७ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
अर्थ

सञ्चारमन्त्रीद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, २४ घण्टामै लाइसेन्स छापिने व्यवस्था सुरु

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले काभ्रेको पनौती–५ स्थित सुरक्षण मुद्रण केन्द्र निरीक्षण गरेका छन‍्। सो क्रममा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइलाई तीव्र बनाउन निर्देशन दिए।

त्यस्तै ट्रायल पास गरी राजस्व तिरेपछि २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि लागू गरिएको उनले बताए।

मन्त्री तिमिल्सिनाले लामो समयसम्म लाइसेन्स नपाउने समस्या अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै बाँकी सबै लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य लिइएको बताए। 'अब सम्भव काम रोकिने छैन, सेवाग्राहीले छिटो सेवा पाउनेछन्। लामो समय देखि लाईसेन्स नपाउने समस्या अब अन्त्य भएको छ,' उनले भने।

निरीक्षणका क्रममा उनले सुरक्षण मुद्रण केन्द्रलाई प्रभावकारी र सक्षम संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। विगतमा आवश्यक इच्छाशक्ति र व्यवस्थापन अभावका कारण काम ढिला भएको उल्लेख गर्दै अब ती समस्या समाधान गर्दै अघि बढ्ने तिमिल्सिनाको भनाइ थियो।

अर्बौं रकम खर्च गरेर खरिद गरिएका उपकरण लामो समयदेखि थन्किएकोमा तिनलाई सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिएको पनि उनले जानकारी दिए। केन्द्रम करिब एक अर्ब रुपैयाँ बराबरका उपकरण प्रयोगविहीन हुनु दुःखद रहेको भन्दै अब त्यसको प्रभावकारी उपयोग गरिने बताए।

उनले केन्द्रलाई नागरिकको डाटा सुरक्षालाई प्राथमिकतामा राख्न र सेवाग्राहीमैत्री सेवा दिन निर्देशन दिए।  

त्यस्तै सरकार जनताको सेवाका लागि काम गरिरहेको उल्लेख गर्दै सेवा प्रवाहमा देखिएका गुनासा छिटो समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनले स्पष्ट पारे।

मन्त्री तिमिल्सिनाले देशभर इन्टरनेट र मोबाइल सेवाको पहुँच र गुणस्तर सुधार पनि प्राथमिकतामा रहेको उल्लेख गर्दै आगामी एक वर्षभित्र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याउने लक्ष्य राखिएको बताए।

केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले संस्थालाई दीर्घकालीन रूपमा सुदृढ बनाउन योजना तयार भइरहेको जानकारी दिए। भविष्यमा यही केन्द्रबाट राहदानी, चेकबुक, स्मार्टकार्ड, हुलाक टिकट र अन्तःशुल्क स्टिकरजस्ता महत्वपूर्ण कागजात छाप्ने सक्ने गरि क्षमता विकास गरिएको उनले बताए।

हाल केन्द्रले दैनिक करिब ४० हजार लाइसेन्स छापिरहेको छ। विदेश जाने नागरिकका लागि आवश्यक लाइसेन्सलाई प्राथमिकता दिइएको र वैशाख १२ गतेभित्र १२ लाख छापिसक्ने र बाँकी १७ लाख लाइसेन्स असार मसान्तसम्म छापिसक्ने लक्ष्य रहेको उनको भनाइ छ।

प्रकाशित: ४ वैशाख २०८३ ०९:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App