जेनजी आन्दोलनपछि रोकिएको विदेशी पाहुनाको आगमनमा अझै उत्साहजनक सुधार नभएपनि पदयात्राका लागि आउने पाहुना भने बढ्न थालेका छन्। यो बेला पदयात्राको सिजन भएकोले पनि पदयात्राका लागि पाहुनाले चाँसो देखाएको व्यावसायीले बताएका छन्। पोखराका होटलमा अहिले पदयात्रामा जानेगरि आएका विदेशी पाहुना थपिन थालेको व्यावसायीको भनाई छ।
जेनजी आन्दोलनपछि विदेशी पाहुनाको आगमन एकाएक रोकिएको थियो। तर, अहिले पदयात्रामा जाने पाहुना भने आउन थालेको व्यावसायीको भनाई छ। ‘लामो बिदा मनाउन र घुमघामका लागि आउने पाहुना अझै आएका छैनन्। तर, पदयात्राका लागि जाने पाहुना भने थपिन थालेका छन,’ बाराही गु्रपका कर्पाेरेट प्रबन्धक राजकुमार केसी भन्छन, ‘पोखरा आउने सबै पाहुना पदयात्रामा जाने होईनन्। अहिलेको समय पदयात्राका लागि उपयुक्त भएकोले पनि पदयात्रा जाने पाहुनाको संख्या भने थपिन थालेको छ।’
यो बेला अन्नपूर्ण क्षेत्रको पदयात्रामा जानेगरि आउन चाहेका धेरै पाहुनाले होटल बुकिङ गरेका थिए। तर जेनजी आन्दोलनपछि पाहुनाको आगमन रोकिएको थियो।
‘अरु घुमघामका पाहुना छैनन। पदयात्राका लागि अरुबेलाको समय उपयुक्त नहुने भएकाले पनि यो बेला आएका हुन,’ उनले भने, ‘यो बेला पदयात्रामा जान पाइएन भने अर्काे सिजन कुर्नुपर्ने हुन्छ। घुमघामका लागि त अरु समयमा पनि आउन मिल्छ। तर, पदयात्राका लागि सधैंको समय उपयुक्त हुँदैन।’
व्यावसायीका अनुसार सेप्टेम्बरदेखि नोभेम्बर पदयात्राको लागि उपयुक्त सिजन मानिन्छ। त्यसबाहेक मार्च देखि मे सम्मको समयलाई पनि पदयात्राको सिजन मानिन्छ। उपयुक्त सिजन भएकोले नै यो बेला पदयात्रामा जानका लागि नेपाल आउने विदेशीको चाहना हुन्छ।

नितान्त घुमघामका लागि मात्र आउन चाहेका विदेशीले भने नेपालको यात्रालाई ‘रिसेड्यूअलिङ’ गरिरहेको पनि केसीले बताए। ‘अझै केही समय पर्ख र हेरको अवस्थामा पाहुना छन। नेपाल आउनका लागि अग्रिम बुकिङ गरेका कतिपय पाहुनाले आन्दोलनका कारण यात्रालाई रोकेका थिए। ती मध्ये केहीले रिसेड्यूअल पनि गरिरहेका छन,’ उनले भने, ‘तर, पदयात्राका लागि मात्र आउन चाहेका पाहुना भने भित्रिन थालेका छन। अघिल्ला वर्षको यो समयको जस्तो आगमन नभएपनि आन्दोलन लगत्तै रोकिएको आगमनमा ढिलोगतिमा सुधार भईरहेको छ।’
मझेरी रिसोर्टका निर्देशक गुप्त गिरी पनि पदयात्रामा जाने पाहुनाको आगमनमा सकारात्मक संकेत देखिएको बताउँछन। ‘पदयात्राका पाहुनाका कारण पर्यटन क्षेत्रमा केही चलहपहल देखिएपनि घुमघाम र बिदा मनाउन आउने पाहुना भने कम छन,’ उनले भने, ‘धेरै विदेशी पाहुनाले नेपालको यात्राबारे आफ्ना मुलुकले जारी गरेको ट्राभल एडभाइजरीलाई हेरिरहेका छन।’ ट्राभल एड्भाईजरीमा अझै पनि नेपाल यात्राबारे सचेत हुन आग्रह गरिरहेकोले पाहुना आउन डराएको उनले बताए।
‘जेनजी आन्दोलनपछि धेरै पाहुनाले यात्रा रद्द गरेका थिए त्यसपछि विभिन्न मुलुकले आफ्ना नागरिकलाई नेपाल घुम्नका लागि सचेत बनाउँदै ट्राभल एडभाइजरी जारी गरेका थिए,’ उनले भने, ‘ट्राभल एड्भाइजरी नहटाएकोले अझै पनि आउन डराएका छन। ट्राभल एड्भाईजरी सच्चाइएको पनि छैन। त्यसैले सबैखाले पाहुना आउन नखोजेका हुन।’
उनका अनुसार यो बेला आउन चाहेका भारतीय पाहुनाले पनि नेपालको यात्राबारे सोधखोज गरिरहेका छन। ‘आन्दोलनताका कुनैपनि विदेशी पर्यटकलाई नराम्रो व्यवहार भएन, त्यो सकारात्मक थियो। कुनैपनि पर्यटकलाई फरक व्यवहार भएको भए अझै नराम्रो सन्देश फैलिन्थ्यो। तर, अहिले त आन्दोलन र त्यसपछिको अवस्थाका कारण पाहुना आउन डराएका हुन,’ उनले भने।
गिरीका अनुसार अहिले आन्तरिक र केही विदेशीको गरि पोखराका चल्तीका होटलको अकुपेन्सी ५० प्रतिशत हाराहारीमा उक्लेको छ। आन्तरिक पाहुनाको घुमघामको सिजन भएकोले पनि पोखरामा केही चहलपहल बढेको उनले बताए। ‘यो बेला त सतप्रतिशत अकुपेन्सी हुुनुपर्ने बेला हो। तर, अहिले त्यस्तो अवस्था रहेन। आन्तरिक र बाह्य सबैखाले पर्यटनलाई असर गरेकै हो,’ उनले भने, ‘तरपनि विदेशी पाहुनालाई पदयात्राले तानेको छ।’
पदयात्रा क्षेत्रका व्यावसायीका अनुसार अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने विदेशी पाहुनाको आकार आन्दोलन लगत्तै भन्दा अहिले उकालो लाग्न थालेको छ। अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गका व्यावसायी दिलीप गुरुङका अनुसार आन्दोलन लगत्तै पदयात्रा क्षेत्रको अग्रिम बुकिङ कम्तिमा पनि २० प्रतिशत रद्द भएको थियो। तर, अहिले आगमनमा सुधार भएको गुरुङले बताए। उनका अनुसार अहिले पनि दिनमा करिब ६ सय जना पाहुना एबिसी उक्लेका छन। ती मध्ये ४० प्रतिशत आन्तरिक र बाँकी ६० प्रतिशत विदेशी पाहुना छन।
‘जेनजीको आन्दोलनको प्रभाव हेर्दा यति छिट्टै विदेशी पाहुनाको आगमन बढ्नेमा हाम्रो आशंका थियो। तर, हामीले सोचेभन्दा धेरै पाहुना भित्रिएका छन,’ उनले भने, ‘बजार क्षेत्रमा पाहुनाको चहलपहल कम भएपनि पदयात्रा क्षेत्रमा विदेशी पाहुना बढेका छन। पदयात्राका लागि पाहुना आएका छन। तर, सिजन अनुसारको आगमनमा भने आन्दोलनले असर पारेकै हो।’
उनका अनुसार पदयात्रामा आउनका लागि समूहमा रहेर जति संख्याका पाहुनाले बुकिङ गरेका थिए, त्यो संख्या भने कटौती भएको छ। ‘कुनै समूहमा दशजनाले बुकिङ गरेका थिए भने अहिले आउने बेलामा ७–८ जना मात्र आएका छन। बुकिङ गरेको संख्या अनुसार पाहुना भने आएका छैनन, तर, आउँदै नआएको भन्न मिल्दैन,’ उनले भने, ‘बुकिङ गरेजतिको संख्याका पाहुना आएका छैनन। आन्दोलनको असर त परेकै हो।’
आन्दोलनको असर भएपनि सहर भन्दा पदयात्रा क्षेत्र बढी सुरक्षित रहेकोले पनि पाहुनाको घुमघाम बढेको उनले बताए। ‘सहरमा अझै पनि त्रास छ। पदयात्रामा प्राकृतिक रुपमा कुनै समस्या आउँछ की भन्ने डर सधंै रहन्छ। तर, बजारको जस्तो त्रास भने छैन,’ उनले भने, ‘पदयात्रा क्षेत्र शान्त रहने भएकोले पनि पाहुनाको घुमघामको आत्मबल बढेको हो।’
प्रकाशित: २७ आश्विन २०८२ १६:४० सोमबार





