१० फाल्गुन २०८२ आइतबार
image/svg+xml
अर्थ

कैलाश मानसरोवरले भारतीयको आगमन बढायो

अघिल्लो वर्ष भदौ पहिलो साता पोखराबाट काठमाडौंका लागि छुटेको भारतीय पर्यटक सवार बस तनहुँको ऐनापहरामा दुर्घटनामा पर्‍यो । ठूलो संख्यामा मानवीय क्षति भएको उक्त दुर्घटनापछि नेपाल घुम्न आउने भारतीय पर्यटकको आकारमा एकाएक गिरावट आयो । बस दुर्घटनाका कारण धेरै भारतीय पाहुनाले नेपालको यात्रा उत्ति नै बेला रद्द गरेका थिए । 

नेपालको पर्यटन बजारका लागि भारत मुख्य स्रोत हो तर बस दुर्घटनापछि ओरालो लागेको भारतीय पाहुनाको आगमनमा लामो समयपछि बल्ल सुधार देखिएको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको जुलाईपछि ओरालो लागेको भारतीय पाहुनाको आगमन बल्ल यो अगष्टमा आएर केही सुधार भएको पर्यटन बोर्डले बताएको छ । 

बोर्डका पोखरास्थित निर्देशक मणिराज लामिछानेका अनुसार सन् २०२५ को अगष्टमा यो वर्षकै बढी संख्यामा भारतीय पाहुना नेपाल भित्रिएका छन् । अगष्टमा हवाई माध्यमबाट नेपाल भित्रिएका ८८ हजार ६ सय ८० जना विदेशी पाहुनामध्ये ३५ हजार पाँच सय पाँच जना भारतीय छन् । अगष्टमा नेपाल भित्रिएका विदेशी पर्यटकमध्ये ४० प्रतिशत हिस्सा भारतीय पाहुनाले ओगटेको बोर्डको भनाइ छ ।

‘सन् २०२४ जुलाईपछि भारतीय पाहुनाको आगमन ओरालो लागेको थियो । यो अगष्टमा बल्ल आगमनमा सुधार देखिएको छ । पोहोरको जत्ति नआएपछि आगामी दिनका लागि आशावादी बनाएको छ’, उनले भने । उनका अनुसार यो अगष्टमा भित्रिएका भारतीय पाहुनाको संख्या सन् २०२५ कै सबैभन्दा बढी हो । यसअघि गत जुन महिनामा ३२ हजार ६ सय ६२ जना भारतीय पाहुना नेपाल भित्रिएका थिए । 

‘चीनले नेपाल हुँदै भारतीय पाहुनालाई कैलाश मानसरोवर जान पाउने गरी मार्ग खोलिदिएका कारण नेपालमा भारतीय पाहुनाको आगमन बढेको हो,’ लामिछानेले भने, ‘काठमाडौं हुँदै भारतीय पाहुना नेपाल भित्रिएका छन् । कैलाश मानसरोवर जाने भारतीय पाहुना काठमाडौं आउने भएकाले पनि संख्यामा पनि सुधार देखिएको हो । कैलाश मानसरोवर गए पनि त्यसको लाभ नेपाली पर्यटन बजारले पनि लिएको छ ।’ कैलाश मानसरोवर जाने भारतीय पाहुनाले काठमाडौंमा कम्तिमा दुई रात बिताउने भएकाले पनि भारतीयको आगमनले पर्यटनमा प्रभाव पारेको उनले बताए ।

गत साउनको अन्तिम साता रसुवागढी नाकाबाट चीनको तिब्बततर्फ जाने मार्ग बाढीका कारण बन्द हुँदा कैलाश मानसरोवर परिक्रमाका लागि जाने गरी नेपाल आइसकेका भारतीय पर्यटक प्रभावित भएका थिए । केही समयलगत्तै उक्त मार्ग सञ्चालन भएपछि भारतीय पाहुनाको आगमन बढेको उनले बताए । ‘कैलाश मानसरोवर जानका लागि काठमाडौं हुँदै आउजाउ गर्दा सहज भएकाले आगमन बढी देखिएको हो’, उनले भने ।

यो वर्षको आठ महिना (जनवरी–अगष्ट) सम्म नेपालमा हवाईमाध्यमबाट मात्र दुई लाख १० हजार चार सय ९६ जना भारतीय पाहुना नेपाल भित्रिएका छन् । अघिल्लो वर्ष यही अवधिमा नेपाल भित्रिने भारतीय पाहुनाको संख्या दुई लाख ३३ हजार नौ सय ४८ रहेको थियो । ‘अघिल्लो वर्षको जति आगमन त भइसकेको छैन तर यो अगष्ट महिनामा भने भारतीय पाहुनाको आगमनमा सुधार देखिएको छ । त्यसको कारण भनेकै माउन्ट कैलाशको सहजताले हो’, लामिछानेले भने, ‘अब पर्यटकीय सिजन सुरु हुने भएकाले पनि भारतीय पाहुनाको आगमनमा सुधार हुने अनुमान गर्न सकिन्छ ।

आठ महिनामा सात लाख ३६ हजार पर्यटक भित्रिए
सन् २०२५ को आठ महिनामा नेपालमा सबैगरी सात लाख ३६ हजार पाँच सय ६२ जना विदेशी पर्यटक आएका छन् । पछिल्ला पटक अगष्ट महिनामा मात्र नेपाल भित्रिने विदेशी पर्यटकको संख्या ८८ हजार ६ सय ८० थियो । बोर्डको तथ्यांक अनुसार नेपालमा गत जनवरी महिनामा ७९ हजार नौ सय ९१ जना विदेशी पर्यटक भित्रिएका थिए । त्यो आगमन संख्या फेब्रुअरीमा ९६ हजार आठ सय ८० थियो । 

मार्चमा आगमन संख्या बढेर एक लाख २१ हजार ६ सय ८७ पुगेको थियो । अप्रिलमा भने एक लाख १६ हजार चार सय ९० जना विदेशी पाहुना भित्रिएका थिए । मेमा नेपालमा ८६ हजार दुई सय १६ र जुन महिनामा ७६ हजार चार सय २५ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । त्यस्तै जुलाई महिनामा नेपालमा ७० हजार एक सय ९३ र अगष्ट महिनामा ८८ हजार ६ सय ८० जना विदेशी पाहुना नेपाल भित्रिएका थिए ।

पर्यटन बोर्डले सन् २०२५ मा नेपालमा सन् २०२४ मा भित्रिएका विदेशी पर्यटकको संख्यामा बढीमा १० प्रतिशत मात्र बढ्ने अपेक्षा गरेको छ । सन् २०२४ मा नेपालमा सबैगरि ११ लाख ४७ हजार पाँच सय ४८ जना विदेशी पर्यटक भित्रिएका थिए । बोर्डको अपेक्षा अनुसार विदेशी पर्यटक भित्रिएमा सन् २०२४ को आगमन संख्यामा २०२५ मा एक लाख १४ हजार पर्यटक थपिनेछन् तर, विदेशी पर्यटकको आगमनको आकार तुलनात्मक रूपमा वृद्धि हुन नसकेको बोर्डको भनाइ छ । 

अन्तर्राष्ट्रिय प्रवद्र्धनमा कमी तथा नेपालसम्मको आउजाउमा समस्या, महँगो हवाई भाडा, विभिन्न मुलुकमा युद्ध हुँदा सन् २०२५ मा बोर्डले अनुमान गरेजस्तो आकारमा पर्यटक भित्रिन सहज नरहेको बोर्डका उच्च अधिकारी बताउँछन् ।

प्रकाशित: १७ भाद्र २०८२ ०९:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App