१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

वैदेशिक व्यापार एक खर्ब ११ अर्बले बढ्यो

स्वदेशमा उत्पादन हुने वस्तुमा पनि विदेशबाट आयात हुँदा मुलुकको वैदेशिक व्यापार वृद्धि भएको छ। यो सिजनमा चाडपर्व परेकाले पनि व्यापार बढेको छ। दसैं, तिहार र छठको अवसरमा उपभोग वृद्धि हुन्छ। पोहोरको तुलनामा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा वैदेशिक व्यापार एक खर्ब ११ अर्ब रुपैयाँले बढेको भन्सार विभागले जनाएको छ।

विभागले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार तीन महिनाको अवधिमा पाँच खर्ब ४० अर्ब ८६ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ। पोहोर सोही अवधिमा यस्तो व्यापार चार खर्ब २९ अर्ब १३ करोड रुपैयाँ थियो।

यो अवधिमा चार खर्ब ६८ अर्ब आठ करोड रुपैयाँको वस्तु आयात भएको छ। पोहोरको तुलनामा आयात करिब २० प्रतिशतले बढेको छ। वैदेशिक व्यापारमा आयातको हिस्सा ८६.५४ प्रतिशत छ भने निर्यातको हिस्सा १३.४६ प्रतिशत रहेको छ।

मुलुकको व्यापार घाटा पनि १२.१६ प्रतिशतले बढेको छ। यो अवधिमा व्यापार घाटा तीन खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ। आयात वृद्धिसँगै निर्यात व्यापारले भने आशा जगाएको छ। निर्यात ८९.६४ प्रतिशतले बढेको छ। यो अर्थतन्त्रका लागि सुखद पक्ष हो। निर्यातको हिस्सा सानो भए पनि असोजसम्म ७२ अर्ब ७८ करोड रुपैयाँको वस्तु निर्यात भएको छ।

विदेशबाट सोयाबिन तेलको कच्चा पदार्थ आयात गरेर प्रशोधन गरी निर्यात गरेकाले निर्यातको हिस्सा बढेको छ। तीन महिनामा ३० अर्ब ६९ करोड रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात भएको छ।

त्यसैगरी धेरै निर्यात हुने वस्तुमा कार्पेट दोस्रो स्थानमा रहेको छ। नेपालबाट यो अवधिमा दुई अर्ब ५७ करोड रुपैयाँ बराबरको कार्पेट निर्यात भएको छ।

आयात करिब २० प्रतिशतले बढेको छ। तीन महिनामा चार खर्ब ६८ अर्ब आठ करोड रुपैयाँको वस्तु आयात भएको छ।  सबैभन्दा धेरै आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ रहेको छ। तीन महिनामा १६ अर्ब ७८ करोड ८७ लाखको पेट्रोल, २० अर्ब ६९ करोड ४५ लाख बराबरको डिजेल र १३ अर्ब ९८ करोड १९ लाखको एलपी ग्यास आयात भएको छ।

वनस्पति, जीवजन्तुको घिउ, तेल ४० अर्ब २७ करोड रुपैयाँ बराबरको आयात भएको छ। इलेक्ट्रिकल मेसिनरी तथा उपकरण पार्टपुर्जाको आयात ३४ अर्ब १३ करोड रुपैयाँ विदेसिएको छ। फलाम र स्टिलको आयात ३३ अर्ब ५५ करोड रुपैयाँ बराबरको भएको छ भने सवारी साधनको आयात २९ अर्ब ३३ करोड रुपैयाँको भएको भन्सार विभागले जनाएको छ।

त्यसैगरी १७ अर्ब ११ करोड रुपैयाँ बराबरको रासायनिक मल, १३ अर्ब ६२ करोड ७५ लाख बराबरको स्मार्टफोन आयात भएको छ।

कुल पाँच खर्ब ४० अर्ब ८६ करोड ६१ लाखको वैदेशिक व्यापारमा नेपालको व्यापार घाटा तीन खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ रहेको छ। सबैभन्दा ठूलो व्यापार छिमेकी मुलुक भारतसँग रहेको छ। भारतबाट दुई खर्ब ५८ अर्ब ८७ करोड ८२ लाखको आयात र ५९ अर्ब १२ करोड ८३ लाखको निर्यात भएको छ।

भारतसँग मात्र एक खर्ब ९९ अर्ब ७४ करोड बराबरको व्यापार घाटा छ। त्यसैगरी दोस्रो ठूलो व्यापार घाटा चीनसँग रहेको छ। चीनसँगको व्यापार घाटा एक खर्ब चार अर्ब ७० करोड रुपैयाँ पुगको छ। चीनबाट एक खर्ब चार अर्ब ८९ करोडको आयात हुँदा १८ करोड ६४ लाख रुपैयाँ बराबरको मात्रै वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ।

नेपालको सबैभन्दा बढी व्यापार नाफा डेनमार्कसँग छ। यो अवधिमा डेनमार्कबाट चार करोड एक लाखको आयात हुँदा २८ करोड ९९ लाखको निर्यात भएको हो।

यसरी डेनमार्कसँग २४ करोड ९८ लाख ३० हजार बराबरको व्यापार नाफा रहेको भन्सार विभागले जनाएको छ। त्यसैगरी जर्मनी, रोमानिया, स्विडेन, लेबनानलगायतका मुलुकसँग पनि व्यापार नाफामा रहेको छ।

प्रकाशित: १० कार्तिक २०८२ ०८:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App