१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

बक्यौता नतिर्ने तीन सिमेन्टसहित ६ उद्योगको लाइन काटियो

डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेर त्यसवापतको विद्युत् महसुल बक्यौता नतिर्ने छ वटा उद्योगको लाइन काटिएको छ ।

विद्युत् महसुल बक्यौता नतिर्ने जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटिएको छ । प्रवक्ता राजन ढकालले यो जानकारी दिए । ढकालका अनुसार आज बिहानबाट यी उद्योगहरूको विद्युत् लाइन काटिएको हो ।  

डेडिकेटेड र ट्रंकलाइनको विद्युत् महसुल उठाउने विषय २०७५ सालयता सुल्झिन सकेको छैन । प्राधिकरणका तत्कालीन सञ्चालक भक्तबहादुर पुनको संयोजकत्वमा पहिलोपटक डेडिकेटेड र ट्रंकलाइनको महसुल बक्यौताबारे अध्ययन भई २०७५ वैशाख ३१ गते बसेको सञ्चालक समितिमा पेश भएको थियो । त्यसपछि प्राधिकरणले बक्यौता उठाउने प्रयास गर्दै आएको छ । 

उद्योगी व्यवसायीहरूले भने आफूहरूले डेडिकेटेड र ट्रंकलाइन प्रयोग नै नगरेकोले त्यसको महसुल नतिर्ने बताउँदै आएका छन् । यो विषय विभिन्न अदालत, सङ्घीय संसद्को सार्वजनिक लेखा समिति तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको थियो ।

पछिल्लो पटक प्राधिकरणले गत असोज १२ गते सार्वजनिक सूचना जारी गर्दै उद्योगलाई २१ दिनभित्र बक्यौता बुझाउन आउन भनेको थियो । किस्ताबन्दीमा बक्यौता तिर्ने सुविधा दिएको प्राधिकरणले सो अवधिसम्ममा बक्यौता तिर्न नआएपछि विद्युत् महसुल सङ्कलन नियमावली २०७८ अनुसार लाइन काटिएको जनाएको छ ।

डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत् विद्युत् उपभोग गरेवापत २०७२ माघदेखि २०७५ वैशाखसम्मको विद्युत् महसुल बक्यौता रहेका ग्राहकहरूलाई प्रशासकीय पुनरावलोकनका लागि २०८२ जेठ मसान्तभित्र निवेदन दिनसक्ने म्याद कायम गरी २०८२ वैशाख २६ र वैशाख ३० मा सूचना प्रकाशित भएको थियो । गत असोज १० गते बसेको प्राधिकरणको सञ्चालन समितिले प्रशासकीय पुनरावलोकनसँग सम्बन्धित सम्पूर्ण काम कारबाही बदर गर्ने निर्णय गरेको थियो । रासस

प्रकाशित: ४ कार्तिक २०८२ १२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App