४ चैत्र २०८२ बुधबार
image/svg+xml
अर्थ

लेखनाथ–दमौली २२० केभी प्रसारण लाइनको शिलान्यास, नेपाल–जर्मनी ऊर्जा सहकार्य थप सुदृढ

नेपाल विद्युत प्राधिकरण (NEA) ले जर्मनी सरकारका प्रतिनिधिहरूसँग मिलेर तनहुँ जिल्लाको दमौली सबस्टेशनमा लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन परियोजनाको शिलान्यास गरेको छ।

कार्यक्रममा प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्य, नेपालका लागि जर्मन राजदूत उडो भोल्ज, KfW विकास बैंकका निर्देशक माइकल सम्सर लगायत जर्मन दूतावास, KfW, GIZ तथा स्थानीय सरकारका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

जर्मनीको सह-वित्तीय सहयोगमा KfW विकास बैंक मार्फत निर्माण हुन लागेको यस परियोजनाअन्तर्गत ४५ किलोमिटर लामो २२० केभी डबल–सर्किट प्रसारण लाइन निर्माण गरिनेछ भने लेखनाथ र दमौलीमा आधुनिक ग्यास–इन्सुलेटेड सबस्टेशनहरू स्थापना गरिनेछन्। करिब १००० मेगावाट क्षमताको यस परियोजनाले क्षेत्रीय विद्युत् सञ्जाललाई मजबुत बनाउनेछ र तनहुँ जलविद्युत आयोजना लगायतका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् प्रभावकारी रूपमा आपूर्ति गर्न सहयोग पुर्‍याउनेछ।

राजदूत उडो भोल्जले नेपालको बढ्दो ऊर्जा आवश्यकताका लागि भरपर्दो प्रसारण पूर्वाधार अत्यावश्यक रहेको उल्लेख गर्दै जर्मनी नेपालसँगको सहकार्यमा गर्व महसुस गर्ने बताए। उनले यस्ता परियोजनाले स्वच्छ ऊर्जा घर, उद्योग र व्यवसायसम्म पुर्‍याउँदै दिगो आर्थिक विकासमा टेवा पुर्‍याउने धारणा व्यक्त गरे।

नेपाल–जर्मनी ऊर्जा सहकार्य लामो समयदेखि जारी रहेको छ। जर्मनीले तल्लो र मध्यम मर्स्याङ्दी जलविद्युत आयोजनाबाट सहकार्य सुरु गर्दै पछिल्ला वर्षहरूमा प्रसारण लाइन विस्तारमा समेत सहयोग गर्दै आएको छ। साथै सौर्य ऊर्जा, सिँचाइ प्रणाली तथा राष्ट्रिय प्रसारण प्रणाली सुदृढीकरणमा समेत योगदान पुर्‍याउँदै आएको छ।

GIZ मार्फत जर्मन प्राविधिक सहयोगले ऊर्जा नीतिगत सुधार, दक्षता विकास तथा प्रणाली सुदृढीकरणमा सहयोग गर्दै आएको छ। गण्डकी प्रदेशमा पोखरा महानगरपालिका को पाँचवर्षीय ऊर्जा योजना निर्माणदेखि विद्युतीय सवारी चार्जिङ स्टेशन स्थापना र साना जलविद्युत आयोजनालाई राष्ट्रिय ग्रिडमा जोड्ने कार्यमा समेत सहयोग गरिएको छ।

लेखनाथ–दमौली प्रसारण लाइन जस्ता परियोजनाले विद्युतीय सवारी साधन लगायत स्वच्छ ऊर्जा प्रयोग विस्तारमा टेवा पुर्‍याउँदै आयातित जीवाश्म इन्धनमा निर्भरता घटाउने नेपालको लक्ष्यलाई सघाउने विश्वास गरिएको छ।

प्रकाशित: ४ चैत्र २०८२ १८:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App