मुलुकको अर्थतन्त्रमा जेन-जी आन्दोलनले धक्का लागिरहेको अवस्थामा अर्थतन्त्रका बाह्य सूचक सकारात्मक देखिएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत भदौ महिनाको तथ्यांक अनुसार विप्रेषण आप्रवाह, वैदेशिक विनिमय सञ्चिति र चालु खाता सकारात्मक देखिएका छन्। कुल वैदेशिक विनिमय सञ्चिति २८ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ। हालको सञ्चिति १६ महिनासम्मका वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।
त्यसैगरी चालु खाता एक खर्ब ३० अर्ब ६९ करोड रुपैयाँ र शोधनान्तरस्थिति एक खर्ब ५३ अर्ब ६८ करोडले बचतमा रहेको छ। त्यसैगरी विदेशबाट आउने रेमिटेन्स आप्रवाहमा उल्लेख्य वृद्धि देभएको छ। विप्रेषण ३३.१ प्रतिशतले वृद्धि भएको छ। भदौ महिनामा मात्र विप्रेषण आप्रवाह एक खर्ब ७४ अर्ब ६७ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।
भदौसम्म सरकारको खर्च एक खर्ब ८० अर्ब १७ करोड र राजस्व परिचालन एक खर्ब ५७ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत र अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब २२ करोड बराबर देखिएको छ। अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन अनुसार गत आवमा कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरिएकामा १५ खर्ब १२ अर्ब ९८ करोड रुपैयाँ अर्थात् ८१.३३ प्रतिशत खर्च भएको छ।
चालु खर्चमा ११ खर्ब ४० अर्ब ६७ करोड रुपैयाँ विनियोजन भएकामा नौ खर्ब ५६ अर्ब ३६ करोड अर्थात् ८३.८४ प्रतिशत खर्च भएको छ। पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ विनियोजन भएकामा दुई खर्ब २३ अर्ब ९४ करोड रुपैयाँ अर्थात् ६३.५६ प्रतिशत खर्च भएको छ।
वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब २८ करोड रुपैयाँ विनियोजन भएकोमा तीन खर्ब ३२ अर्ब ६७ करोड रुपैयाँ अर्थात् ९०.५८ प्रतिशत खर्च भएको प्रतिवेदनमा जनाइएको छ।
गत आर्थिक वर्षमा कुल ११ खर्ब ९६ अर्ब १८ करोड ९८ लाख राजस्व संकलन भएको छ। जसमध्ये कर राजस्व १० खर्ब ४९ अर्ब ८७ करोड ५४ लाख, गैरकर राजस्व एक खर्ब २८ अर्ब ९४ करोड ४८ लाख र अन्य प्राप्ति १७ अर्ब ३६ करोड ९६ लाख रहेको अर्थ मन्त्रालयले जनाएको छ। बजेटमा लक्ष्य गरिएको राजस्व सङ्कलन लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड ३० लाखको तुलनामा ८४.२८ प्रतिशत राजस्व संकलन भएको हो।
गत आर्थिक वर्षमा अनुदान २३ अर्ब ५३ करोड र ऋण एक खर्ब २५ अर्ब ४० करोड गरी कुल एक खर्ब ४८ अर्ब ९३ करोड वैदेशिक सहायता प्राप्त भएको छ। गत आवको कुल वैदेशिक सहायतामध्ये अनुदान १५.८० प्रतिशत र ऋण ८४.२० प्रतिशत बराबर हो। घाटा बजेट परिपूर्तिका लागि गत आवमा सरकारले तीन खर्ब २९ अर्ब ९९ करोड आन्तरिक ऋण एक खर्ब २५ अर्ब ४० करोड बाह्य ऋण गरी कुल चार खर्ब ५५ अर्ब ३९ करोड रुपैयाँ बराबरको सार्वजनिक ऋण परिचालन भएको छ।
प्रकाशित: २९ आश्विन २०८२ १०:३० बुधबार





