४ चैत्र २०८२ बुधबार
image/svg+xml
अर्थ

कृषि कर्जाको दुरुपयोग: काठमाडौंलाई ६४ अर्ब, काभ्रेलाई ५ अर्ब

सरकारी रकम कसरी दुरुपयोग हुन्छ भन्ने उदाहरण कृषिमा देखिएको छ। बागमती प्रदेशका १३ जिल्लामा प्रवाह गरिएको कृषि कर्जामध्ये करिब ५२.६ प्रतिशत काठमाडौँमा लगानी भएको अध्ययनले देखाएको छ। खेती नहुने काठमाडौँमा गैर किसानले कृषि कर्जा लिएर दुरुपयोग गरेको देखिन्छ।

नेपाल राष्ट्र बैङ्कले गरेको अध्ययनअनुसार बागमती प्रदेशका १३ जिल्लामा गरी एक खर्ब २१ अर्ब रुपैयाँ कृषि कर्जा लगानी भएकोमा काठमाडौँमा मात्र ६४ अर्ब रुपैयाँ प्रवाह भएको छ। 

काठमाडौँमा जम्मा १९ हजार नौ सय ४३ हेक्टर क्षेत्रफलमा खाद्य तथा तरकारी खेती हुन्छ । तरकारीकै पकेट क्षेत्र मानिने काभ्रेपलान्चोकमा पाँच अर्ब १७ करोड रुपैयाँ मात्र लगानी भएको छ । काभ्रेमा काठमाडौँमा भन्दा करिब २९ गुणा बढी पाँच लाख ९० हजार ६ सय ६२ हेक्टर क्षेत्रफलमा खेती हुन्छ।

यसले कृषि कर्जाको दुरुपयोग भएको पुष्टि गर्छ। किसान अगुवाहरू पनि सहुलियत कृषि कर्जा टाठाबाठाले प्रयोग गरेको बताउँछन्। सहुलियत कृषि कर्जा कृषि उत्पादनभन्दा गैर कृषि उत्पादन क्षेत्रमा प्रयोग भएको कृषक समूह महासङ्घका संस्थापक अध्यक्ष उद्धव अधिकारी बताउँछन्। ‘अनुगमन गर्ने निकायको कमजोरीले दुरुपयोग भएको देखिन्छ,’ अधिकारीले भने, ‘तरकारी उत्पादन गर्ने होइन बेच्नेले अनुदानको कर्जा प्रयोग गरेका छन् ।’

बागमती प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा कम खेती हुनेमा काठमाडौँ तेस्रो नम्बरमा पर्छ। काठमाडौँको अधिकांश जमिनमा बस्ती र घडेरीको विकास भएकाले खेती हुँदैन। तर कृषि कर्जा लगानीमा भने काठमाडौँ पहिलो स्थानमा छ।  

प्रकाशित: २७ कार्तिक २०८२ ०७:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App