२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अर्थ

ग्यास: व्यावसायी पर्याप्त देखाउँछन्, तर,उपभोक्ताले पाउँदैनन्

पोखरामा ग्यास पाउनै सकस

पोखराको चाउथेस्थित व्यावसायीको गोदाममा रहेका ग्यासका रित्ता सिलिन्डर। तस्बिरः सन्तोष पोखरेल/पोखरा

पोखरामा ग्यास अभाव भएको भन्दै उपभोक्ता हैरानीमा परेका छन। व्यावसायीले ग्यास अभाव नभएको दावि गर्दै आएको भएपनि उपभोक्ताले चाहेको बेला ग्यास पाउन छाडेको महिना दिन हुन थाल्यो। व्यावसायीले अघिल्ला महिनाकै हाराहारीमा ग्यास आयात भएको बताएपनि उपभोक्ताले भने नपाएको गुनासो गर्ने गरेका छन्।  

पोखराको लामाचौरका देव क्षेत्रीले ग्यास पाउन हम्मेहम्मे परेको बताए। उनका अनुसार घरमा भएको सिलिन्डरको ग्यास बुधबार बेलुकी सकिएपछि ग्यास खोज्न थालिएको थियो। तर, कतैपनि नपाएपछि चिनजानका साथीमार्फत जसोतसो एक सिलिन्डर ग्यास पाउन सकेको उनले बताए। ‘मंगलबार बेलुकी ग्यास सकियो। विद्युती चुलोमा खाना पकाएर त खाइयो। तर, ग्यास पाउन भने निकै नै सकस भयो। भोलिपल्ट जसोतसो एउटा सिलिन्डर पाए,’ उनले भने।  

उपभोक्ताले महिना दिन कुर्दा समेत ग्यास पाउन नसकेको बताउँदै आएका छन। पहिले भन्दा ग्यास कम आएको भन्दै व्यावसायीले उपभोक्तालाई भनेको दिनमा ग्यास दिन सकेका छैनन्। जसले गर्दा उपभोक्ता ग्यास खोज्दै भौतारिन बाध्य भएका छन्। नियमित रुपमा खाद्यान्न किनेर खाने पसलले समेत अहिले ग्यास नदिएको गुनासो उपभोक्ताको छ।  

तर, ग्यास व्यावसायी भने पोखरामा ग्यास अभाव नभएको बताउँछन्। व्यावसायीका अनुसार अघिल्लो महिनाजत्तिकै हाराहारीमा पोखरामा ग्यास आएको छ। तरपनि उपभोक्ताले मागेको बेला ग्यास नपाएको भनेर गुनासो गरिरहेको ती व्यावसायीको भनाई छ। ‘पोखरामा ग्यास अभाव होईन। तर उपभोक्ताले नपाएको गुनासो सुनेका छौ। पर्याप्त ग्यास आएको बेलापनि उपभोक्ताले नपाउनुमा केही न केही कारण छ,’ एलपी ग्यास विक्रेता संघ कास्कीका पूर्व अध्यक्ष नारायण पौडेल भन्छन्, ‘उपभोक्ता र व्यावसायीबीच केही न केही समस्या भएकै हो। तर, ग्यास अभाव छैन।’

पौडेलका अनुसार मुल्य वृद्धि हुने र मध्यपूर्वका देशमा निम्तिएको द्वन्द्वका कारण अभाव खड्किने हल्लाका कारण कतिपय उपभोक्ताले चाहिने भन्दा बढी ग्यास मौज्दात राख्दा अहिले अभाव देखिएको हो। ‘वर्षौसम्म प्रयोग नभएका सिलिन्डर लिएर ग्यास लिन आउने उपभोक्ता छन। कतिपय उपभोक्ताले अनावश्यक रुपमा ग्यास मौज्दात राख्दा बजारमा अभाव देखिएको हो,’ उनले भने, ‘अहिलेको अवस्थामा ग्यास मौज्दात राख्न जरुरी छैन। तर, हल्लाका कारण बजारमा अभाव देखाइएको छ।’

उनका अनुसार कतिपय उपभोक्ताले चाहिने भन्दा बढी सिलिन्डर ग्यास मौज्दात राखेकोले अभाव सिर्जना देखिएको छ। त्यस्तै वर्षाैसम्म प्रयोग नभएका पुराना सिलिन्डर पनि भरेर राख्ने गर्दा बजारमा माग बढेको उनले बताए।

‘ग्यास मात्र बेच्ने व्यावसायीले भएसम्मको दिएकै छन। तर, खाद्यान्न सहित ग्यास बेच्ने व्यावसायीले भने बद्मासी गरेका हुनसक्छन्। अहिले ग्यासको अभाव होईन, तर, कृत्रिम अभाव सिर्जना गरिएको हो,’ उनले भने, ‘कतिपय व्यावसायीले अभाव देखाउनका लागि ग्यासलाई भूमिगत तरिकाले राखेका छन। मुल्य बढ्ने हल्लाले गर्दा केही व्यावसायीले ग्यास लुकाएको आशंका छ।’  

नियमित खाद्यान्न नकिन्ने उपभोक्तालाई ग्यास नदिने चलन कतिपय व्यावसायीमा रहेकोले पनि उपभोक्ताले चाहेका बेला नपाएको हुनसक्ने उनले बताए। ‘नितान्त ग्यास मात्र बेच्ने व्यावसायीले बद्मासी गर्दैनन। तर, अरुखालका व्यावसायीले के गर्लान् भन्न सकिन्न,’ उनले भने।  

संघका कास्की अध्यक्ष नारायण दाहाल पनि पोखरामा ग्यास अभाव नभएको बताउँछन्। ‘अघिल्लो महिनाजत्तिकै हाराहारीमा ग्यास आएको छ। तर, उपभोक्ताले घरमा भएभरका रित्ता सिलिन्डर भरेर राख्न खोज्दा माग बढि भएको हो। जुन दिन ग्यास आयो, त्यही दिन सकिने अवस्था छ,’ दाहालले भने, ‘सहज अवस्थामा एक वा दुई सिलिन्डर प्रयोग गर्दै आएका उपभोक्ताले अहिले अभाव हुने भन्दै घरमा भएभरका सिलिन्डर भरेर  मौज्दात राख्न खोज्दा बजारमा अभाव देखिएको हो। तर, पोखरामा अहिले ग्यास अभाव छैन।’

दाहालका अनुसार नाकाबन्दीका बेला धेरै सिलिन्डर किनेर राखेका उपभोक्ताका कतिपय सिलिन्डर यो बीचमा प्रयोगमै आएका थिएनन्। तर, अहिले उपभोक्ताले ती पुराना सिलिन्डर पनि बजारमा निकालेका छन्। अभाव हुने भनेर घरमा थुपारेका छन्। त्यसले अभाव सिर्जना गरेको हो।

‘जसको घरमा एउटा मात्र सिलिन्डर छ, त्यो उपभोक्तालाई समस्या छ। धेरै संख्यामा सिलिन्डर हुने व्यावसायीले एकैपटक ग्यास माग गर्दा कम संख्यामा सिलिन्डर हुनेलाई अभाव भएको हो,’ दाहालले भने, ‘ग्यास सकियो भन्दै पसलमा जाँदा भनेको बेला पाएका छैनन्। किनकी धेरै सिलिन्डर हुने उपभोक्ताले आवश्यकता भन्दा बढी संख्यामा भरी सिलिन्डर लुकाएका छन्।’  

मध्यपूर्वका मुलुकमा निम्तिएको द्वन्द्वका कारण इन्धन र ग्यास अभाव हुने तथा भारी मुल्य वृद्धि हुने हल्लाका कारण कतिपय पहुँचवाला उपभोक्ताले बढी संख्यामा ग्यास थुपारेको उनले बताए। ‘भारतीय सहरमा ग्यास भएको हल्ला बाहिरिएको छ। नेपालमा पनि ग्यास अभाव हुनसक्ने भनेर संचारमाध्यममा समाचार आएको छ। नाकाबन्दीको त्रास खेपेको उपभोक्ताले डराएकै कारण ग्यास भरेर राखेका छन,’ उनले भने, ‘मूल्य बढ्ने हल्लाले अभाव देखिएको हो।’

पोखरा क्षेत्रमा गृहलक्ष्मी र शक्ति कम्पनिले लेखनाथ क्षेत्रमा आफ्नै प्लान्टमार्फत पोखरामा ग्यास भरेर बजारमा पठाउँछन्। यी बाहेक अरु कम्पनिले पनि पोखरामा ग्यास बिक्री गर्छन। व्यावसायीका अनुसार गृहलक्ष्मी र शक्तिले अहिले क्षमता अनुसार नै बजारमा ग्यास पठाइरहेका छन्। ती बाहेक पोखरामा अरु कम्पनिले पनि ग्यास बिक्री गर्छन। पोखरामा सबैगरि १७ वटा कम्पनिले ग्यास बिक्री गर्छन। पोखरामा जाडोको बेला मासिक डेढलाख र गर्मीको बेला मासिक १ लाख ४० हजार हाराहारीमा ग्यास सिलिन्डर खपत हुन्छ। पर्यटकीय क्षेत्र लेकसाइडमा सबैभन्दा बढी संख्यामा ग्यासको खपत हुन्छ।

प्रकाशित: २७ फाल्गुन २०८२ १८:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App