ५१ स्टलमा ५५ भन्दा बढी सवारी ब्रान्डको प्रदर्शनी हुने आयोजक नाडाले जानकारी दिएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नाईमाले सोही अवसरमा ४० वटाभन्दा बढी नयाँ सवारी प्रोडक्टहरू समेत सार्वजनिक गरिने जानकारी दिएको छ ।
दोस्रो संस्करणको नाईमा नेपाल मोबिलिटी एक्सपो, २०२६ यही आउँदो २६ साउनदेखि ३१ साउनसम्म भृकुटीमण्डपमा आयोजना हुँदै छ । सोही प्रदर्शनीका बारेमा जानकारी दिँदै नाईमाले नेपालकै बृहत् अटो शो हुने दाबी गरेको छ ।

कुल ५१ स्टलमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, कमर्सियल भेहिकल, इलेक्ट्रिक तथा हाइब्रिड सवारीसाधनसँगै प्रदर्शनी स्थलमा यसपटक प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी अन्य उत्पादनहरू समेत समेटिने आयोजक नाईमाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
सोही अवसरमा नाईमाकी अध्यक्ष रितु सिंह वैद्यले एक वर्षअघि नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरू समेट्ने गरी २१ सदस्य कम्पनीबाट सुरु भएको संस्थामा हाल ३६ वटा प्रमुख कम्पनीहरू जोडिसकिएको जानकारी दिइन् ।
अध्यक्ष वैद्यले नाईमाको दृष्टिकोण समग्र अटोमोबाइल क्षेत्रको विश्वासको विकास गर्नुका साथै यस उद्योगमार्फत रोजगारी, पहुँच, उद्यमशीलता र सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याई आर्थिक विकासमा जोड दिनु रहेको बताइन् ।




प्रकाशित: २३ असार २०८३ १८:४१ मंगलबार



-600x400.jpg)

