चितवन जिल्लामा स्वास्थ्य बिमाप्रति नागरिकहरूको आकर्षण उल्लेखनीय रूपमा बढेको छ । स्वास्थ्य बिमा बोर्ड, भरतपुर शाखाका अनुसार जिल्लाका करिब ८५ प्रतिशत नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भइसकेका छन् ।
७ लाख १९ हजार ८५९ जनसंख्या रहेको चितवनमा हालसम्म ६ लाख ९६ हजार ७७ जनाले स्वास्थ्य बिमा गराएको तथ्यांकले देखाएको छ । जिल्लामा १ लाख ६२ हजार ४६ परिवार बिमामा आवद्ध भएका छन् । तीमध्ये १ लाख ३६ हजार ५८ परिवारका ४ लाख ७४ हजार २३६ सदस्यले नवीकरण गरी निरन्तर सेवा लिइरहेका छन् ।
स्वास्थ्य बिमा बोर्डका जिल्ला संयोजक रमेश धमलाले जिल्लामा आठ वटा प्रथम सेवा विन्दु र पाँच वटा रेफरल केन्द्र सञ्चालनमा रहेको जानकारी दिए । जिल्लामा जेष्ठ नागरिकहरूको सहभागिता पनि उल्लेखनीय छ । हालसम्म ३८ हजार २९२ जेष्ठ नागरिकले बिमा गरेका छन् । यस्तै क वर्गका अति अशक्त अपाङ्गता भएका ९९० परिवार, एचआइभी संक्रमित ९८९ र कुष्ठरोगी ६ परिवार पनि बिमामा आबद्ध छन् ।
बिमाबाट थप एक लाख रुपैयाँसम्म सुविधा पाउने १७८ जना जटिल रोगका बिरामी रहेका छन् । क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनियम र अल्जाइमर जस्ता रोगका बिरामीले अतिरिक्त सुविधा पाउने व्यवस्था छ । चितवन ‘मेडिकल सिटी’का रूपमा विकास हुँदै गएकाले पनि स्वास्थ्य बिमाप्रति आकर्षण बढेको संयोजक धमलाको भनाइ छ।
स्वास्थ्य बिमा बोर्डका नासु हरिप्रसाद सुवेदीका अनुसार पाँच जनाको परिवारले ३ हजार ५०० रुपैयाँमा एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा लिन सक्छन्। यस्तै पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति ७ सय रुपैयाँ थप लाग्ने र सेवा २० हजार रुपैयाँका दरले बढ्दै जाने उनले बताए । अधिकतम दुई लाख रुपैयाँसम्म सेवा लिन सकिन्छ ।
बिमाअन्तर्गत सेवा लिँदा निजी अस्पतालमा २० प्रतिशत र सरकारी अस्पतालमा १० प्रतिशत सहभुक्तानी शुल्क लाग्ने व्यवस्था छ । यो शुल्क १५ शैयाभन्दा ठूला तथा विशेषज्ञ सेवा उपलब्ध भएका अस्पतालमा लागू हुन्छ । तर ७० वर्षमाथिका जेष्ठ नागरिक, अति अशक्त, एचआइभी संक्रमित, जटिल क्षयरोगी, एडिआर÷एक्सडिआर टीबी बिरामी, कुष्ठरोगी तथा महिला स्वास्थ्य स्वयंसेविकाले सहभुक्तानी तिर्नु पर्दैन ।
सरकारले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत १ हजार २९० प्रकारका औषधिको शुल्क निर्धारण गरेको छ । ओपिडी सेवा शुल्क ५० रुपैयाँ, बेड चार्ज २५० रुपैयाँ र सर्जरीमा अधिकतम ७० हजार रुपैयाँसम्म तोकिएको छ । नेपालमा स्वास्थ्य बिमा कार्यक्रम २०७३ चैत २५ गते कैलालीबाट सुरु भएको हो भने हाल ७५३ स्थानीय तहमा विस्तार भइसकेको छ । चितवनमा भने २०७४ असार १ गतेदेखि लागू भएको हो ।
जिल्लामा भरतपुर अस्पतालसहित रत्ननगर बकुलर अस्पताल, बगौँडा अस्पताल, भण्डारा अस्पताल, कालिका नगर अस्पताल, इच्छाकामना आधारभूत अस्पताल र खैरहनी आधारभूत अस्पतालमा प्राथमिक सेवा उपलब्ध छ । त्यस्तै चितवन मेडिकल कलेज शिक्षण अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, पुरानो मेडिकल कलेज, भरतपुर आँखा अस्पताल र गुञ्जमानसिंह अस्पतालमा द्वितीय सेवा प्रदान गरिँदै आएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नागरिकलाई उत्कृष्ट सेवा दिन अनुरोध गरेका छन् । ‘नागरिकलाई सहज रूपमा सेवा प्रदान गर्न आवश्यक छ’ उनले भने ‘स्वयंसेवी भावनाले काम गर्दै सबैलाई समान व्यवहार गर्नुपर्छ’
त्यस्तै चितवन मेडिकल कलेज शिक्षण अस्पतालका अरुण पौडेलले बिमामा आउने बिरामीलाई सचेतनाको आवश्यकता रहेको बताए । ‘बिमामा आउने बिरामीको अपेक्षा धेरै हुने गरेको छ’ उनले भने ‘सरकारी मापदण्डबारे जानकारी अभाव र रिफर प्रणालीमा प्राविधिक समस्या देखिएको देखिन्छ । सर्वसाधारणलाई बिमा सम्बन्धी मापदण्डबारे जानकारी दिन आवश्यक छ।’ बिमा कार्यक्रममार्फत हालसम्म १४ करोड १४ लाख १० हजार ७ सय रुपैयाँ राजश्व संकलन भएको छ।
प्रकाशित: २७ चैत्र २०८२ १८:३७ शुक्रबार





