सन् २०२५ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार विश्व अर्थतन्त्रमा नवीनता र दिगो वृद्धिको स्रोतको व्याख्या गर्ने तीन अर्थशास्त्री - जोएल मोकिर, फिलिप एगियान र पिटर हविटलाई संयुक्त रूपमा प्रदान गरियो। यो पुरस्कारले २१ औं शताब्दीको आर्थिक समृद्धिको रहस्यलाई केवल पुँजी वा श्रममा मात्र होइन, ज्ञानको सिर्जना, प्रविधिगत प्रगति र संस्थागत खुलापनसँग जोड्ने एकीकृत ढाँचा प्रदान गरेको छ।
नोबेल विजेताहरूको केन्द्रीय सन्देश हो– आधुनिक र दिगो समृद्धि ‘आकस्मिक नवप्रवर्तन’मा निर्भर हुँदैन, बरु ‘निरन्तर, स्वउत्पन्न नवप्रवर्तन’ मा निर्भर हुन्छ। यो निरन्तरता ‘सिर्जनात्मक विनाश’ भनिने प्रक्रियाद्वारा व्यवस्थापन गरिन्छ। मोकिरको कार्यले दिगो वृद्धिका लागि आवश्यक ‘उपयोगी ज्ञान’को भण्डारलाई ऐतिहासिक रूपमा प्रकाश पारेको छ भने एगियान र हविटले यसलाई गणितीय म्याक्रोइकोनोमिक मोडलमार्फत आधुनिक नीतिको केन्द्रमा ल्याएका छन्।
यो सैद्धान्तिक कार्यको नेपाल जस्ता विकासोन्मुख राष्ट्रका लागि गहिरो सान्दर्भिकता छ, विशेषगरी जब नेपाल अल्प विकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने लक्ष्यमा छ। नोबेल विजेताको कार्यले यो देखाउँछ कि नवप्रवर्तन नीतिको सफलता लगानीको मात्राभन्दा बढी संस्थागत गुणस्तर र सिर्जनात्मक विनाशले सिर्जना गर्ने सामाजिक द्वन्द्वको सकारात्मक व्यवस्थापनमा निर्भर हुन्छ।
नोबेल पुरस्कार–२०२५ को सैद्धान्तिक जग: दिगो वृद्धिको खोजी
मोकिरको ज्ञान–केन्द्रित वृद्धि सिद्धान्त
प्रोफेसर जोएल मोकिरलाई नोबेल पुरस्कार ‘प्रविधिगत प्रगतिको माध्यमबाट दिगो वृद्धिका लागि आवश्यक पूर्वसर्तहरू पहिचान गरेकोमा’ दिइएको हो। मोकिरको कामले आर्थिक इतिहास र वैज्ञानिक विचारको विकासबिच सेतुको काम गर्छ, जसले १८ औं शताब्दीअघि छिटपुट हुने प्रविधिगत सुधार औद्योगिक क्रान्तिपछि कसरी ‘निरन्तर’ प्रगतिको युगमा बदलियो भनेर व्याख्या गर्छ। मोकिरको सिद्धान्तमा, दिगो वृद्धिका लागि ‘उपयोगी ज्ञान’को निरन्तर प्रवाह आवश्यक छ। यो उपयोगी ज्ञान दुई प्रकारमा विभाजित छ–
तथ्यात्मक ज्ञान
यसलाई ‘ज्ञान के हो’ वा ‘किन काम गर्छ’ भन्नेबारे व्यवस्थित वैज्ञानिक विवरणको रूपमा परिभाषित गरिन्छ। यो प्राकृतिक संसारको नियमितताको ज्ञान हो।
निर्देशात्मक ज्ञान
यसलाई ‘ज्ञान कसरी’ वा ‘कसरी काम गर्छ’ भन्नेबारेको व्यावहारिक निर्देशन, रेखाचित्र, विधिका रूपमा परिभाषित गरिन्छ।
मोकिरले देखाएअनुसार औद्योगिक क्रान्तिअघि अधिकांश प्रविधिगत नवप्रवर्तन निर्देशात्मक ज्ञानमा आधारित थियो - मानिसहरूले कुनै कुरा काम गर्छ भन्ने जान्दथे तर त्यसको पछाडिको वैज्ञानिक कारण (तथ्यात्मक ज्ञान) जान्दैनथे। ज्ञानोदय र वैज्ञानिक क्रान्तिको उदयपछि वैज्ञानिकहरूले सटिक मापन विधि, नियन्त्रित प्रयोग र पुनः उत्पादनयोग्य नतिजाहरूमा जोड दिन थाले। यसले तथ्यात्मक ज्ञान र निर्देशात्मक ज्ञानबिचको प्रतिक्रियालाई सुधार गर्यो, जसले गर्दा नवप्रवर्तन ‘आत्म–उत्पादक’ बन्न पुग्यो र दिगो वृद्धिको जग बस्यो।
एगियान र हविटको सिर्जनात्मक विनाश
फिलिप एगियान र पिटर हविटलाई ‘सिर्जनात्मक विनाशको सिद्धान्तमार्फत दिगो वृद्धिको व्याख्या गरेकोमा’ संयुक्त रूपमा पुरस्कार दिइयो। सन् १९९२ मा प्रकाशित उनीहरूको मोडल सिर्जनात्मक विनाशको पहिलो म्याक्रोइकोनोमिक, सामान्य सन्तुलन मोडल थियो, जसले आर्थिक वृद्धि लगातार कसरी जारी रहन्छ भनेर व्याख्या गर्छ।
यो मोडलले नवप्रवर्तनलाई आर्थिक वृद्धिको मुख्य चालक मान्छ। जब बजारमा कुनै नयाँ, राम्रो वा उन्नत उत्पादन वा प्रक्रिया आउँछ, यसले अनिवार्य रूपमा पुराना उत्पादनहरू बेच्ने कम्पनी र प्रविधिहरूलाई विस्थापित गर्छ।
यो प्रक्रिया सिर्जनात्मक हुन्छ किनकि यसले समाजका लागि नयाँ कुरा (जस्तैः सुधारिएको जीवनस्तर) ल्याउँछ तर विनाशकारी हुन्छ किनभने यसले पुराना कम्पनी र रोजगारीलाई चलनचल्तीबाट हटाउँछ। उनीहरूको मोडलले देखाउँछ कि लगानी र आर्थिक वृद्धिमा विपरीत दिशाहरूमा खिच्ने बलहरू काम गरिरहेका हुन्छन् र सफल नीतिका लागि यसलाई सन्तुलित गर्न आवश्यक छ।
विकासोन्मुख राष्ट्रहरूको ‘क्याच अफ ग्रोथ’ को आवश्यकता
नोबेल विजेताहरूको कार्यले एउटा महत्त्वपूर्ण नीतिगत भिन्नता देखाउँछ – नीतिको प्राथमिकता विकासको चरणअनुसार फरक हुनुपर्छ। विकसित देशले नयाँ ज्ञानको सिर्जना र विकासमा जोड दिनुपर्छ। यसविपरीत विकासोन्मुख देशहरू प्रविधिगत सीमाबाट पछाडि हुन्छन् र उनीहरूले आफ्नो प्रारम्भिक वृद्धि विकसित देशमा प्रयोग भइसकेका प्रविधिहरूको नक्कल र अंगीकरणमार्फत हासिल गर्छन्।
यस अवस्थामा विकासोन्मुख देशहरूको आर्थिक वृद्धि सरकारी हस्तक्षेपद्वारा सहयोग पुर्याउन सकिन्छ, जस्तैः विशिष्ट फर्म वा उद्योगहरूलाई अवस्थित प्रविधिहरू अपनाउनका लागि सहयोग गर्ने। यद्यपि, यस्ता नीतिहरूले अक्सर नयाँ फर्महरूको प्रवेश र प्रतिस्पर्धामा बाधा पुर्याउन सक्छन्। यदि वृद्धि मुख्य रूपमा अंगीकरणमा आधारित छ भने प्रतिस्पर्धामा हुने यो अस्थायी क्षतिलाई विकासको चरणमा स्वीकार्य मान्न सकिन्छ तर जतिजति कुनै अर्थतन्त्र प्रविधिगत सीमाको नजिक पुग्छ, त्यति त्यति यी संरक्षणकारी नीतिहरू बोझ बन्न जान्छन् र त्यस बिन्दुमा देशले सिर्जनात्मक विनाशलाई बढावा दिनका लागि आर्थिक सुधारहरू लागु गर्नुपर्छ।
संरक्षणवाद र नीतिगत सन्तुलनको जोखिम
सिर्जनात्मक विनाशको प्रक्रिया राजनीतिक रूपमा कमजोर हुन्छ। नवप्रवर्तनले सफल वर्तमान फर्महरूलाई विस्थापित गर्ने जोखिम निम्त्याउँछ र यी वर्तमान फर्महरू प्रायः राजनीतिक रूपमा शक्तिशाली हुन्छन्। उनीहरू आफूलाई जोगाउन नीतिगत संरक्षण खोज्छन्, जसले सिर्जनात्मक विनाशको प्रक्रियालाई सुस्त बनाउँछ।
एगियान र हविटको मोडलमा आधारित विश्लेषणले यस्ता सुरक्षात्मक नीतिहरूले समग्र उत्पादकत्व वृद्धिमा नकारात्मक असर पार्ने देखाउँछ। एक अध्ययनले भारत र अमेरिकामा सिर्जनात्मक विनाशलाई रोक्ने औद्योगिक नीतिको तुलना गर्दा यो नीति दुवै देशका लागि हानिकारक रहेको पुष्टि गर्यो।
भारत जस्तो अर्थतन्त्रमा यो नीतिको शुद्ध लागत अमेरिकाको तुलनामा कम हुन सक्छ। एगियानले संरक्षणवादी तरिकालाई स्वागत नगर्ने भन्दै नीतिगत सन्तुलनको महत्त्वमा जोड दिएका छन्। यसबाट बुझ्न सकिन्छ कि नवप्रवर्तन नीतिलाई सफल बनाउन अर्थशास्त्रीहरूले मात्र नभई राजनीतिज्ञहरूले पनि सिर्जनात्मक विनाशको अपरिहार्य मूल्य स्वीकार गर्नुपर्छ। यसरी, नीतिगत सफलताको मापन केवल नवप्रवर्तनको संख्यामा होइन, बरु बजारमा सफल प्रवेश र दक्ष निकासको दरमा गरिनुपर्छ।
नेपालको सन्दर्भमा नोबेल पाठको कार्यान्वयन उपयोगी ज्ञानको भण्डारमा लगानी
मोकिरको सिद्धान्तअनुसार ज्ञानको भण्डार दिगो वृद्धिका लागि अनिवार्य सर्त हो। यस ज्ञानको सिर्जना र उपयोगका लागि अनुसन्धान तथा विकासमा लगानी आवश्यक हुन्छ।
नेपाल सरकारले (शिक्षा मन्त्रीमार्फत) देशको अर्थतन्त्रलाई समृद्ध र स्थिर बनाउनका लागि जिडिपीको कम्तीमा १ एक प्रतिशत अनुसन्धान तथा विकासमा लगानी गर्ने महत्त्वाकांक्षी लक्ष्य राखेको थियो, जसलाई क्रमिक रूपमा दुई प्रतिशत र तीन प्रतिशतसम्म बढाउने योजना थियो तर यो महत्त्वाकांक्षा र वास्तविक कार्यान्वयनमा ठुलो भिन्नता देखियो। सन् २०२४ मा बजेट विनियोजन गर्दा ‘कुल गार्हस्थ उत्पादन’को एक प्रतिशतको साटो ‘पुँजीगत खर्च’ को एक प्रतिशत मात्र अनुसन्धान तथा विकासमा छुट्याइएको थियो।
मानव पूँजी र शैक्षिक सुधारमा मोकिरको सिद्धान्त प्रयोग
नेपालको मानव पुँजी विकास र शिक्षा नीतिहरूमा मोकिरको ज्ञान सिद्धान्तको विशेष प्रयोग आवश्यक छ। नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम प्रणालीले मुख्यतया बजारको मागअनुसारको दक्षता अर्थात् निर्देशात्मक ज्ञान प्रदान गर्नमा जोड दिएको छ तर मोकिरको पाठले दिगो प्रगतिका लागि केवल ‘कसरी गर्ने’ मात्र होइन, ‘किन हुन्छ’ भन्ने वैज्ञानिक आधार (तथ्यात्मक ज्ञान) पनि अनिवार्य रहेको स्पष्ट पार्छ।
यदि नेपाली कामदार र उद्यमीहरूले केवल व्यावहारिक सिप (निर्देशात्मक ज्ञान) मात्र प्राप्त गरे भने उनीहरूले विदेशी प्रविधिलाई नक्कल गर्न त सक्छन्, तर त्यसलाई स्थानीय समस्याहरू सुहाउँदो रूपमा परिमार्जन वा मौलिक रूपमा नयाँ सिर्जना गर्न सक्दैनन्। उन्नत वैज्ञानिक बुझाइको कमीले नवप्रवर्तनको चक्रलाई बन्द गर्छ।
नेपालको ज्ञान पूर्वाधारको अवस्था र नोबेल पाठहरू
नेपालको ज्ञान पूर्वाधारको वर्तमान अवस्थालाई सन् २०२५ का नोबेल पुरस्कार विजेताहरूको सिद्धान्तको प्रकाशमा विश्लेषण गर्दा देश नवप्रवर्तन र दिगो वृद्धिका लागि आवश्यक ‘ज्ञान भण्डार’ निर्माणमा निकै पछाडि रहेको देखिन्छ।
कुल गार्हस्थ उत्पादनको तुलनामा अनुसन्धान तथा विकासमा भएको ०.३० प्रतिशत (सन् २०१० को पुरानो तथ्यांक) को न्यून लगानीले ज्ञान सिर्जनाका लागि आवश्यक मात्रात्मक आधारको गम्भीर अभावलाई औंल्याउँछ, जुन एगियान, हविट र मोकिरले जोड दिएको ज्ञानको फराकिलो आधारभन्दा निकै कम हो।
गुणात्मक रूपमा हेर्दा देशको शिक्षा प्रणालीले निर्देशात्मक ज्ञानमा मात्र ध्यान केन्द्रित गरेको छ, जसले मोकिरको सिद्धान्तअनुसार वैज्ञानिक अनुसन्धानको बलियो आधार (तथ्यात्मक ज्ञान) को कमीलाई दर्शाउँछ। यसका अतिरिक्त सिर्जनात्मक गतिशीलताको अभाव छ। ठेक्कागत अपूर्णता, विश्वासको कमी र वित्तीय पहुँचको अवरोधले गर्दा एगियान र हविटले भनेजस्तै कुशल फर्महरूको वृद्धि हुन सकेको छैन र बजारमा ‘स्क्लेरोसिस’ (जडता) कायम छ।
यसरी नेपालले दिगो आर्थिक वृद्धिको बाटोमा अघि बढ्नका लागि अनुसन्धान तथा विकास लगानीलाई तत्काल एक प्रतिशतमा पुर्याउने, वैज्ञानिक अनुसन्धान र प्राविधिक शिक्षालाई एकीकृत गर्ने तथा सिर्जनात्मक विनाशलाई बढावा दिन संस्थागत (कानुनी र वित्तीय) सुधारहरूलाई प्राथमिकतासाथ लागु गर्नुपर्ने नीतिगत आवश्यकता छ।
प्रकाशित: १५ कार्तिक २०८२ १०:२३ शनिबार



-600x400.jpg)

