५ चैत्र २०८२ बिहीबार
image/svg+xml
अर्थ

मदरल्याण्ड साहित्य मेलामा ‘मामु–छोरी’ ब्राण्डको लिटोको कथा

छोरीको लिटोले दिलायो व्यावसायमा सफलता

पोखराको मासवारस्थित मदरल्याण्ड माविमा व्यावसाय थाल्दाको अनुभव सुनाउँदै मामु छोरी ब्राण्डकी संचालक बिञ्जुल श्रेष्ठ। तस्बिरः सन्तोष पोखरेल/नागरिक <br>

व्यापार सुरु गर्दा कति लगानी गर्ने? धेरैलाई व्यावसाय थाल्ने सोचाइ पलाउँदै गर्दा सुरुवाती लगानीको आकारबारे अन्योल सिर्जना हुन सक्छ। लगानीयोग्य रकम नहुँदा कतिपयले त व्यावसाय नै सुरु नगर्ने पनि हुन्छन, व्यावसायको योजना यत्तिकै थाति राख्छन। तर, पोखराकी बिञ्जुल श्रेष्ठ, जसले आफुसँग पर्याप्य रकम नहुँदानहुँदै थालेको व्यावसायले अहिले सर्वत्र चर्चा दिलाएको छ।  

बिञ्जुल खासमा पढाईको हिसाबले नर्स हुन । उनले केहीवर्ष नर्सिङ पेसा पनि गरिन। त्यो पेसाले उनलाई आर्थिक रुपमा खासै उभो लगाएको त थिएन, तैपनि घरपरिवार धानिएको थियो। सांगीतिक क्षेत्रका पति र नर्सिङ पेसाले जेनतेन घर चलेको थियो। त्यहीबेला कोरोना भाइरस संक्रमण फैलियो। त्यसपछि त आम्दानीको आकार खस्कियो। सांगीतिक क्षेत्रका पतिले पनि कोरोनाका कारण आम्दानी गुमाएपछि त आर्थिक अवस्था झनै कमजोर बन्दै गयो।

उनकै शब्दमा कोभिडको बेला आर्थिक अवस्था कमजोर भएपछि मिठो मसिनो खाने अवस्था पनि उनमा थिएन। जागिरताका बचेखुचेको केही रकम पनि कोभिडताका सकिएपछि आर्थिक अवस्था शुन्यमा झरिसकेको थियो। 

यतिसम्मकी एककिलो चामल किन्ने पैसा पनि उनीसँग थिएन। त्यही बेला हुर्किदै गरेकी छोरीका लागि पनि पर्याप्त पोषिलो खाना जुटाउन उनलाई धौधौ परेको थियो।  

के र कसो गर्ने भनेर सोचिरहँदा उनले एकदिन छोरीलाई खुवाएको लिटोबारे सामाजिक सञ्जाल टिकटकमा पोष्ट गरिन। छोरीलाई खुवाएको घरेलु लिटोबारे केही चिनजानका महिलाले टिकटकबाटै थाहा पाए। त्यसपछि बिञ्जुललाई उनकै छोरीले खाएजस्तै लिटो बनाईदिन ती महिलाहरुले आग्रह गरे। तर, बिडम्बना, बिञ्जुलसँग ती महिलाले अर्डर गरेको लिटो बनाइदिनका लागि चाहिने खाद्यान्न किन्ने पैसा पनि थिएन। त्यसपछि लिटो अर्डर गरेका तिनै महिलासँगै पैसा मागेर खाद्यान्न किनेर लिटो बनाइदिइन।  

घरकै भान्साबाट उनले सामान्य मिक्सरमा पिनेर उनले लिटो बनाइदिइन। उनले बनाइदिएको लिटो ती महिला र उनका बच्चाले निकै नै रुचाए। त्यो कुरा पनि सामाजिक सञ्जालमै साझा गरियो। बिञ्जुलले पनि लिटो बनाउँदै सामाजिक सञ्जालमा पोष्ट गर्न थालिन। दिनदिनै लिटोका लागि नयाँनयाँ ठाउँबाट अर्डर आउन थाल्यो। लकडाउनको त्यो अवस्थामा उनको ब्यापारले गति लिँदै गयो। व्यापारको त्यो गति यति तिब्र थियो की बुढाबुढीले मात्र व्यापार धान्न नसक्ने अवस्था भएपछि उनले सहयोगी कर्मचारी राख्न थालिन।  

यो अवधिमा उनले १९ जनालाई रोजगार दिन सक्षम भएकी छिन। उनको ‘मामु छोरी’ ब्राण्डको लिटोले धेरै बालबालिकाको पेट भरिएको छ। ‘लिटो बनाउने सोच गर्दैगर्दा मेरा खातामा जम्मा एकरुपैयाँ ५० पैसा मात्र थियो। अरुले अर्डर गरेको लिटोको लागि आवश्यक पर्ने खाद्यान्न किन्नका लागि पैसा नभएपछि लिटो अर्डर गर्ने महिलासँग अग्रिम रकम मागेर खाद्यान्न किनेर लिटो बनाइदिएकी हुँ,’ पोखराको मासवारस्थित मदरल्याण्ड माविमा आयोजित साहित्य मेलामा विद्यार्थी अपिल बरालसँग अनुभव साट्दै बिञ्जुलले भनिन,‘व्यावसाय गर्न धेरै रकम नचाहिने रहेछ। मेहनत भने गर्नुपर्ने रहेछ। हुन त उद्यमशिल बन्न सहज छैन। तर, उद्यमशिल बन्ने रहर जाग्दा थाक्नु भने हुँदैन।’

बिञ्जुलसँग अहिले ५ हजार भन्दा बढी सन्तुष्ट ग्राहक छन। जसले नियमित रुपमा मामुछोरी ब्राण्डको लिटो सहितको खानेकुरा उपभोग गर्छन। पोखराबाट सुरु भएको व्यावसाय पाँचवर्षभित्र नेपालभरि फैलिएको छ। अहिले लिटो मात्र नभई अरु व्यावसायमा पनि उनले फड्को मार्न सकेकि छिन।  

बिञ्जुल भन्छिन, ‘म पढाईको हिसाबले नर्स हुँ। लिटो व्यावसाय सुरु गरेपछि पनि एकपटक बिदेश जाने सोच पलाएर प्रयास पनि गरे। तर, त्यसमा असफल भए। सायद यही सफलता हात पार्नका लागि त्यो असफलता पाएकी रहेछु। भान्सामा प्रयोग भईरहेको मिक्सरबाट सुरु गरेको व्यावसायले अहिले निकै नै आकार बढाएको छ। त्यसैको परिणामस्वरुप अहिले उनले उद्योग नै खोलिसकेकि छिन।  

‘महिनामा लाखौं रुपैयाँको कारोबार हुन्छ। तर, मैले अहिलेसम्म ऋण लिएकी छैन। यतिसम्मकी कुनै वित्तीय संस्थामा ऋण चाहियो भनेर हात थाप्न पनि गएकी छैन। जति कमाई हुन्त, त्यत्ति नै लगानी गर्दै जाने हो,’ उनले भनिन, ‘अभावैअभावले थालेको व्यावसायले अहिले नाम, दाम दुवै दिएको छ। अहिले घर धान्न सकस छैन।’  

व्यावसायको यो अवधिमा उनले चूनौती नखेपेकी होईनन। तर, कामप्रतिको लगावले उनलाई कहिल्यै पछाडि फर्किन पारेन, बरु अगाडि मात्र सर्दै गईन। ‘मैले हरेक पाइलामा आइपरेका चूनौतीसँग हार मानिन। त्यसले गर्दा सफल भएकी हुँ। खुट्टा नतान्ने नभएका होईनन। तर, ती अप्ठेरा पार लगाउँदै यहाँसम्म आएकी छु,’ उनले भनिन, ‘लगानीको लागि ठूलो आकारको रकम पर्खदै गएको भए अहिले यो अवस्था आउने थिएन। यत्तिको सफलता हात पार्न सानो आँटले होइन।’

नर्स भएकोले पनि उनलाई शिशुले खाने लिटोको गुणस्तर, त्यहाँ हुनुपर्ने पौष्टिकताबारे केही हदसम्मको ज्ञान थियो। जसले गर्दा उनलाई सफलता पाउन सहज बनायो। ‘मैले मामुछोरी ब्राण्डका खाद्यान्नमा सतप्रतिशत गुणस्तर कायम गरेकी छु। नेपालका ग्रामीण क्षेत्रमा पाइने पौष्टिकताले भरिएको खाद्यान्न किनेर ल्याएर अहिले लिटो बनाएका छौ। बच्चाको तौल र उमेर अनुसारको खाना तयार पारिदिएका छौ,’ उनले भनिन, ‘अहिलेसम्म गुनासो सुन्नुपरेको छैन। बरु प्रतिश्पर्धा भने बढ्दै जाँदा चूनौती थपिँदै गएका छन।’

विद्यार्थीमा व्यावसायिकताको भावना विकास गराउन र व्यवासाय थाल्दाका अप्ठेरा र सहजताबारे अनुभव सुनाउनका लागि विद्यालयले व्यवासायमा संघर्ष गरेकी बिञ्जुललाई ल्याएको विद्यालयका प्राचार्य डा. नारायण बरालले बताए। ‘व्यावसामा भन्नेवित्तिकै सफल नहुन पनि सकिन्छ। तर, हार मान्नु हुँदैन,’ उनले भने, ‘१२ कक्षासम्मको पढाई सक्नासाथ विदेश हानिने सोच भएका छोराछोरीलाई उद्यमशिलताको कथाले केही फरक अनुभूति दिलाउन सकिन्छ भनेर साहित्य महोत्सवमा व्यवासायिकताको अनुभव साट्ने पहल थालेका हौ।’

प्रकाशित: २९ मंसिर २०८२ १७:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App