जेनजी अभियन्ता भावना राउतले प्रधानमन्त्री बालेन्द्र शाहको बचाउ गरेकी छन्। सामाजिक सञ्जालमा प्रधानमन्त्री र मन्त्रीहरूको हलुका टिप्पणीलाई लिएर आलोचना भइरहेका बेला उनले नेताहरूको पनि व्यक्तिगत जीवन हुने तर्क गरेकी हुन्।
प्रधानमन्त्री शाहले शनिबार अवकाश पाउन लागेका उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करले राजदूत बन्नका लागि आफूलाई सन्देश पठाएको विषयलाई लिएर आफैँमाथि व्यङ्ग्य गर्दै फेसबुकमा स्टाटस लेखेका थिए।
उक्त स्टाटसमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले पनि जिस्किँदै टिप्पणी गरेपछि सामाजिक सञ्जालमा हलुका टिप्पणी भन्दै आलोचना भइरहेको छ। यसबिच राउतले नेताहरूको पनि व्यक्तिगत जीवन हुने भन्दै उनीहरूको सोख र रमाइलो गर्ने अधिकारको बचाउ गरेकी हुन्।
उनी लेख्छिन्, ‘हामीमध्ये कसैलाई यो कुरा अनौठो लाग्न सक्छ, तर प्रधानमन्त्रीको पनि व्यक्तिगत जीवन छ, फेसबुक खाता छ, र थोरै रमाइलो गर्ने अधिकार छ। क्याबिनेट मन्त्रीहरूको हकमा पनि त्यस्तै छ।’
राजनीतिमा पुराना अनुहारहरू हेर्न अभ्यस्त समाजका लागि राजनीतिज्ञहरूले वास्तविक मानिस जस्तै व्यवहार गरेको दृश्य क्रान्तिकारी महसुस हुनु स्वाभाविक भएको उनले उल्लेख गरेकी छन्। युवा नेताहरूको माग गर्ने तर उनीहरू पदमा पुग्ने बित्तिकै अवकाशप्राप्तले जस्तो व्यवहार गरुन् भन्ने अपेक्षा राख्न नहुने उनको तर्क छ।
यसबारे टिप्पणी गर्दै राउतले प्रधानमन्त्रीले व्यक्तिगत रूपमा स्थिति अद्यावधिक गर्दै यसरी कसैको पछि लाग्नु अलि अनावश्यक र अनौठो भएको स्वीकार गरेकी छन्। तर, सरकारको अगाडि यो सबैभन्दा ठूलो मुद्दा नभएको उनको भनाइ छ। प्रधानमन्त्रीको यस्तो व्यवहारकै कारण कसैलाई ‘जँडिया’ वा ‘गाँजेडी’ भन्नु सही नहुने उनले स्पष्ट पारेकी छन्।
राउत अगाडि लेख्छिन्, ‘एक व्यक्ति राजनीतिक हुन सक्छ, सार्वजनिक पद धारण गर्न सक्छ, क्लबमा नाच्न सक्छ, बियर पिउन सक्छ, कन्सर्टमा उपस्थित हुन सक्छ, साथीहरूसँग हाँस्न सक्छ, र अझै पनि जिम्मेवारीपूर्वक मन्त्रालय चलाउन पूर्ण रूपमा सक्षम हुन सक्छ।’
सार्वजनिक जवाफदेहिता शनिबार राति कसैले रमाइलो गर्यो कि गरेन भन्ने कुराले नभई उसको निर्णय, नीति र प्रदर्शनले मापन गर्ने उनको भनाइ रहेको छ। राजनीतिलाई आधुनिकीकरण गर्ने हो भने नेताहरूबाट सन्तहरू जस्तै व्यवहारको अपेक्षा गर्नुभन्दा उनीहरूले राम्रो शासन गरुन् भन्ने अपेक्षा राख्ने समय आएको उनले उल्लेख गरेकी छन्।
प्रकाशित: २४ जेष्ठ २०८३ १०:०१ आइतबार


-600x400.jpg)


