२ श्रावण २०८३ शनिबार
image/svg+xml
अर्थ

आधा सिलिन्डर ग्यासले मासिक ६८ करोड लागत बढ्यो

भरी सिलिन्डर नहुँदा उपभोक्तादेखि उद्योगीसम्म मारमा

पश्चिम एसियामा जारी युद्धका कारण सम्भावित आपूर्ति संकटलाई मध्यनजर गर्दै खाना पकाउने ग्यास आधा सिलिन्डर मात्र बिक्री गर्ने व्यवस्था हालसम्म कायम रहँदा उपभोक्ता, उद्योगी तथा बिक्रेता मारमा परेका छन्।

ग्यास आपूर्तिको अवस्था सामान्य भइसक्दा पनि नेपाल आयल निगममले आधा सिलिन्डर बिक्री गर्ने निर्णय पुनरवलोकन नगर्दा मासिक करिब ६८ करोड रुपैयाँ लागत बढेको छ। अमेरिका–इरान युद्धका कारण ग्यास आयातमा कठिनाइ हुँदा बजारमा अभाव हुन थालेपछि गत फागुन अन्तिम सातादेखि निगमले आधा सिलिन्डर ग्यास बिक्री गर्ने निर्णय गरेको थियो।

अहिले मागका आधारमा इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट नियमित ग्यास आइरहेको अवस्थामा पनि आयल निगमले आधा सिलिन्डरको व्यवस्था हटाएर १४.२ किलोका पूरा सिलिन्डर बिक्री गर्ने निर्णय नगर्दा करोडौं रुपैयाँको लागत खेर गइरहेको छ।

आधा सिलिन्डर हटाएर भरी सिलिन्डरको व्यवस्था कायम नहुँदा उद्योगीदेखि उपभोक्तासम्मले ठुलो घाटा बेहोर्नुपरेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ।

आधा र भरी सिलिन्डरको ढुवानीदेखि व्यवस्थापकीय खर्च उस्तै भएकाले करोडौं रुपैयाँ लागत बढेको संघका अध्यक्ष दिवान चन्दको भनाइ छ। ग्यास आयातमा कठिनाइ भएको अवस्थाामा आधा सिलिन्डर बिक्री गरेको भए पनि भरी सिलिन्डर बिक्री गर्ने व्यवस्था गर्न ढिलाइ भएको अध्यक्ष चन्दले बताए।

‘आधा र भरी सिलिन्डरको व्यवस्थापकीय खर्च एउटै हो,’ अध्यक्ष चन्दले भने, ‘लागत करिब दोब्बर बढेको छ।’ एउटा सिलिन्डर पठाए हुने ठाउँमा आधा सिलिन्डर बिक्री गर्दा दुई रिफिलिङदेखि ढुवानीसम्म दोब्बर खर्च भइरहेको छ। भरी सिलिन्डरको अनुमति दिन आयल निगमदेखि मन्त्रालयका सचिव, मन्त्रीलाई समेत अनुरोध गरिएको तर सुनुवाइ नभएको उद्योगीको गुनासो छ।

ग्यास उद्योगीहरूका अनुसार आधा सिलिन्डर भर्ने, परीक्षण गर्ने, वितरण तथा ढुवानी गर्ने प्रक्रियामा अतिरिक्त लागत लाग्ने गरेको छ। १४.२ किलोको भरि सिलिन्डर बराबरको लागत आधा सिलिन्डरमा पनि खर्च भइरहेको छ।

एउटै सिलिन्डरलाई विभिन्न चरणमा पुनः व्यवस्थापन गर्नुपर्दा उत्पादन तथा वितरण खर्च बढेको छ। उद्योगी मात्र नभए बिक्रेताले पनि घाटा बेहोर्नुपरेको छ। एउटै ग्राहकलाई छोटो अवधिमा पुनः ग्यास उपलब्ध गराउनुपर्ने, स्टक व्यवस्थापन कठिन हुने तथा ढुवानी खर्च बढ्ने समस्याले व्यवसाय प्रभावित भएको छ। बिक्रेताबाट उपभोक्ताले ढुवानीबापत तिर्नुपर्ने खर्च पनि दोब्बर भएको छ।

ग्यास उद्योगीले भरी सिलिन्डर ग्यास ढुवानी गर्दा लाग्ने खर्च ४५ रुपैयाँ ८८ पैसा लाग्छ। आधा सिलिन्डरमा पनि सोही खर्च भइरहेको छ।

त्यसैगरी ग्यास सिलिन्डरमा सिल र क्याप प्रयोग गर्दा प्रतिसिलिन्डर सात रुपैयाँ खर्च हुन्छ। ग्यास रिफिलिङ गर्दा प्रतिसिलिन्डर ११ रुपैयाँ ५० पैसा खर्च हुन्छ। ग्यास उद्योगीले एउटा भरी सिलिन्डरको ३१.९० रुपैयाँ कमिसन पाउँछन्। आधा सिलिन्डरको व्यवस्थापन लागत भरी सिलिन्डर बराबर छ।

तर उद्योगीले पाउने कमिसनबापतको रकम आधा पाएका छन्। त्यसैगरी ग्यास बिक्रेताले १४.२ किलोको भरी सिलिन्डर बिक्री गर्दा करिब ५८ रुपैयाँ कमिसन पाउँछन्।

आधा सिलिन्डर बिक्री गर्दा त्यसको आधा मात्र कमिसन पाएका छन्। तर बिक्रेताको खर्च उत्तिकै छ। त्यसैगरी बिक्रेताबाट उपभोक्ताको घरमा लैजाँदा सरदर करिब ७५ रुपैयाँ ढुवानी लाग्छ। उक्त खर्च पनि आधा ग्यासको सिलिन्डर लैजाँदा पनि खर्च भइरहेको छ।

ग्यास भर्दादेखि उपभोक्ताको घरसम्म पुग्दा प्रतिसिलिन्डर अनुमानित करिब २२९ रुपैयाँ पर्छ। यो भरी सिलिन्डरमा लाग्ने खर्च हो। आधामा पनि करिब सोही बराबर खर्च हुन्छ। ग्यास बिक्रीबापतको कमिसन उद्योगी र बिक्रेतालाई आधा दिए पनि उद्योगी र बिक्रेताको लागत भने उत्तिकै हुन्छ।

सिलिन्डर र ग्यासको मूल्य बाहेकको खर्च करिब भरी सिलिन्डर र आधा सिलिन्डरमा उस्तै हुन्छ। यसरी हेर्दा आधा सिलिन्डर मात्र बिक्री गर्दा उद्योगीदेखि बिक्रेतादेखि उपभोक्तासम्मको लागत बढेको छ। ग्यास उद्योगीले दैनिक करिब एक लाख सिलिन्डर बजारमा पठाउने गरेका छन्।

प्रतिसिलिन्डर २२९ रुपैयाँका दरले हिसाब गर्दा एक दिनमै करिब सवा दुई करोड रुपैयाँको लागत अनावश्यक रूपमा थप खर्च भइरहेको छ।

यसरी हेर्दा एक महिना अर्थात् ३० दिनमा करिब ६८ करोड रुपैयाँ लागत बढेको छ। यसले उपभोक्तादेखि बिक्रेता, उद्योगीसम्म लागत बढेर अतिरिक्त भार थपिएको छ।

बजारमा ग्यास आपूर्ति सहज भएको छ। आधा सिलिन्डरले लागत बढाएकाले तुरुन्त १४.१ किलो ग्रामको भरी सिलिन्डरलाई बजारमा पठाउनुपर्ने उपभोक्ता अधिकारकर्मी बताउँछन्। आधा सिलिन्डरले उपभोक्ता, उद्योगी र बिक्रेताले अतिरिक्त व्ययभार बेहोर्नुपरेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए।

‘आधा सिलिन्डरले ढुवानीमा लागत दोब्बर बढेको छ,’ तिमल्सिनाले भने, ‘सरकारले बजारमा भरी सिलिन्डर पठाउने तत्काल निर्णय गर्नुपर्छ।’

आइओसी मासिक ४९ हजार पाँच सय टन ग्यास आपूर्ति गर्न तयार रहेको निगमले जनाएको छ। यो आयातले बजारको माग सजिलै धान्न सक्छ। निगमका अनुसार अब भरी सिलिन्डर ग्यासका लागि पनि आयात गरेर बजारमा पठाउन कुनै समस्या छैन।

नियमित आपूर्ति भएको अवस्थामा आधा सिलिन्डर ग्यास बिक्री गर्दा लागत बढेको भन्दै उद्योगी र बिक्रेताले गुनासो गरेको आयल निगम एलपिजी विभागका प्रमुख विनीतमणि उपाध्यायले बताए।

‘व्यवसायीका गुनासालाई विभागीय मन्त्रालयमा जानकारी गराएका छौं,’ उपाध्यायले भने। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भरी सिलिन्डर बिक्री गर्न निर्देशन दिए आयल निगम, उद्योगीहरू तयारी अवस्थामा छन्।

तर मन्त्रालयले यो विषयमा सम्बोधन नगर्दा अनावश्यक रूपमा करोडौं रुपैयाँ लागत बढेर खर्च भइरहेको छ। भरी प्रतिसिलिन्डर ग्यासको मूल्य एक हजार ९१० रुपैयाँ पथ्र्यो ।

आधा सिलिन्डर ग्यास ९५५ रुपैयाँमा बिक्री भइरहेको छ।

प्रकाशित: २४ जेष्ठ २०८३ २१:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App