९ पुस २०८२ बुधबार
image/svg+xml
अर्थ

पाहुनालाई आतिथ्यता दिने बेला हात बाँधेर बस्नुपर्यो

विश्व पर्यटन दिवसमा पर्यटन क्षेत्र सुनसानः व्यवसायी

विश्व पर्यटन दिवसका अवसरमा शनिबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका विदेशी पाहुनालाई स्वागत गर्दै पोखरेली व्यवसायी। तस्बिरः नागरिक

पर्यटकीय सिजनको हिसाबले यो बेला मुख्य समय हो। तर, पर्यटन व्यावसायी यो बेला पटक्कै खुसी छैनन्। केहीदिन अघिको जेनजी आन्दोलनको भूमरीमा परेको पर्यटन क्षेत्र अहिले निकै नै सुस्ताएको छ।

जेनजी आन्दोलन अघिसम्म सिजनको बुकिङले उत्साहि रहेका पर्यटन व्यवासायी आन्दोलनपछि एकाएक निराश बनेका छन। विदेशी पाहुनाले गरेको बुकिङ धमाधम रद्द भएपछि व्यावसायी चिन्तित छन्। अहिलेको आन्दोलनको मारले अझै एकवर्षसम्म नेपालमा सोचेजति पर्यटक भित्रिने सम्भावना कम रहेको व्यावसायीको भनाई छ।

शनिबार विश्व पर्यटन पर्यटन दिवस मनाउँदै गर्दा मूलूककै मुख्य पर्यटकीय क्षेत्र पोखरा सुनसान छ। सानादेखि ठूला आकारसम्मका होटलका कोठा खालि छन्। रेस्टुरेन्टका टेवल कुर्सीले पाहुना पाएका छैनन। ‘आन्दोलन नहुँदो हो त यो बेलासम्म पर्यटन क्षेत्र चम्किएको हुन्थ्यो। पाहुना अभाव खेप्नुपर्ने थिएन। तर, सिजनको मुखैमा आइपरेको यो अवस्थाले पर्यटनमा पिरलो थपिदिएको छ,’ पर्यटन व्यावसायी गणेशबहादुर भट्टराई भन्छन, ‘सिजनको बेलामा यो खालको सुनसानले व्यावसायीलाई निराश पारेको छ।’

यो बेला विदेशीसँगै आन्तरिक पाहुनाको पनि सिजन हो। तर, जेनजी आन्दोलनका कारण विदेशी पर्यटकले मात्र यात्रा रद्द गरेका छैनन की आन्तरिक पाहुनाको पनि आगमन कमजोर बनेको व्यावसायीको भनाई छ। ‘विदेशी पाहुना आउन नसकेको यो बेलामा आन्तरिक पाहुनालाई बोलाएर भएपनि पर्यटन क्षेत्र चलायमान बनाउने प्रयास थाल्नुपर्छ। आन्तरिक पाहुना भित्र्याउन सक्ने हो भने पर्यटन क्षेत्र चलायमान हुन्छ,’ उनले भने, ‘व्यवासायलाई चलायमान बनाउनका लागि पनि आन्तरिक पाहुना भित्र्याउनुपर्छ।’

व्यावसायीका अनुसार पर्यटकीय सिजन चलेको हुनाले यो बेलाका लागि निकै नै उत्साहजनक बुकिङ भित्रिएको थियो। तर, आन्दोलनपछि एकाएक बुकिङ रद्द भएको छ।

‘बुकिङ उत्साहजनक आएको हो। तर, पाहुना आउने अवस्था रहेन। आउने तयारीमा रहेका पाहुना पनि रोकिए,’ भट्टराईले भने, ‘पर्यटनका दृष्टिले यो बेला चम्किने समय हो। तर, लेकसाइड सुस्ताएको छ। अब पनि कतिबेला के हुने हो भनेर यकिन नभएकोले पाहुना आउन चाहेका छैनन।’

पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेका अनुसार शनिबार विश्व पर्यटन दिवस मनाइरहँदा पर्यटन क्षेत्र सुनसान छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजबाट ओर्लिने पहिलो विदेशी पाहुना र पर्यटक बसपार्कमा ओर्लिएका विदेशी पाहुलाई स्वागत गर्ने सहितका केही नियमित गतिविधि गरिएपनि पर्यटन क्षेत्र निकै नै सुस्त रहेको उनले बताए।

‘पाहुना भित्रिँदा यो बेला पर्यटन क्षेत्र चम्किएको हुन्थ्यो। विमानस्थल र बसपार्कमा पाहुनाको हुल हुन्थ्यो। तर, अहिले त्यो अवस्था रहेन। निकै नै कम संख्याका पाहुनालाई स्वागत गर्नुपर्यो,’ उनले भने, ‘मुख्य सिजनको बेला पर्यटन क्षेत्रले ठूलो मार खेपेको छ। आन्दोलन नहुँदो हो त यो बेला आन्तरिक र विदेशीको भीडले व्यावसायीलाई ब्यस्त बनाउँथ्यो।’  

लामिछानेले अब तत्कालै पर्यटन क्षेत्र चलायमान बनाउनका लागि चाडबाडको यो बेलाका लागि आन्तरिक पाहुनालाई पोखरा भित्रिने माहोल बनाउनुपर्ने बताए। ‘आन्तरिक पाहुनालाई बोलाउनका लागि प्रयास गर्नुपर्छ। आन्तरिक पाहुनाका लागि भिन्दै योजना पनि ल्याउन सकिन्छ। व्यावसायीले चाडबाडको यो बेलामा भित्रिने आन्तरिक पाहुनाका लागि अरुबेलाको भन्दा फरक प्याकेज ल्याउने हो भने व्यावसाय टिकाउन सकिन्छ,’ उनले भने, ‘विदेशी पाहुना पो आजको भोलि ल्याउन सकिन्न। तर, आन्तरिक पाहुना त आउँछन। तर, उनीहरुका लागि आकर्षक कार्यक्रम र प्याकेज ल्याउन जरुरी छ।’  

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष तारानाथ पहारी पनि विश्व पर्यटन दिवस औपचारिकमा सीमित रहेको बताउँछन। ‘व्यावसायीका उत्साह हुनुपर्ने बेला निराशा छाएको छ। पर्यटकलाई आतिथ्यता दिने बेला हात बाँधेर बस्नुपरेको छ,’ उनले भने, ‘चम्किनुपर्ने बेलामा पोखरा यो बेला निकै नै सुस्ताएको छ। फाट्टफुट्ट विदेशी पाहुना देखिएपनि व्यावसायका लागि त्यो आकार पर्याप्त होईन।’ पाहुनाविहीनताले विश्व पर्यटन दिवस पनि खल्लो भएको उनले सुनाए।  

पहारीको अनुभवमा चाडबाडका यो बेलामा आफ्नै सवारीमा यात्रा गर्दै घुम्न आउने आन्तरिक र भारतीय पाहुना पर्याप्त हुन्थे। तर, अहिले भारतीय र आन्तरिक पाहुना पनि नरहेको उनले बताए। 

‘दसैंको टीका नहुने पाहुनाहरु यो बेला घुमघाममा आउँथे। मोटरसाइल चढेर आउने युवाको भीड ठूलै हुन्थ्यो,’ पहारी भन्छन, ‘त्यस्तै भारतीय पाहुना पनि पर्याप्त आउँथे। पारिवारिक घुमघामको समय पनि हो। तर, अहिले विदेशीको त कुरै छाडौं आन्तरिक र भारतीय पाहुना पनि आएनन।’

पर्यटन व्यावसायीका अनुसार होटलको अकुपेन्सी ५० प्रतिशत हुने हो भने व्यवासाय चलायमान बनाउन सकिन्छ। तर, अहिले त्यो आकारमा पाहुना नभएपछि आन्तरिक पाहुना तान्ने योजना बनाउनुपर्छ। ‘जेनजी आन्दोलन नहुँदो हो त यो बेला विदेशी र स्वदेशी पाहुनाको भीडभाड हुन्थ्यो। तर, अहिले पाहुना छैनन। अब, आन्तरिक पाहुना भित्र्याउन पहल गर्नुपर्छ,’ पहारीले भने, ‘आन्तरिक पाहुनालाई पोखरा तान्नका लागि होटलले छुट दिएर भएपनि आकर्षण थप्नुपर्छ।’  

आन्तरिक र भारतीय पाहुनालाई विशेष प्राथमिकता दिएर व्यावसायीले योजना बनाउनुपर्ने उनले बताए।  ‘भारतीय र आन्तरिकलाई बोलाउन सक्ने हो भने व्यावसाय चलायमान बनाउन सकिन्थ्यो,’ उनले भने, ‘तर, अहिले त आन्तरिक पाहुना पनि आएका छैनन। साह्रै नै सुनसान भएको छ। सिजनको यो सुनसानले पर्यटन क्षत्र निराश बनेको छ।’

प्रकाशित: ११ आश्विन २०८२ १६:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App