आसन्न तिहार र छैठ पर्वलाई लक्षित गर्दै कटारी नगरपालिकाले नक्कली फूल र प्लास्टिकजन्य माला प्रयोग नगर्न आग्रह गरेको छ।
नगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै स्थानीय उत्पादनलाई प्राथमिकता दिन र आयातित प्लास्टिकजन्य सामग्रीको प्रयोग रोक्न आग्रह गरेको हो।
नगरपालिकाले कटारीमा सयपत्री, मखमलीलगायत परम्परागत फूल पर्याप्त मात्रामा उत्पादन हुने भएकाले नक्कली फूलमालाको प्रयोग नगर्न सुझाइएको हो।
‘नक्कली तथा प्लास्टिकजन्य फूल र माला आयात नगरी स्थानीय उत्पादन प्रयोग गरौँ’ भन्ने उद्देश्यसहित गत वर्षदेखि नै नगरले यस्तो नीति अवलम्बन गरेको मेयर राजेशचन्द्र श्रेष्ठले बताए।
उनका अनुसार स्थानीय उत्पादन प्रयोग नगर्दा एकातिर वातावरण प्रदूषण बढ्ने र अर्कातिर नगरबासीको पैसा बाहिरिने भएकाले नक्कली फूलमालामा रोक लगाइएको हो। उनले भने, ‘हामीले नगरमै फूल उत्पादन गर्न सकेका छौँ। अब स्थानीयले आफ्नै फूल प्रयोग गर्नुपर्छ।’
नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ, ‘नक्कली मालाको प्रयोगले वातावरणीय प्रदूषण मात्र होइन, मानव स्वास्थ्यमा पनि प्रतिकूल असर पार्ने भएकाले स्थानीय फूलको उपयोग गर्न सबैलाई आग्रह गर्दछौं।’
कटारी बजारस्थित त्रिवेणी माध्यमिक विद्यालयलेमा कृषि प्राविधिक धारतर्फका विद्यार्थीहरूले व्यवसायिक रूपमा सयपत्री, मखमली र गोदावरी फूलको खेती गर्दै आएका छन्।
विद्यालयका अध्यक्ष मणिराज दाहालका अनुसार ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत विद्यालय परिसर तथा सदरमुकाम त्रियुगा नगरपालिका–१० बोक्सेमा पनि खेती विस्तार गरिएको छ।
विद्यालयले गत वर्षको तिहार र छैठदेखि नै आफ्नै उत्पादनलाई प्रोत्साहन दिँदै नक्कली फूलमालाको बिक्री वितरणमा रोक लगाएको प्रमुख प्रशासकीय अधिकृत राजन थापाले जानकारी दिए।
प्रकाशित: २८ आश्विन २०८२ १९:१४ मंगलबार





