२८ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
अर्थ

मूल्यवृद्धिले काम गर्न नसकेपछि कर्णालीका व्यवसायी आन्दोलित

इन्धन आपूर्तिमा देखिएको संकटसँगै निर्माण सामग्रीको मूल्य आकासिएपछि कर्णालीका निर्माण व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्।

विकास निर्माणका काम नै प्रभावित हुने अवस्था सिर्जना भएको भन्दै व्यवसायीहरूले धर्नादेखि दबाबमूलक कार्यक्रम सुरु गरेका हुन्। कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको ध्यानाकर्षण गराउँदै मूल्यवृद्धिका कारण निर्माण क्षेत्र गम्भीर संकटमा परेको जनाएको छ।

महासंघका महासचिव मानव बमले इन्धन, डण्डी, सिमेन्टलगायत निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढेकाले पुरानै लागतमा ठेक्का सम्पन्न गर्न नसकिने अवस्था आएको बताए। उनले निर्माण व्यवसायीहरू आर्थिक रूपमा धराशायी बन्ने जोखिम बढेकाले सबै प्रकारका ठेक्कामा मूल्य समायोजनको व्यवस्था गर्न सरकारसँग माग गरे।

उनका अनुसार अहिलेको मूल्यवृद्धिले कर्णालीका अधिकांश सडक, भवन तथा पूर्वाधार आयोजनाहरू प्रभावित भइसकेका छन्। ‘यो अवस्थामा काम अघि बढाउँदा व्यवसायी थप घाटामा जान्छन्,’ उनले भने। मुख्यमन्त्री कँडेलले समस्या प्रदेश सरकारको मात्रै नभइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिसँग जोडिएको विषय भएकाले संघीय सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने धारणा राखेका छन्।

निर्माण व्यवसायीहरूले समयमै मूल्य समायोजन र आपूर्ति व्यवस्थापन नभए कर्णालीका विकास आयोजना ठप्प हुने चेतावनी दिएका छन्।

प्रकाशित: २ जेष्ठ २०८३ १३:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App