करदाता सेवा कार्यालय गाईघाटले गएको वर्ष झण्डै ६५ करोड राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष ०८१-८२ मा कार्यालयले ६४ करोड ८९ लाख ९१ हजार ६ सय रुपैयाँ राजश्व सङ्कलन गरेको हो ।
०८१ साउनदेखि असार मसान्तसम्म कार्यालयको राजश्व सङ्कलन लक्ष्यको ८७.३८ प्रतिशत भएको छ । ७४ करोड २६ लाख ५२ हजार सङ्कलन गर्ने लक्ष्य लिएकोमा सो वर्ष लक्ष्यभन्दा ८ करोड ३८ लाख ८१ हजार रुपैयाँ कम राजश्व हात परेको कार्यालयले जनाएको छ ।
गतवर्ष सबभन्दा बढी राजश्व आयकरवापत ३३ करोड ६८ लाख ८१ हजार रुपैयाँ सङ्कलन भएको छ । जुन लक्ष्यको ८१.२ प्रतिशत उपलब्धी हो । कार्यालयले सो शीर्षकबाट ४१ करोड ४८ लाख ७६ हजार उठाउने लक्ष्य लिएको थियो ।
त्यसैगरी दोस्रो ठूलो रकम मूल्य अभिबृद्धि कर (भ्याट)वापत २८ करोड ४३ लाख ३५ हजार सङ्कलन भएको छ । २८ करोड ७८ लाख ६७ हजार उठाउने लक्ष्य लिइएको सो शीर्षकमा ९८.७६ प्रतिशत लक्ष्य हासिल भएको कार्यालयका सूचना अधिकारी रेक मगरले बताए ।
त्यसैगरी अन्तःशूल्कवापत १ करोड २९ लाख ३५ हजार रकम उठेको छ । जुन लक्ष्यको ६७.३३ प्रतिशत प्रगति हो । कार्यालयले सो शीर्षकमा १ करोड ९२ लाख १२ हजार राजश्व उठाउने लक्ष्य लिएको थियो । कार्यालयले ८४ लाख २६ हजार कर वहाल करवापत राजश्व उठेको छ । १ करोड ४५ लाख ९८ हजार उठाउने लक्ष्य लिइएको शीर्षकमा सबभन्दा कम ५७.७२ प्रतिशत प्रगति भएको छ ।
सूचना अधिकारी मगरका अनुसार कार्यालयले व्याज करवापत६३ लाख ३७ हजार सङ्कलन भएको जनाएको छ ।सो शीर्षकमा कार्यालयले ६० लाख ९९ हजार रुपैयाँ उठाउने अनुमान गरेको थियो । तर, लक्ष्यको १०३.३९ प्रतिशत प्रगति गर्दै सो परिमाणको राजश्व सङ्कलन गरेको हो ।
कार्यालय प्रमुख कर अधिकृत अशोकप्रसाद कुशवाहाले गएको वर्षसङ्कलन भएको राजश्व परिमाण विगत३ वर्षयताको सबभन्दा बढी प्रगति भएको बताए । उनका अनुसार अघिल्लो आर्थिकवर्ष ०८०-८१ मा लक्ष्यको ७१.६३ प्रतिशत मात्र राजश्व सङ्कलन भएको थियो । ७८ करोड ७८ लाख ५८ हजार सङ्कलन गर्ने लक्ष्य लिइएको सो वर्ष ५६ करोड ४३ लाख ७१ हजार मात्र हात परेको थियो ।
त्यसैगरी ३ वर्षअघि अर्थात आर्थिकवर्ष ०८९-८० मा पनि लक्ष्यको ८६.७२ प्रतिशत मात्र राजश्व सङ्कलन भएको हाकिम कुशवाहाले बताए । सो वर्ष कार्यालयले ७१ करोड ३५ लाख ५२ हजार लक्ष्य लिएकोमा ६१ करोड ८६ लाख ३२ हजार रुपैयाँ मात्र सङ्कलन गर्न सफल भएको कुशवाहाले बताएका छन् ।
प्रकाशित: ७ श्रावण २०८२ २०:५१ बुधबार





