नेपाल–श्रीलंका चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्री र चेम्बर अफ एक्सपोर्ट श्रीलंकाबीच व्यापार, लगानी, संयुक्त उद्यमलगायतका विषयमा हस्ताक्षर भएको छ ।
नेपालका लागि श्रीलंकाका एक्टिङ एम्बेष्डर चाल्स डि अफेयर्स (एआई) चमेरा मुनासिंघेको उपस्थितिमा भएको जुम मिटिङ मार्फत नेपाल श्रीलंका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनएससिसिआई) का महासचिव नरेन्द्र बल्लभ पन्त र श्रीलंकाका राष्ट्रिय निर्यातकर्ता चेम्बर अफ कमर्शका एम। शिहम मारिकर (महासचिव/प्रमुख कार्यकारी अधिकृत) बिच हस्ताक्षर भएको हो । यो सम्झौता ऐतिहासिक भएको भन्दै मुनासिंघेले आगामी दिनमा दुई मुलुकबिच व्यवसायिक गतिविधि बढ्ने धारणा राखिन् ।
आउँदो सेप्टेम्बर १८ देखि २१ मा श्रीलंकामा इण्डष्ट्रियल एक्स्पो हुने भएको छ । उक्त एक्स्पोमा नेपालका प्रतिनिधिमण्डल सहभागी हुने भएका छन् । आगामी दिनमा नेपालमा पनि सोही प्रकृतिको एक्स्पो हुने र श्रीलंकाका प्रतिनिधि सहभागी हुने भएका छन् ।
दुई मुलुकबिच सेवा र औद्योगिक सहयोग बढाउने साझा चाहनालाई ध्यानमा राख्दै दुई संस्थाहरूबिच सम्झौता भएको हो ।
सम्झौता पत्रमा हस्ताक्षरपछि दुई संस्थाका सदस्यहरू एक अर्काको मुलुकमा व्यक्तिगत एवं सामूहिक भ्रमण गर्न सक्नेछन् । त्यसरी गरिने भ्रमणले स्थानीय र राष्ट्रिय आर्थिक गतिविधि बढाउनुका साथै दुई देशहरूसँग सम्बन्धित बजार सँग सम्बन्धित तथ्याङ्क, आर्थिक विकास पहलहरू, विदेशी व्यापार र लगानी नीतिहरूमा नियमित रूपमा छलफल हुने भएको छ ।
साथै व्यापार, लगानी, सेवा, व्यापारिक सम्बन्ध, भ्रमण र व्यवसायीक समूहहरूको आदानप्रदानका साथै व्यापार प्रवर्द्धनका सम्भाव्य गन्तव्यका बारेमा थप छलफल गरिने सम्झौतामा उल्लेख छ ।
सम्झौता पत्रमा दुई मुलुकबिच व्यापार, लगानी र औद्योगिक सहयोगको मात्रा बढाउने माध्यमहरूको खोजी गर्ने उल्लेख छ ।
साथै एक अर्काको देशमा व्यापार मेला, प्रदर्शनी आयोजना गर्न प्रोत्साहन गर्ने योजना रहेको छ ।
सम्भव र उपयुक्त भएसम्म, सूचना आदानप्रदान गर्ने र एक अर्कालाई सहयोग गर्नुका साथै आफ्ना सदस्यहरूलाई त्यस्ता कार्यक्रमहरूमा भाग लिन प्रोत्साहित गर्ने सम्झौतामा उल्लेख छ । आ–आफ्नो देशमा आयोजना हुने अन्तर्राष्ट्रिय मेला, प्रदर्शनी र व्यापार प्रवर्द्धन कार्यक्रमहरूको आयोजना गरिने उल्लेख छ । सम्झौता पत्रमा उल्लेखित उद्देश्यलाई अगाडि बढाउन दुवै पक्षले नेपाल र श्रीलंकामा एक अर्काको कार्यालय र सचिवालय सुविधाहरूको उपयोग गर्न सहमत भएका छन् ।
सम्झौतामा दुवै पक्षले दुवै देशका व्यवसायीहरू बिच आउने व्यापार विवाद समाधान गर्न एक अर्कालाई मद्दत गर्ने उल्लेख छ ।
प्रकाशित: २२ श्रावण २०८२ १७:१५ बिहीबार





