बुद्धको क्रीडास्थल तिलौराकोटमा नयाँ वर्ष २०८३ को पहिलो दिन ५ हजार बढी पर्यटकले भ्रमण गरेका छन्। सिद्धार्थ गौतमका पिता राजा शुद्धोधनको राजप्रसाद समेत रहेको तिलौराकोट विश्व सम्पदामा सूचीकृतका लागि लामो समयदेखि तयारी गरिएको स्थल समेत हो।
गत ४ वर्षदेखि तिलौराकोटमा स्वदेशी, भारतीय र विदेशी पर्यटकको आगमन समेत बढेको लुम्बिनी विकास कोष तिलौराकोट सम्पर्क कार्यालयले जनाएको छ। स्थानीय पथप्रदर्शक राज कुमार यादवले यस वर्ष तिलौराकोटमा आन्तरिक र बाह्य पर्यटकको आगमन बढेको बताए। उनले नयाँ वर्षमा कपिलवस्तु, रुपन्देही, अर्घाखाँची लगायतका देशका विभिन्न स्थानबाट ५ हजार बढी पर्यटक आएको बताए।
गत चार वर्षयता तिलौराकोटमा नेपाली र अंग्रेजी दुवै नयाँ वर्ष, दशैं लगायतका बिदाका बेला पर्यटकहरूको बढी आगमन हुने गरेको उनले बताए। तिलौराकोटमा दिनभरि पर्यटकहरूले अवलोकन गरेका थिए। समूह, जोडी तथा परिवारहरू तिलौराकोटमा आएका थिए।
तिलौराकोटमा आन्तरिकसहित रुपन्देही, अर्घाखाँची, दाङ, नवलपरासी लगायतका जिल्लाहरूका पर्यटक आएका थिए। पर्यटकहरूले नाचगान गर्ने, रमाउने र टिकटक समेत बनाएका थिए। अधिकांश लुम्बिनी घुमेर यहाँ आएका थिए।
तिलौराकोटको पश्चिमी र पूर्वी द्वार, बीचमा रहेका उत्खननपछि संरक्षण गरिएका स्थलहरू, पोखरीमा पुगेर प्राचीन समयमा बनाइएका मन्दिरमा पुगेर पर्यटकहरू फर्केका थिए। विगतमा घाँस र झारपातका कारण फोहोर देखिने तिलौराकोट विशेष सरसफाइ अभियानपछि सुन्दर समेत देखिएको स्थानीय अनिल क्षेत्रीले बताए।
तिलौराकोट घुम्नका लागि बाटो निर्माण गरिएको छ। लुम्बिनी विकास कोषका परिषद् सदस्य गोपीकृष्ण शर्माले तिलौराकोटमा आन्तरिक र बाह्य पर्यटकको आगमन बढेको बताए। उनले तिलौराकोटसहित जिल्लामा रहेका निग्रोधराम, कुदान, सगरहवा, गोटीहवा, संग्रहालय लगायतका स्थानमा समेत भ्रमण गर्न आग्रह गरेका छन्।
प्रकाशित: १ वैशाख २०८३ १८:५१ मंगलबार




