१६ आश्विन २०८३ शुक्रबार
image/svg+xml
अर्थ

डिजिटल बैंकिङ र अटोमेसनमा फड्को मार्दै ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंक लिमिटेडले वित्तीय पहुँच विस्तारसँगै डिजिटल बैंकिङ र अटोमेसनलाई प्राथमिकतामा राखेको छ। बैंक स्थापनाको दुई दशकसम्मको यात्रामा यस बैंकले वित्तीय आकार, ग्राहक आधार, सेवा सञ्जाल, डिजिटल क्षमता तथा व्यावसायिक पहुँच विस्तार गरेको छ। बैंकले असोज १६ गते काठमाडौंमा २०औं वार्षिक साधारणसभा आयोजना गर्दैछ।

पछिल्लो समय परम्परागत बैंकिङ प्रक्रियालाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्दै यस बैंकले बैंकिङ सेवा प्रवाहलाई छिटो, सरल र प्रभावकारी बनाउने काम गरिरहेको जनाएको छ।

निरन्तर प्रतिफल र ‘हरित अर्थतन्त्र’ निर्माणमा जोड दिएको ग्लोबल आइएमई बैंकको देशभर ३४१ शाखा, ३६६ एटिएम, १४१ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर र विदेशमा ३ वटा प्रतिनिधि कार्यालयसहितको सेवा सञ्चालनमा छन्।

विदेशमा विभिन्न ठाउँमा उत्कृष्ट प्रतिनिधि कार्यालयसमेत रहेको बैंकले विभिन्न सेवा माध्यममार्फत १ हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

ग्लोबल आइएमई बैंकले २० औं वार्षिक साधारणसभामा आफ्ना सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गरेको छ। यस साधारणसभाबाट सो प्रस्ताव स्वीकृत भएपछि सेयर धनीलाई लाभांश वितरण गरिने बैंकले जनाएको छ। यस बैंकले विविध कारणबाट मुलुकको अर्थतन्त्रमा देखिएको सुस्तताका बाबजुद पनि निरन्तर आफ्ना सेयरधनीलाई लाभांश वितरण गरिरहेको छ।

पछिल्ला केही वर्षयता अधिकांश बैंकको लाभांश क्षमता कमजोर भएको छ भने केहीको लाभांश वितरण गर्ने क्षमता पनि देखिएको छैन। ग्लोबल आइएमई बैंकले निरन्तर लाभांश वितरण गर्ने क्रमलाई निरन्तरता दिँदै यस वर्ष पनि १० प्रतिशत लाभांश दिन लागेको हो।

बैंकले २०औं वार्षिक साधारणसभामा ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत सेयर गरी कुल १० प्रतिशत लाभांश वितरणको प्रस्ताव पेस गर्दै छ। सो प्रस्ताव साधारणसभाबाट स्वीकृत भएपछि बैंकले सेयरधनीलाई लाभांश वितरण गर्ने छ।

स्थापनाकालदेखि अहिले दुई दशकको अवधिमा यस बैंकले आफूलाई नाफामुखी बैंकको रूपमा मात्र नभई नेपाली अर्थतन्त्रको बलियो खम्बा र वित्तीय रूपान्तरणको संवाहकका रूपमा स्थापित गरेको छ।

तीव्र बजार विस्तार, रणनीतिक मर्जर तथा प्राप्ति, ठूलो शाखा सञ्जाल, डिजिटल प्रविधिमा समय सापेक्ष लगानी र उत्तरदायी बैंकिङ अभ्यासका कारण ग्लोबल आइएमई बैंकले छोटो अवधिमै वित्तीय आकार र जनविश्वास दुवै दृष्टिले ठूलो सफलता प्राप्त गरेको छ।

दुई दशकको व्यावसायिक यात्रामा यस बैंकले आक्रामक किसिमले आफ्नो वित्तीय आकार, ग्राहक संख्या, सेवा सञ्जाल, डिजिटल क्षमता तथा व्यावसायिक पहुँच विस्तार गर्दै आएको छ। जसले बैंकको वित्तीय आधार र व्यवसाय विस्तार गर्ने क्षमतालाई थप सुदृढ बनाएको छ।

बैंकले स्थापनादेखि हालसम्म आफ्ना सेयरधनीलाई नगद लाभांश तथा बोनस सेयरमार्फत प्रतिफल प्रदान गर्दै आएको छ। हालसम्मको निक्षेप, कर्जा तथा अन्य बैंकिङ गतिविधिको विस्तारसँगै बैंकले आफ्नो आम्दानी र नाफालाई थप सुदृढ बनाउँदै लगेको छ।

यस बैंकले आफ्नो रणनीतिमा वित्तीय सबलता, डिजिटल प्रविधि, ग्राहक सेवा, दिगो वित्त, कर्जा गुणस्तर तथा जोखिम व्यवस्थापनलाई सँगसँगै अघि बढाउँदै दीर्घकालीन र दिगो व्यावसायिक वृद्धिको आधार निर्माण गर्ने लक्ष्य लिएको छ।

७ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप

गत आर्थिक वर्ष २०८२/८३ सम्ममा बैंकको कुल निक्षेप ७ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ। सोही अवधिमा बैंकको कुल कर्जा लगानी ४ खर्ब ७६ अर्ब ८४ करोड तथा चुक्ता पुँजी ३८.११६ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ।

यस बैंकले आर्थिक वर्ष २०८२/८३ मा ६.०३६ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा १५.९० प्रतिशतले बढी हो।

सोही अवधिमा बैंकको निक्षेप २१.८० प्रतिशत र कर्जा लगानी ८.२२ प्रतिशतले वृद्धि भएको छ। निक्षेप तथा कर्जा विस्तारसँगै नाफामा भएको वृद्धिले ग्लोबल आइएमई बैंकको व्यावसायिक आकार थप विस्तार भएको देखाएको छ।

‘डिजिटल फर्स्ट बैंक’ को अवधारणा

स्थापनाको दुई दशकसम्मको यात्रा पूरा हुँदै गर्दाग्लोबल आइएमई बैंकले अबको व्यावसायिक रणनीतिलाई पनि परिवर्तन गरी ‘डिजिटल रूपान्तरण’लाई प्राथमिकतामा राखेको जनाएको छ।

बैंकले दीर्घकालीन व्यावसायिक रणनीतिअन्तर्गत ‘डिजिटल फस्र्ट बैंक’को अवधारणालाई अघि बढाउँदै बैंकिङ सेवालाई थप प्रविधिमैत्री बनाउने प्रयास गरिरहेको बताएको छ।

यसअन्तर्गत बैंकले परम्परागत तथा म्यानुअल प्रक्रियालाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्दै बैंकिङ सेवा प्रवाहलाई छिटो, सरल र प्रभावकारी बनाउने काम अघि बढाएको छ।

यस बैंकले आन्तरिक कार्यसम्पादन र ग्राहक अनुभवलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ। जसअन्तर्गत बैंकले हालसम्म २८ भन्दा बढी ‘डिजिटल वर्कफ्लो’ कार्यान्वयनमा ल्याएको छ भने १६ वटा व्यावसायिक प्रक्रियामा रोबटिक प्रोसेस अटोमेसन (आरपिए) को प्रयोग विस्तार गरेको छ।

यसले विभिन्न बैंकिङ प्रक्रियामा हुने म्यानुअल हस्तक्षेप घटाउन सहयोग गरेको सो बैंकको भनाइ छ। ‘डिजिटल वर्कफ्लो’ मार्फत हालसम्म ४६ हजारभन्दा बढी सेवा अनुरोध प्राप्त भएको र उक्त प्राप्त अनुरोध अनुसारका ग्राहकलाई सेवा प्रदान गरेको बैंकले जनाएको छ। यसबाट बैंकको आन्तरिक कार्य–प्रवाहमा डिजिटल प्रणालीको प्रयोग विस्तार हुँदै गएको सो बैंकको दाबी छ।

१६ वटा व्यावसायिक प्रक्रियामा आरपिए

अहिले संसारभर विस्तार भइरहेको डिजिटल रूपान्तरण र जोखिम व्यवस्थापनमार्फत दिगो वृद्धिको लक्ष्य लिएको यस बैंकले दोहोरिने प्रकृतिका कामलाई स्वचालित बनाउन रोबटिक प्रोसेस अटोमेसन (आरपिए) को प्रयोग विस्तार गरेको छ।

हाल आरपिएलाई १६ वटा व्यावसायिक प्रक्रियामा प्रयोग गरिएको सो बैंकले जनाएको छ। आरपिए तथा अन्य अटोमेसन प्रविधिको प्रयोगमार्फत नियमित तथा दोहोरिने कामलाई स्वचालित बनाउँदै कर्मचारीको समयलाई सिर्जनशील तथा कर्मचारीको उत्पादकत्वमा वृद्धि गर्न आधार तयार गरिएको सो बैंकले जनाएको छ।

यस बैंकले आगामी दिनमा बिजनेस प्रोसेस म्यानेजमेन्ट (विपिएम) र आरपिएको प्रयोग थप विस्तार गर्ने योजना अघि सारेको छ। डिजिटल प्रविधिलाई ग्राहक सेवामा मात्र सीमित नगरी आन्तरिक सञ्चालन दक्षता तथा लागत व्यवस्थापनमा समेत डिजिटल प्रयोग गर्ने रणनीति बैंकको छ।

साथै ‘ग्लोबल स्मार्ट प्लस’ मा व्यक्तिगत वित्तीय व्यवस्थापन, आइपिओ एप्लिकेसन, फन्ड ट्रान्सफर तथा क्यापिटल मार्केट सर्भिस लगायतका सुविधा विस्तार गर्दै ग्राहकको डिजिटल बैंकङि अनुभवलाई थप व्यापक बनाएको छ।

एआई र डिजिटल वर्कफ्लोलाई एकीकृत रूपमा अघि बढाइने

ग्राहक सेवा सुधारका लागि बैंकले ग्राहक सम्बन्ध व्यवस्थापन प्रणालीको विस्तार गरेको छ। यसबाट ग्राहकका सेवा अनुरोधलाई व्यवस्थित रूपमा दर्ता, ट्रयाक तथा समाधान गर्ने प्रणाली थप सुदृढ भएको बैंकले जनाएको छ। बैंकले २४ सै घण्टा कल सेन्टर सञ्चालन गर्दै ग्राहकलाई समयमै सेवा तथा सहायता उपलब्ध गराउँदै आएको छ।

त्यसैगरी बैंकले ग्लोबल जिपिटी तथा डकुमेन्ट क्वेरिज सिस्टम (डिक्युसी)जस्ता एआईमा आधारित प्रणालीमार्फत कर्मचारीलाई आवश्यक संस्थागत सूचना तथा दस्तावेजमा छिटो पहुँच पुर्‍याउने प्रयास गरिरहेको बताएको छ।

यसैगरी ग्लोबल आइएमई बैंकले आगामी दिनमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग ग्राहक सेवा, कर्मचारीको क्षमता अभिवृद्धि, व्यवसाय विस्तार तथा जोखिम व्यवस्थापनसम्म विस्तार गर्ने योजना बनाएको बताएको छ।

डिजिटल बैंकिङ विस्तारसँगै बैंकले ‘ग्लोबल स्मार्ट प्लस’लाई थप सुविधायुक्त बनाउँदै व्यक्तिगत वित्तीय व्यवस्थापन, आइपिओ आवेदनलगायत विभिन्न बैंकिङ सेवाहरूलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्दै आएको छ। आगामी आर्थिक वर्षमा बैंकले पूर्ण क्षमताको डिजिटल शाखा स्थापना गर्ने तथा डिजिटल लेन्डिङ क्षमता विस्तार गर्ने योजना अघि सारेको छ।

यसैगरी बैंकले डिजिटल अटोमेसन, एआई र डिजिटल वर्कफ्लोलाई एकीकृत रूपमा अघि बढाउँदै सेवा प्रवाहको गति बढाउने, सञ्चालन दक्षता सुधार गर्ने, म्यानुअल प्रक्रिया घटाउने र दीर्घकालीन व्यावसायिक दिगोपन हासिल गर्ने लक्ष्य लिइएको छ।

सुदृढ व्यवसाय,डिजिटल रूपान्तरण र जोखिम व्यवस्थापनमार्फत दिगो वृद्धिको लक्ष्य

ग्लोबल आइएमई बैंकले वित्तीय सबलता, व्यवसाय विस्तार, डिजिटल रूपान्तरण र जोखिम व्यवस्थापनलाई एकीकृत गर्दै दीर्घकालीन दिगो वृद्धिलाई प्राथमिकता दिएको छ। जसका लागि यस बैंकले ‘नेक्स्ट जेन खाता’ राउन्ड - अप, गोल–बेस डिपोजिट, अनलाइन खाता तथा भिडियो केवाइसी जस्ता सेवामार्फत नयाँ पुस्ताका ग्राहकको बदलिँदो बैंकिङ आवश्यकतालाई सम्बोधन गर्ने रणनीति लिइएको छ।

यसैगरी, बैंकले कर्जा लगानी विस्तारसँगै ‘क्रेडिट रिक्स म्यानेजमेन्टलाई प्राथमिकता दिँदै कर्जा मूल्यांकन, अनुगमन र सम्भावित जोखिमको प्रारम्भिक पहिचानलाई थप सुदृढ बनाउने लक्ष्य लिएको छ।

डेडिकेटेड लोन मनिटरिङ शाखा, स्क्रोलिङ, मोडल्स, वित्तीय एसिसमेन्ट मोडल तथा प्रोजेक्ट इभ्यालुएसन जस्ता प्रणालीमार्फत कर्जा पोर्टफोलियोको अनुगमन तथा जोखिम व्यवस्थापनलाई थप व्यवस्थित गरिएको सो बैंकले जनाएको छ।

यसैगरी बैंकले ‘इन्फर्मेसन सेक्युरिटी अडिट’, पिसिएल, डिएसएस, स्विफ्ट सिएसपीलगायतका अभ्याससँगै एसओसी/सिम, भोलनिरेबिलिटी, थ्रेट डिटेक्सन तथा फ्राउड प्रिभेन्सन प्रणालीलाई थप सुदृढ गर्ने योजना बनाएको छ।  

त्यस्तै बैंकले हरित होम लोन, रूफटप सोलार पिभी लोन, क्लाइमेट स्मार्ट कृषि ऋण, तथा हरित साना कर्जामार्फत दिगो तथा वातावरणमैत्री वित्तीय गतिविधिमा लगानी विस्तार गरिएको सो बैंकले जनाएको छ।

पुँजी विस्तारसँगै सेयरधनीलाई प्रतिसेयर २३६.१२ रुपैयाँ लाभांश

ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८२/८३ को प्रस्तावित लाभांशबाहेक हालसम्म प्रतिसेयर २३६.१२ रुपैयाँ बराबरको नगद तथा बोनस सेयर लाभांश वितरण गरिसकेको छ। साथै यस वर्ष बैंकले ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत सेयर लाभांश वितरण गर्ने प्रस्ताव साधारसभामा लैजाँदै छ।

सो उच्चतम् लाभांशमध्ये प्रतिसेयर ७९.२० रुपैयाँ नगद लाभांश वितरण गरिएको बैंकले जनाएको छ। यसैगरी बैंकले हालसम्म प्रतिसेयर १५६.९२ रुपैयाँ बराबरको बोनस सेयर वितरण गरिसकेको छ। सो बोनस सेयर वितरणले सेयरधनीको स्वामित्व पुँजीलाई थप विस्तार गर्ने आधार तयार गरेको हो। प्रस्तावित बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी करिब ३९.६४ अर्ब रुपैयाँ पुग्ने छ।

प्रकाशित: १६ आश्विन २०८३ ०८:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App