१ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
अर्थ

बैंकमा जम्मा गरेको ३८ लाख कसरी गायब ?

कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटास्थित आधारभूत स्वास्थ्य सेवा अस्पतालको ३८ लाखभन्दा बढी रकम गायब भएको पाइएको छ। आन्तरिक लेखापरीक्षणका क्रममा आर्थिक वर्ष २०८१/८२ मा बैंकमा जम्मा गरिएको भनिएको आम्दानी रकम अभिलेखमा नदेखिएपछि घटना सार्वजनिक भएको हो।

उक्त आर्थिक वर्षमा नेपाल बैंक लिमिटेड शाखा कार्यालय चन्द्रौटामा १ सय २८ वटा भौचरमार्फत रकम जम्मा गरिएको देखाइएको थियो। त्यसबारे अस्पताल प्रशासनले आन्तरिक छानबिन गर्दा रकम बैंक खातामा नजम्मा भएको तथ्य बाहिर आएको हो।

भौचरमा बैंकको छाप तथा बुझेको हस्ताक्षरसमेत रहेको बताइएको छ। तर बैंकले भने उक्त रकम आफ्नो खातामा जम्मा नभएको स्पष्ट पारेको छ। सो रकम अस्पतालले विभिन्न जाँच तथा सेवाबाट संकलन गरेको आम्दानी रहेको जनाइएको छ।

अस्पताल व्यवस्थापन समिति अध्यक्ष तथा वडा नं. ५ का अध्यक्ष नेत्र बेल्बासेले घटना बाहिर आएपछि छानबिनका लागि गत शुक्रबार प्रहरीमा उजुरी दिएको बताए। उनका अनुसार रकम जम्मा गरेको भौचर भए पनि बैंकले ती भौचर नक्कली भएको जनाएको छ।

नेपाल बैंक शाखा प्रमुख रमेश जुगिजुले बैंकका नक्कली भौचरसमेत भेटिएको जानकारी दिए। उनले घटनाबारे बैंकको केन्द्रीय कार्यालयमा जानकारी गराइएको तथा बैंकले पनि आन्तरिक अनुसन्धान गरिरहेको बताए।

अस्पताल प्रशासनले सबै भौचर बैंकबाटै आएको दाबी गरेको छ भने बैंकले ती भौचर नक्कली भएको बताउँदै आएको छ।

यता, शिवराज नगरपालिकाका मेयर अजय थापाले आर्थिक हिनामिना तथा किर्ते भौचरसम्बन्धी अनुसन्धानका लागि वडा प्रहरी कार्यालय चन्द्रौटामा लिखित उजुरी दिएको बताएका छन्। बैंकले नक्कली भौचर भनेको र अस्पतालका कर्मचारीले रकम बुझाएको दाबी गरेकाले दुवै पक्षको भूमिका शंकास्पद देखिएको उनले बताए।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेले घटनाबारे अनुसन्धान सुरु भइसकेको जानकारी दिएका छन्।

प्रकाशित: ५ वैशाख २०८३ १७:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App