जेनजी आन्दोलन पछि नेप्से निरन्तर ओरालो लागिरहेको अवस्थामा लगानीकर्ताले संस्थागत लगानीकर्तामाथि लगाइएको २५ करोडको सीमा पूर्ण रूपमा खारेज गर्न माग गरेका छन् ।
लगानीकर्ताहरुको समूहले नेपाल राष्ट्र बैंकका गर्भनर डा.विश्वनाथ पौडेललाई बुधबार भेटेर यस्तो आग्रह गरेका हुन् । उनीहरुले शेयर धितो कर्जाको मार्जिन ८०–२० कायम गर्न पनि अनुरोध गरेका छन् । लघुवित्त वित्तीय संस्थाहरूले आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांशमा लगाइएको सीमा (क्याप) पूर्ण रूपमा हटाउनुपर्ने, हालको असहज परिस्थितिलाई मध्यनजर गरी लगानीकर्ताहरूले बुझाउनुपर्ने ब्याज भुक्तानीको म्याद थप गरी सो अवधिभित्र तिर्दा कुनै पनि जरिवाना नलाग्ने व्यवस्था गर्न पनि आग्रह गरेका छन् ।
नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, बीमा कम्पनीहरू तथा सामाजिक सुरक्षा कोष जस्ता ठूला संस्थागत लगानीकर्ताहरूलाई आफ्नो लगानीयोग्य पुँजीको एक निश्चित प्रतिशत रकम अनिवार्य रूपमा धितोपत्रको दोस्रो बजारमा लगानी गर्नुपर्ने नीतिगत व्यवस्था गनुपर्ने माग अघि सारेका छन् ।
त्यसैगरी, बैंक तथा वित्तीय संस्था र गैरआवासीय नेपाली हरूलाई दोस्रो बजारमा लगानी गर्नका लागि थप सहज र बिना शर्त पहुँचको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
प्रकाशित: २२ आश्विन २०८२ १८:४१ बुधबार





