मेचीनगर नगरपालिकाले ‘शून्य बेरुजु’ अभियान सुरु गरेको छ। लामो अवधिदेखि फछ्रर्योट नभएको बेरुजु रकम बढेपछि अभियान नै सञ्चालन गर्नुपरेको नगरपालिकाले जनाएको छ।
विसं २०५३ मा मेचीनगर नगरपालिकाको स्थापना भएको हो। त्यसभन्दा अघि अस्तित्वमा रहेका गाउँ विकास समितिकै पालादेखिको आर्थिक बेरुजु रकम फर्स्याेट हुन बाँकी छ।
‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७’ को नियम ८९ र ९० बमोजिम बेरुजु रकम दाखिला वा फर्स्याेट गर्न सम्बन्धित सबैलाई सार्वजनिक सूचना प्रकाशित गरिसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले बताए।
दोस्रो चरणमा निर्माण तथा उद्योगी व्यवसायीको बेरुजु फछ्रर्योटका लागि सहजीकरण गरिदिन उनीहरू आबद्ध सङ्घ–सङ्गठनलाई आग्रह गर्ने र तेस्रो चरणमा बेरुजु भएका व्यक्तिको विवरण सार्वजनिक गर्ने कार्ययोजना बनाइएको नगरपालिकाले जनाएको छ।
आर्थिक वर्ष २०८१र८२ को महालेखा परीक्षकको वार्षिक प्रतिवेदन अनुसार मेचीनगर नगरपालिकाको वार्षिक बेरुजु रकम रु १४ करोड ९९ लाख ४३० छ। आव २०८१/८२ भन्दा अगाडिको अद्यावधिक बेरुजु ८१ करोड ३० लाख ४१ हजार ४८७ रुपैयाँ छ। यसप्रकार हालसम्ममा मेचीनगर नगरपालिकाको कुल बेरुजु रकम रु ९६ करोड २९ लाख ९६ हजार ९१७ पुगेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।
“बेरुजुलाई शून्यमा झार्ने हाम्रो अभियान हो”, प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भने, “निर्माण व्यवसायी, जनप्रतिनिधि, व्यवसायी र अन्य सम्बन्धित व्यक्तिले बेरुजु फर्स्याेट गरेर सहयोग गर्ने हामीलाई विश्वास छ। फर्स्याेटका लागि हामी उहाँहरूलाई पत्राचार गरेर पर्याप्त समय पनि दिन्छौं।”
अभियान सञ्चालन गरेपछि वर्षौंदेखि बेरुजु दाखिला वा फछ्रर्योट नगरेका सरोकारवाला सम्पर्कमा आउन थालेको र कतिपयले पुरानो रकम फछ्रर्योट गरेको उनले बताए ।
प्रकाशित: २९ श्रावण २०८३ ०९:२० शुक्रबार





