२८ माघ २०८२ बुधबार
image/svg+xml
अर्थ

पोखरामा सूचना–प्रविधि र स्टार्टअप मेला हुँदै

प्रदर्शनी सातवटै प्रदेशमा आयोजना गरिने

सूचना–प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी सम्बन्धी पोखरामा भएको अभिमुखीकरणका सहभागी। तस्बिरः नागरिक

आगामी माघ अन्तिम साता पोखरामा युवाबाट उत्पादित सूचना–प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी हुने भएको छ। युवा तथा खेलकुद मन्त्रालयअन्तगत रहेको राष्ट्रिय युवा परिषद्ले पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा सो मेला आयोजना गर्न लागेको हो।  

मेलामा गण्डकी प्रदेशभित्रबाट छानिएका १५ वटा नवीन सोचमा आधारित उद्यम, वस्तु तथा सेवा वा प्रक्रियामा नवप्रवर्द्धनसँग सम्बन्धित व्यवसायको प्रदर्शनी गरिनेछ। सो प्रदर्शनी प्रतिस्पर्धात्मक हुनेछ। प्रतिश्पर्धात्मक उक्त प्रदर्शनीमा पहिलो, दोश्रो र तेश्रोले क्रमशः ४०, ३० र २० हजार रुपैयाँ प्राप्त गर्ने राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले जाननकारी दिए।

‘सहभागी हुन चाहनेले अनलाइन फाराम भर्नुपर्नेछ। तीमध्ये छानिएकालाई मेलामा सहभागी गराइने छ,’ परिषद्का प्रमुख गौतमले भने, ‘आवेदकको उमेर ४० वर्ष ननाघेको, उद्योग व्यवसाय संचालन गरेको १० वर्षभन्दा बढी नभएको तथा सरकारी कार्यालयमा दर्ता भएको एवं वार्षिक कारोबार १५ करोड रुपैयाँभन्दा बढी नभएको हुनुपर्नेछ।’

उनका अनुसार पोखराबाट सुरु गरिने यो प्रदर्शनी सातवटै प्रदेशमा आयोजना गरिनेछ । अन्तिममा काठमाडौंमा हुने बृहत प्रतिस्पर्धात्मक प्रदर्शनीमासमेत प्रदेशमा उत्कृट रहेकालाई सामेल गरिने उनले जानकारी दिए । प्रदर्शनीको तयारीको सन्दर्भमा युवा परिषद्ले पोखरामा अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न गरेको छ।

कास्कीसहित स्याङ्जा, बागलुङ, तनहुँ, पर्वतका उद्योगी/व्यवसायीको सहभागिता रहेको सो अभिमुखीकरण कार्यक्रममा बोल्दै उद्यमशीलता विकास विज्ञ इञ्जिनियर रमेश सुवेदीले नवप्रवर्द्धन मार्फत् रोजगारी सिर्जना र युवा पलायन रोक्नका लागि मेला आयोजना गरिएको बताए।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले युवा पुस्ताको पलायन रोकिएर देशमै रोजगारी सिर्जना होस् भन्ने निजी क्षेत्रको चाहना रहेको बताए। गत भदौमा भएको जेन–जी आन्दोलनको क्रममा उद्योगीव्यावसायीमाथि भएको आक्रमणका कारण निजी क्षेत्र हतोत्साही बनेको उल्लेख गर्दै उनले यस्ता प्रदर्शनीले युवा पुस्तालाई प्रोत्साहित गर्ने धारणा राखे।

पोखरा महानगरपालिकाको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले उद्यमशीलता विकासका निम्ति पोखरा महानगरपालिकाले चालेका कदमबारे जानकारी दिँदै युवा परिषद्ले आयोजना गर्ने कार्यक्रमले नयाँ सोचको विकास गराउने धारणा राखे। युवा परिषद्का उपसचिव तारापति खरेलले निजी क्षेत्र र खासगरी युवाहरुलाई सिर्जनात्मक व्यवसायमा सामेल गराउनका निम्ति मेला आयोजना गरिन लागेको बताए।  

प्रकाशित: २६ पुस २०८२ १६:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App