१८ चैत्र २०८२ बुधबार
image/svg+xml
अर्थ

मध्यपूर्वको द्वन्द्व: अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदा आर्थिक क्षति

मध्यपूर्वमा चर्किंदै गएको द्वन्द्वका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) बाट हुने अन्तर्राष्ट्रिय उडानहरू व्यापक रूपमा प्रभावित भएका छन्। उडान रद्द तथा स्थगित हुँदा यात्रु हैरानीमा परेका छन् भने विमानस्थलले पनि ठूलो मात्रामा आम्दानी गुमाइरहेको छ। यसले विमानस्थल, विमान कम्पनी र यात्रुलाई आर्थिक क्षति भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मंगलबारका लागि तय भएका कुवेत–काठमाडौं–कुवेत, दुबई– काठमाडौं– दुबई, काठमाडौं–दोहा–काठमाडौं तथा काठमाडौं–दमाम–काठमाडौंका उडान रद्द भएका छन्। कार्यालयका प्रवक्ता सन्तुष्टकुमार विष्टका अनुसार जजिरा एयरवेज र फ्लाइ दुबईका दुई–दुई, हिमालय एयरलाइन्स र कुवेत एयरवेजका चार–चार तथा नेपाल एयरलाइन्सका ६ गरी कुल १८ वटा अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्।

मध्यपूर्वका विभिन्न देशमा नेपाली कामदारको ठूलो संख्या रहेकाले ती गन्तव्यमा हुने उडान अवरुद्ध हुँदा यसको प्रत्यक्ष असर नेपाली यात्रुमा परेको छ। विशेषगरी कतार, युएई, साउदी अरेबिया र कुवेत जाने–आउने यात्रु प्रभावित भएका छन्। एकातिर वैदेशिक रोजगारीमा जाने कामदारहरू समयमै गन्तव्यमा पुग्न नसक्दा समस्या भोगिरहेका छन् भने अर्कोतिर छुट्टी मनाउन स्वदेश आएका कामदारहरू पुनः फर्कन नपाएर अलमलमा परेका छन्।

विमानस्थलका सूचना अधिकारी तेजबहादुर पौड्यालका अनुसार उडान घट्दा विमानस्थलको आम्दानीमा उल्लेख्य गिरावट आएको छ। ‘सामान्य अवस्थामा दैनिक ९० देखि ९२ वटासम्म उडान हुने गरेकोमा अहिले त्यो संख्या घटेर ४५ देखि ५० मा झरेको छ’, उनले भने, ‘केही दिनअघि दैनिक २७–२८ वटा उडानसम्म स्थगित भएका थिए, अहिले क्रमशः सुधार हुँदै दैनिक १८–२० वटा उडान स्थगित भइरहेका छन्।’

उडान स्थगित हुँदा यात्रुको संख्या पनि घटेका छन्। एउटा अन्तर्राष्ट्रिय उडानमा औसत २५० देखि ३०० यात्रुसम्मले टिकट बुकिङ गर्ने गरेको तथ्यांक छ तर उडान नै रद्द भएपछि ती यात्रु अन्य विकल्प खोज्न बाध्य छन्। यसले विमानस्थलको ल्यान्डिङ, पार्किङ तथा यात्रु सेवा शुल्कबाट हुने आम्दानीमा प्रत्यक्ष असर परेको छ।

विमानस्थल प्रशासनका अनुसार अन्तर्राष्ट्रिय उडानहरूबाट प्राप्त हुने राजस्व नै कुल आम्दानीको ठूलो हिस्सा हो। उडान घट्दा विमानस्थलको सञ्चालन खर्च धान्न समेत चुनौती उत्पन्न हुन सक्ने चिन्ता व्यक्त गरिएको छ। विशेषगरी मध्यपूर्व गन्तव्यका उडानहरू नेपालको उड्डयन क्षेत्रका लागि महत्त्वपूर्ण मानिन्छन्।

यात्रुहरू भने बारम्बार उडान रद्द हुँदा समस्यामा परेका छन्। कतिपय यात्रुहरू बिना सूचना विमानस्थल पुग्दा उडान रद्द भएको थाहा पाएर फर्कन बाध्य भएका छन्। टिकट रद्द वा पुनःतालिका मिलाउन लामो समय कुर्नुपर्ने अवस्थाले उनीहरूको खर्च र समय दुवै बढाएको छ।

मध्यपूर्वमा जारी तनावका कारण अन्तर्राष्ट्रिय हवाई मार्गहरूमा समेत प्रतिबन्ध र जोखिम बढेको छ। यसले विश्वव्यापी उड्डयन क्षेत्रमा प्रभाव पारेको छ भने नेपालजस्तो श्रम आप्रवासनमा निर्भर देशमा यसको असर झन् गहिरो देखिएको छ।

विमानस्थल कार्यालयले यात्रुलाई आफ्नो उडानको अवस्था यकिन गरेर मात्र घरबाट निस्कन आग्रह गरेको छ। ‘उडानको पुनःतालिका परिवर्तन हुन सक्ने वा रद्द हुन सक्ने भएकाले सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गरेर मात्र यात्रा तय गर्न अनुरोध गर्छौं’, कार्यालयले जनाएको छ।

यद्यपि पछिल्ला दिनहरूमा उडान सञ्चालन क्रमशः सुधारतर्फ उन्मुख देखिएको छ। अन्तर्राष्ट्रिय परिस्थितिमा सुधार आएसँगै उडान संख्या पनि विस्तारै बढ्ने अपेक्षा गरिएको विमानस्थलले जनाएको छ तर मध्यपूर्वको अवस्थाले स्थायित्व नपाएसम्म पूर्ण रूपमा नियमित उडान सञ्चालनमा आउन समय लाग्ने देखिएको छ।

प्रकाशित: १८ चैत्र २०८२ ११:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App