२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अर्थ

थानकोट–चित्लाङ सडकको स्तरीकरणलाई गति दिन मन्त्री दाहालको निर्देशन

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले थानकोट–चित्लाङ सडकको स्तरीकरणलाई गति दिन निर्देशन दिएका छन्। बिहीबार सो सडकको निरीक्षणपछि उनले काठमाडौं जोड्ने छोटो यो सडक आर्थिक विकास र समृद्धिको सहयोगी समेत बन्न सक्ने बताए।  

यो सडकले मकवानपुरको कृषि उपज काठमाडौंसम्म लैजान तथा पर्यटकीय क्षेत्रको विकास गर्न समेत सहयोग पुर्याउने भएकाले यसले आर्थिक विकासलाई पनि टेवा पुर्याउने विश्वास व्यक्त गरे। निर्धारित समयमा काम पूरा गर्न सडक विभागलाई निर्देशन दिँदै उनले कुनै पनि योजना तथा आयोजनामा हुने ढिलासुस्ती अन्त्य गर्न समेत निर्देशन दिए। 

उनले विकासका संरचनाहरूले नागरिकको जीवनमा समृद्धि ल्याउन सक्नु पर्ने बताए। यो सडक समेत आर्थिक विकासका दृष्टिकोणले महत्वपूर्ण रहेकाले निर्माणमा तदारुकता दिनुपर्ने बताए।

यस्तै सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य एवं नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले मकवानपुर तथा काठमाडौंवासीका लागि मात्र नभई पूर्वी नेपालसहित बागमती, मधेस र लुम्बिनी सँगको सम्पर्कका लागि समेत यो सडक महत्वपूर्ण रहेको बताए। यहाँका बासिन्दाको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने र आर्थिक विकासका लागि समेत बहुउपयोगी हुने अपेक्षा राखिएको यो सडक बिनाअवरोध र ढिलाइ जतिसक्दो छिटो पूरा गराउन आवश्यक रहेकोमा जोड दिए।

सडक विभागका महानिर्देशक डा. बिजय जैसीले भने कुनै पनि ढिला सुस्ती हुन नदिई निर्माण कार्यलाई गति दिने बताएका छन्।

संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेका अनुसार सो सडक स्तरीकरणको ठेक्का लागि काम अघि बढिसकेको छ।  

अनुगमनमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा युवजार खतिवडा, वुद्धिजिवी संगठनका अध्यक्ष इन्जिनियर गजेन्द्र थपलिया लगायत सहभागी रहेका थिए।

सडक डिभिजन काठमाडौ‌का प्रमुख नारायणदत्त भण्डारीका अनुसार यो सडक निर्माणका लागि २ प्याकेजमा ठेक्का लागि काम भइरहेको छ। यो सडक ८.५ किमि काठमाडौं र बाँकी मकवानपुरमा पर्दछ।

प्रकाशित: १५ श्रावण २०८२ १०:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App