१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

काठमाडौंमा खुला जग्गा कति छ?

काठमाडौं उपत्यकामा खुला स्थान अत्यन्त कम भएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

उपत्यकामा खुला क्षेत्र अति कम हुँदा यसबाट विपद्मा झन् जोखिम निम्तिन सक्ने भनाइ विज्ञहरूको छ। उपत्यकाको क्षेत्रफल ७२१ वर्ग किलोमिटर छ तर सरकारी रिपोर्टमै सार्वजनिक खुला क्षेत्र भने ३७२ हेक्टर (३.७२ वर्गकिलोमिटर) जग्गा मात्र छ। यो भनेको उपत्यकाको कुल क्षेत्रफलको ०.५१ प्रतिशत मात्र हो। जुन अत्यन्तै कम हो।

सहरी क्षेत्रमा खुला क्षेत्र कम्तीमा पाँच प्रतिशत हुनुपर्ने विज्ञहरूको भनाइ छ। काठमाडौंजस्तो भूकम्पीय जोखिमयुक्त क्षेत्रमा कम्तीमा १० देखि १५ प्रतिशत आवश्यक पर्ने विज्ञहरूको भनाइ छ। यतिबेला काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकाका खुला क्षेत्रबारे अध्ययन गरिरहेको छ।

प्राधिकरणका एक कर्मचारीका अनुसार प्राधिकरणले गरेको प्रारम्भिक अध्ययनमा काठमाडौं उपत्यकामा सार्वजनिक खुला क्षेत्र ०.५१ प्रतिशत मात्र देखिएको छ। जुन अत्यन्त कम हो। विज्ञहरूका अनुसार प्रत्येक १५ मिनेटको दूरीमा कम्तीमा एउटा खुला क्षेत्र हुनुपर्छ । यो नियमको पालना भएको छैन। विपद्को बेला शरण लिन खुला क्षेत्र आवश्यक पर्छ।

यसैगरी केटाकेटीलाई खेल्न, वृद्धवृद्धालाई हिँडडुल गर्न पनि खुला क्षेत्र अनिवार्य हुन्छ। आगलागी भयो भने अथवा भूकम्प आयो भने नागरिक भाग्दै गएर सुरक्षित भई बस्ने स्थान चाहिन्छ। प्राधिकरणले गरेको अध्ययनमा काठमाडौं उपत्यकामा रहेका सार्वजनिक पार्कसमेत जोडेर खुला क्षेत्र मापन गरिएको हो।

बालाजु, भृकुटीमण्डप, भूगोलपार्क, भूखेलपार्क, सामाखुसीपार्क, गोल्फुटार, कीर्तिपुर पार्क, गोदावरी, ज्ञानेश्वर, त्रिभुवनपार्क, युएनपार्क, शंखपार्क, शहीदपार्क, मित्रपार्क, मदनभण्डारी पार्क, लैनचौर पार्क लगायत ५४ पार्क यस मापनमा जोडिएका छन्। व्यक्तिको निजी जग्गाभित्र पर्ने खुला क्षेत्र भने यसमा नजोडिएको प्राधिकरणको भनाइ छ।

उपत्यकाका २४ ठाउँमा जग्गा एकीकरण कार्यक्रम सञ्चालन गरिरहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले सञ्चालन गरेको जग्गा एकीकरण कार्यक्रममा कम्तीमा पाँच प्रतिशत खुला क्षेत्र राख्ने गरिएको गरिएको छ।

पुराना जग्गा एकीकरण कार्यक्रममा भने दुईदेखि तीन प्रतिशत मात्र खुला क्षेत्र राख्ने गरेको पाइएको छ। प्राधिकरणले गरेको अध्ययनमा काठमाडौं उपत्यकाभर ८८७ ठाउँमा सार्वजनिक खुला क्षेत्र छन्। जसमध्ये काठमाडौं जिल्लामा ४८८, ललितपुरमा ३४६ र भक्तपुरमा ५३ सार्वजनिक पार्कसहितका खुला क्षेत्र छन्।

विज्ञहरू काठमाडौं उपत्यकाको हकमा पाँच प्रतिशत खुला क्षेत्र भएर नपुग्ने बताउँछन्। भूकम्पको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीलाई सरकारले बेवास्ता गरेको विज्ञहरूको भनाइ छ। विज्ञहरूका अनुसार पर्याप्त खुला क्षेत्र भएर पनि हुँदैन। विपद्को बेलामा खुला क्षेत्रमा जान दौडिँदै जाने बाटोबारे पनि नागरिकलाई जानकारी हुनुपर्छ। काठमाडौं उपत्यकामा खुला क्षेत्र बढाउन सरकारले कडा नीति ल्याउनुपर्ने प्राधिकरणका कर्मचारीको भनाइ छ।

प्राधिकरणले अहिले उपत्यकाको बृहत्तर गुरुयोजना बनाइरहेको छ। सोही क्रममा प्राधिकरणले खुला क्षेत्रबारे अध्ययन गरिरहेको छ। अहिले काठमाडौंको विकासबारे बृहत्तर गुरुयोजनासम्बद्ध प्रतिवेदन बनाउने काम भइरहेको प्राधिकरणको भनाइ छ।

 सहरी विकास मन्त्रालयले भने सहरी नीति २०८१ पास गरेको छ। विपद् व्यवस्थापन, प्रविधि र दिगो विकासलाई लक्षित गरेर सहरी नीति जारी गरिएको मन्त्रालयको भनाइ छ।

प्रकाशित: २६ श्रावण २०८२ ०८:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App