४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
अर्थ

जेन-जी आन्दोलनपछि जग्गाको कारोबार निरन्तर घट्यो

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनादेखि नै आरोलो लाग्दै गएको जग्गाको कारोबार जेनजी आन्दोलनपछि झन् सुस्ताएको छ।

भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता गणेश भट्टका अनुसार जेनजी आन्दोलनबाट देशभरि २२ वटा मालपोत तथा १४ वटा नापी कार्यालयमा आगजानी तथा तोडफोड भएको छ। जसमध्ये पाँच वटा मालपोत कार्यालय पूर्ण रूपमा क्षति भएका छन्। यसैगरी १७ वटा मालपोत कार्यालय आशिंक क्षति भएका छन्।

आगजानी भएका नापी कार्यालयहरूमध्ये आठ वटा नापी कार्यालय पूर्ण रूपमा क्षति भएका छन् भने ६ वटा कार्यालय आशिंक क्षति भएका छन्। आगजानी तथा क्षति भएका सबै मालपोत तथा नापी कार्यालयहरू मध्ये केही आंशिक तवरले सञ्चालनमा आइसकेको जानकारी प्रवक्ता भट्टले दिए।

क्षति भएका मालपोत तथा नापी कार्यालयहरू सञ्चालनमा आए पनि जग्गाको कारोबार भने ह्वात्तै घटेको छ। भूमि व्यवस्थापन विभागका प्रवक्ता खिमानन्द आचार्यले जेनजी आन्दोलनपछि देशभरि जग्गाको कारोबार घटेको बताए। ‘कुन अनुपातमा घट्यो भन्ने विषयमा हामीले हिसाबकिताब निकाल्दैछौं तर जग्गाको कारोबार भने जेनजी आन्दोलनपछि घटेको सत्य हो।’

उनका अनुसार पोहर साल यही महिनाको तुलनामा यस वर्षको कारोबार घटेको छ। पछिल्लो समय जग्गाको कारोबार अन्य जिल्लाको तुलनामा भक्तपुर र ललितपुरमा बढी हुने गर्छ। जेनजी आन्दोलनपछि भक्तपुरमा समेत जग्गाको कारोबार घटेको भक्तपुर मालपोत कार्यालयका प्रमुख माधव घिमिरेले बताए।

उनले भने, ‘पोहर सालको तुलनामा यस वर्ष यो महिनामा भक्तपुर मालपोत कार्यालयमा चहल पहल घटेको छ। यसबाट जग्गाको कारोबार घटेको देखिन्छ।’

विभागका अनुसार गत साउन महिनादेखि जग्गाको कारोबार घट्दै गएको हो। जग्गाको कारोबार घटेपछि सोही अनुपातमा राजस्व पनि घट्दै गएको छ।

विभागका अनुसार आव २०८०/८१ को साउन महिनामा भएको कारोबारको तुलनामा आव २०८२/८३ साउनमा भएको कारोबार निकै घटेको छ। जेनजी आन्दोलन हुनुअघि देशभरि एक सय ३५ वटा नापी तथा मालपोत कार्यालयबाट जग्गाको कारोबार हुने गरेका थिए। जेनजी आन्दोलनबाट जलेका २२ वटा मालपोत तथा १४ वटा नापी कार्यालयमा भने कारोबारमा ठूलो प्रभाव पर्‍यो।

विभागका अनुसार गत आवमा साउनमा देशभरि एक लाख २७ हजार दुई सय ६ वटा जग्गा सम्बन्धी कारोबार भएका थिए। चालु आव साउनमा भने एक लाख चार हजार दुई सय १८ वटा मात्र कारोबार भएको छ। यो भनेको झन्डै २० प्रतिशतले जग्गाको कारोबार घटेको स्थिति हो।

करिब पाँच सय स्थानीय तहले अझै पनि जग्गाको वर्गीकरण गरेका छैनन्। जग्गा वर्गीकरण नभएका स्थानीय तहमा कित्ताकाटमा कडाइ गरिएको छ। त्यस कारण पनि जग्गाको कारोबार घटेको बताइएको छ। यता काठमाडौं उपत्यका विकास प्राधिकरण काठमाडौं जिल्ला आयुक्तको कार्यालयले काठमाडौमा ९४ वटा प्लटिङलाई अवैध भन्दै कारोबार रोक्का गर्न नापी र मालपोत कार्यालयलाई चिठी पठाएको छ। यसबाट पनि काठमाडौंमा जग्गको कारोबार बढ्न नसकेको हो।

साउन महिनामा बैंकबाट ऋण लिने प्रक्रिया अलि लामो हुन्छ। बैंकहरूले असार महिनामा कारोबार टुंग्याउने भएकाले साउन महिनामा नयाँ प्रक्रिया सुरु हुन्छ। साउन महिनाबाट प्रक्रिया सुरु गरेपछि भदौ महिनामा ऋण पाउने सम्भावना हुन्छ। भदौमा भएको जेनजी आन्दोलनपछि ऋण लिने प्रक्रियामा झन् अबरोध उत्पन्न भयो।

त्यसैले पनि जग्गाको कारोबार घटेको हुन सक्ने विभागका कर्मचारीहरूको भनाइ छ। विभागका अनुसार आव २०८०/८१ को तुलनामा आव २०८१/८२ मा करिब ६० हजार कारोबार घटेको पाइएको छ। आव २०८०/८१ मा १६ लाख हाराहारी जग्गाको कारोबार बढेको थियो भने आव २०८१/८२ मा लगभग १५ लाख ४० हजार कारोबार रहेको थियो। विभागले उपलब्ध गराएको तथ्यांकअनुसार २०८० साउन १ गतेदेखि फागुन ३० गतेसम्म जग्गा कारोबारबाट २५ अर्ब ४३ करोड ६४ लाख सात हजार नौ सय ६८ रूपैयाँ राजस्व उठेको थियो।

२०८१ साउन १ गतेदेखि फागुन २९ गतेसम्म जग्गा कारोबारबाट २८ अर्ब ४९ करोड २८ लाख चार हजार पाँच सय १२ रूपैयाँ राजस्व उठेको छ। आव २०८१/८२ मा मालपोत शुल्कबाट कुल राजस्व ५१ अर्ब ४२ करोड रूपैयाँ संकलन भएको छ।

 विभागका अनुसार गत आव २०८०/८१ मा समावेशितालाई बलियो बनाउन महिलालाई तीन अर्ब ४९ करोड, फरक क्षमता भएकालाई एक अर्ब १० करोड तथा अन्य छुट १० करोड गरी जग्मा छुट चार अर्ब ६९ करोड राजस्व छुट दिइएको थियो।

यसैगरी उक्त आवमा एक हजार चार सय २४ कारोबारबाट २८ लाख १६ हजार वर्गमिटर क्षेत्रफल जग्गामा जग्गाधनी र मोही बाँडफाँट गरी द्वैध स्वामित्व अन्त्य गरिएको छ। विभागका अनुसार यतिबेला देशभरि जग्गाधनीको संख्या एक करोड १४ लाख ६७ हजार तीन सय ८२ छ। जसमा पुरुष जग्गाधानी ६९ लाख ८३ हजार आठ सय ५१ छन्। यो भनेको ६१ प्रतिशत हो।

यसैगरी महिला जग्गाधानीको संख्या ४४ लाख ८३ हजार पाँच सय ३१ छ। यो भनेको ३९ प्रतिशत हो। सहरी क्षेत्रमा भने महिला जग्गाधनी ५० प्रतिशत हाराहारीमा पुगेको छ। तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा पुरुष र महिलाका नाममा जग्गासम्बन्धी कारोबार करिब करिब बराबरी भएको देखिन्छ।

पुरुष जग्गाधनी ६१ प्रतिशत र महिला जग्गाधनी ३९ प्रतिशत भए पनि आव २०८०/८१ मा जग्गा कारोबारमा जोडिएका महिलाको संख्या चार लाख दुई सय ४१ र पुरुषको संख्या चार लाख तीन हजार चार सय ५१ पुगेको छ। विभागको तथ्यांक अनुसार देशभरि तीन करोड २८ लाख ४७ हजार ६ सय ३२ कित्ता जग्गा छन्। जसमध्ये पुरुषका नाममा दुई करोड २० लाख २४ हजार एक सय ७० र महिलाका नाममा ९७ लाख ६१ हजार सात सय ९५  कित्ता छन्।

प्रकाशित: २७ आश्विन २०८२ ०८:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App