नेपालको विदेशी विनिमय सञ्चिति उल्लेखनीय रूपमा वृद्धि भएको छ। कुल विदेशी विनिमय सञ्चिति २०८३ वैशाख मसान्तसम्म आइपुग्दा ३८.३ प्रतिशतले वृद्धि भई ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ मात्र रहेको थियो।
अमेरिकी डलरमा गणना गर्दा पनि विदेशी विनिमय सञ्चितिमा उल्लेखनीय वृद्धि देखिएको छ। २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड अमेरिकी डलर रहेको सञ्चिति गत वैशाख मसान्तमा २४ प्रतिशतले बढेर २४ अर्ब १९ करोड अमेरिकी डलर पुगेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये सबैभन्दा ठूलो हिस्सा नेपाल राष्ट्र बैंकमै रहेको छ। २०८२ असार मसान्तमा राष्ट्र बैंकमा रहेको विदेशी विनिमय सञ्चिति २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेकोमा २०८३ वैशाख मसान्तमा ३६.६ प्रतिशतले वृद्धि भई ३२ खर्ब ९८ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।
त्यसैगरी नेपाल राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति पनि उल्लेखनीय रूपमा बढेको छ। उक्त सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ रहेकोमा २०८३ वैशाख मसान्तमा ५४.४ प्रतिशतले वृद्धि भई ४ खर्ब ६ अर्ब १७ करोड रुपैयाँ कायम भएको छ।
विदेशी विनिमय सञ्चितिमा भएको वृद्धिलाई अर्थतन्त्रका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ। विशेषगरी विप्रेषण आप्रवाहमा भएको वृद्धि, पर्यटन क्षेत्रको सुधार तथा वैदेशिक मुद्रा आम्दानी बढ्नु यसको प्रमुख कारण मानिएको छ।
राष्ट्र बैंकका अनुसार २०८३ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २०।६ प्रतिशत रहेको छ। नेपाल–भारतबीचको उच्च व्यापारिक कारोबार तथा आर्थिक सम्बन्धका कारण विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको महत्वपूर्ण हिस्सा रहने गरेको छ।
विदेशी विनिमय सञ्चितिमा भएको वृद्धिले मुलुकको आयात धान्ने क्षमता बलियो बनाउनुका साथै बाह्य क्षेत्रको स्थायित्व कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उच्च विदेशी मुद्रा सञ्चितिले बाह्य भुक्तानी सन्तुलन सुधार गर्न, विनिमय दर व्यवस्थापनमा सहजता ल्याउन तथा वित्तीय प्रणालीप्रतिको विश्वास अभिवृद्धि गर्न मद्दत पुग्छ।
प्रकाशित: २६ जेष्ठ २०८३ १७:४२ मंगलबार





