२७ वैशाख २०८३ आइतबार
image/svg+xml
अर्थ

फेवातालमा ‘कायकिङ तथा सर्फिङ’ मनलाग्दी

अनुगमन सुरु गरेका छौः प्रशासन

पोखरा फेवातालमा संचालन गरिएको कायकिङ र सर्पिङ। तस्बिरः सन्तोष/नागरिक

फेवातालमा हुने गरेको ‘कायकिङ तथा सर्फिङ’लाई नियमन गर्न थालिएको छ। नियमन नहुँदा मनलाग्दी तरिकाले जल पर्यटन सम्बन्धि फेवातालमा यस्ता गतिविधि हुने गरेका थिए। पर्यटन व्यावसायीका अनुसार तालमाथि गरिने यी गतिविधि निकै नै रोमाञ्चाक हुन्छन्। तर, नियमन नहुँदा जोखिमपूर्ण तरिकाले पर्यटकलाई सयर गराउने गरिएको थियो।  

व्यावसायीका अनुसार फेवातालमा अहिले कायकिङ र सर्फिङ हुने गरेको छ। व्यावसायीका अनुसार स्ट्याण्ड अप प्याडल बोट (सुप) माथि उभिएर गरिने यी गतिविधि निकै नै रोमाञ्चक हुने भएपनि सुरक्षित तरिकाले चलाउन नजान्दा जोखिमपूर्ण पनि हुने गरेका छन्। फेवातालको गैराचौतारा क्षेत्रमा यस्ता गतिविधि निकै नै फस्टाएका छन्। बढिमात्रामा आन्तरिक र भारतीय पाहुना यस्ता गतिविधिमा रमाउने गरेका छन्।  

‘जल पर्यटनको महत्वपूर्ण विधा हो। यो साहसिक गतिविधिमा पर्छ। पछिल्लो समय फेवातालमा निकै नै फस्टाएको थियो। तर, त्यसमा मनदाग्दी हुने गरेको थियो,’ त्यही क्षेत्रमा संलग्न एकजना व्यावसायीले भने, ‘कायकिङ र सर्फिङ चलाउनका लागि सीप हुनुपर्छ। त्यत्ति मात्र नभई तालिम प्राप्त गाइडको निर्देशनमा मात्र चलाउनुपर्छ। सुरक्षाका लागि गाइड पनि सँगसँगै पानीमा तैरिनुपर्छ। तर, फेवातालमा मनलाग्दी हुने गरेको छ।’

ती व्यावसायीका अनुसार यो बोट उभिएर मात्र चलाउने हो। तर, धेरैले बसेर र केहीले त सुतेरै पनि आनन्द लिने गरेका हुन्छ। अझ कतिपयले त लाइफ ज्याकेट समेत नलगाई पानीमा रमाउने गरेको उनले बताए। ‘जोखिमपूर्ण तरिकाले संचालन भईरहेका छन। बेलाबेला मान्छे खसेर डुब्ने समेत गरेका थिए। बेलैमा उद्धार नभए त ज्यानै पनि जान्छ। लाइफ ज्याकेट नलगाएको अवस्थामा बढि जोखिमपूर्ण हुने गर्छ,’ ती व्यावसायीले भने, ‘हावाहुरीको समयमा तालमा छाल उत्पन्न हुँदा समस्या पर्ने गरेको छ।’

ती व्यावसायीका अनुसार सरकारी निकायबाट तालिम लिएको गाइडले मात्र यस्ता गतिविधि गराउने हो। तर, यहाँ गाइडबिना बोट किनेर एकैपटक तालमा मान्छे पठाउने समेत गरिएको थियो। 

‘पर्यटकको बिमा पनि हुनुपर्छ। साहसिक गतिविधि भएको नियमनमा रहेर चलाउनुपर्छ। पानीमाथि रमाउनुलाई सामान्य मान्नु हुँदैन। जोखिम उत्तिकै छ,’ उनले भने, ‘रिभर गाइडको तालिम लिएर लाईसेन्स लिएर मात्र यो बोट संचालन गर्न पाइन्छ। पर्यटकको सुरक्षामा पूर्ण रुपमा ध्यान दिनुपर्छ। तर, फेवातालमा जथाभावि हुने गरेको थियो।’  

उनका अनुसार अहिले व्यक्ति र संस्थाले तालमा यो व्यावसाय खुलमखुला संचालन गर्दै आएका छन्। ती मध्ये अधिकांशसँग गाइड पनि छैनन। एक घण्टाको पाँचसय रुपैयाँसम्म शुल्क लिने भएपनि पछिल्लो समय प्रतिश्पर्धा बढेसँगै दुईसय रुपैयाँमा पनि चलाउन दिने गरिएको थियो। कतिपय व्यवासायीले त दर्ता पनि कतै गरेका छैनन। कतिपयले त महानगरको वडा कार्यालयमा दर्ता गरेको भरमा मात्र पनि संचालन गर्दै आएका थिए।  

मनलाग्दी तरिकाले तालमाथि जल पर्यटनका गतिविधि गरेको गुनासो आएपछि कास्की प्रशासनले गत आइतबार त्यहाँ अनुगमन समेत गरेको थियो। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालका अनुसार २३ वटा व्यावसायलाई अनुगमन गरेको थियो। ती मध्ये कतिपयले दर्ता नै गरेका थिएनन भने केहीले बिमा पनि गरेका थिएनन। केहीले कम्पनि रजिस्ट्रार कार्यालय, केहीले स्थानीय तहमा दर्ता गरेका थिए। कतिपयले त कतैपनि दर्ता नगरि संचालन गरिएको पाइएको लम्सालले बताए। उनका अनुसार अनुगमन गरेका मध्ये २० वटाले प्रशासनमा सम्पर्क राखेर कागजात पेश गरेका छन्। कतै पनि दर्ता नभई संचालन नगरेका अरु पाँचवटा पनि आएका छन्। ती मध्ये केही व्यक्ति तथा कतिपय संस्था पनि रहेका छन्।  

‘व्यवस्थित नभएको र सुरक्षाको मापदण्ड पालना नगरेको गुनासो आएपछि अनुगमन गरिएको हो, सुरक्षाको मापदण्डमा अलि बढि बेवास्ता गरिएको पाइएको छ,’ उनले भने, ‘पानीमा रमाउने गतिविधि भएकोले सुरक्षाको विषयमा बेवास्ता गर्न सकिन्न। त्यसैले नियमन गर्न खोजिएको हो।’ उनका अनुसार सम्बन्धित निकायमा दर्ता नभएका, मूल्यसूची नभएका, मूल्यमा एकरुपता नगरिएको, विल विजक जारी नगरिएको, सेवाग्राहीको वीमा नगरेको, असुरक्षित र अव्यवस्थित ढंगले सञ्चालन भएको भन्ने गुनासो प्रशासनमा आएको थियो।

‘व्यावसाय संचालन गर्दा पर्याप्त सुरक्षा सावधानी अपनाइएको थिएन। त्यसैले समय समयमा दुर्घटना भई उद्दार समेत गर्नुपरेको अवस्था थियो,’उनले भने, ‘त्यसपछि प्रशासनले चाँसो दिएको हो। पानीमाथि रमाउने साहसिक गतिविधि भनेर असुरक्षित हुनुभएन। सुरक्षाको व्यवस्थामा हेलचेक्रयाँइ गर्न मिल्दैन।’ प्रशासनले व्यावसायीलाई पर्यावरणीय सुन्दरता र स्वच्छता कायम राख्न, पर्याप्त सुरक्षा सतर्कता अपनाउन, हावाहुरीको समयमा सुरक्षा जोखिम हेरी विशेष सतर्कता अपनाउन समेत निर्देशन समेत दिएको छ।

प्रकाशित: २२ वैशाख २०८३ १६:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App