६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अर्थ

चार वर्षमा साढे तीन अर्बको सुन बरामद

नेपाल प्रहरीले चार वर्षमा देशभरिबाट तीन अर्ब ४० करोड बढी मूल्यको अवैध सुन बरामद गरेको छ। प्रहरीले आर्थिक वर्ष २०७९/८० देखि चालु आर्थिक वर्ष २०८२/८३ को असोज महिनासम्ममा उक्त मूल्य बराबरको सुन बरामद गरेको हो। नेपाली बजारमा मंगलबारको मूल्य दुई लाख ४८ हजार पाँच सय रुपैयाँ प्रतितोलाका दरले हिसाब गर्दा उल्लिखित मूल्य बराबरको सुन बरामद भएको देखिन्छ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेका अनुसार चार वर्षमा तीन अर्ब ४० करोड ५६ लाख ९२ हजार पाँच सय रुपैयाँको अवैध सुन बरामद गरेको छ। चार वर्षमा एक सय ३७ किलो पाँच ग्राम सुन बरामद गरेको उनले बताए। बरामद सुनसँगै चार वर्षमा तीन सय ७९ जना पक्राउ परेको जानकारी पनि उनले दिएका छन्।

प्रहरीले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि असोजसम्ममा ४९ करोड दुई लाख ६५ हजार ६ सय ५० रुपैयाँ मूल्य बराबरको १९ किलो सात सय २९ ग्राम अवैध सुन बरामद गरेकोमा २३ जना पक्राउ परेका छन्।

यसैगरी आर्थिक वर्ष २०८१/८२ मा एक अर्ब १३ करोड ४१ लाख ५४ हजार रुपैयाँ मूल्य बराबरको ४५ किलो ६ सय ४० ग्राम सुन बरामद गरेको र त्यसक्रममा एक सय ६ जना पक्राउ परेको जानकारी पनि उनले दिए।

यसैगरी प्रहरीले आर्थिक वर्ष २०८०/८१ मा ५३ किलो सात सय १५ ग्राम अवैध सुन बरामद गरेको थियो। मंगलबारको मूल्य अनुसार सो सुनको मूल्य एक अर्ब ३३ करोड ४८ लाख १७ हजार सात सय ५० रुपैयाँ बराबरको रहेको देखिन्छ। त्यसक्रममा एक सय ५९ जना पक्राउ परेको केन्द्रीय प्रहरी कार्यालयले जनाएको छ।

यस्तै आर्थिक वर्ष २०७९/८० मा ४४ करोड ६४ लाख ५५ हजार एक सय रुपैयाँ मूल्य बराबरको १७ किलो सात सय २९ ग्राम सुन बरामद गरेकामा ९१ जना पक्राउ परेको प्रहरीको तथ्यांकमा उल्लेख छ।

केन्द्रीय प्रहरी प्रवक्ता घिमिरेले बरामद गरेको अवैध सुन र पक्राउ परेकालाई आफूहरूले कारबाही नगरेर भन्सार कार्यालयमा बुझाउने गरेको बताए। अहिलेसम्म जे जति पक्राउ गरेको भए पनि आफूहरूलाई प्राप्त सूचनाको अधारमा पक्राउ गरेको बताउँदै उनले अब उपलब्ध नयाँनयाँ प्रविधि प्रयोग गरेर अगाडि बढ्ने तयारी रहेको बताए।

उनले प्रविधिसँगै सूचना प्राप्त गर्न बढी जोड दिने र सूचनाका खातिर लगानी गर्नुपर्ने अवस्था आएमासमेत लगानी गर्ने उनको भनाइ थियो। उनले खुला सिमानाका कारणले पनि चुनौती बढेको बताए।

भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले अवैध सुन र पक्राउ परेकालाई आफूहरूले नेपाल राष्ट्र बैंकमा बुझाउने गरेको बताए। पक्राउ परेकाहरूलाई भन्सार ऐन अनुसार कारबाही गर्ने गरेको उनले बताए।

कानुनी ऐन अनुसार पक्राउ परेकाहरूले धरौटी बुझाएमा छुटेर बाहिर बसेरै मुद्दा लड्न सक्ने बताउँदै उनले धरौटी बुझाउन नसकेमा पूर्व पक्षका लागि थुनामा राख्ने गरेको बताए।  

प्रकाशित: २९ आश्विन २०८२ १०:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App