३० आश्विन २०८३ शुक्रबार
image/svg+xml
अर्थ

विदेशी मुद्रा सञ्चिति साढे ४० खर्ब

२०.९ महिनाको वस्तु आयात धान्ने, अर्थतन्त्रका बाह्य सूचक थप मजबुत

पछिल्लो समय नेपालको विदेशी मुद्रा (विनिमय) सञ्चिति बढेर साढे ४० खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को भदौसम्म दुई महिनाको विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको हो। यसले अर्थतन्त्रका बाह्य सूचक थप मजबुत भएको देखाएको छ। आन्तरिक अर्थतन्त्र सुस्त रहे पनि बाह्य सूचक थप बलियो स्थितिमा पुगेसँगै यसले अब २०.९ महिनाको वस्तु आयात धान्ने छ। दुई महिनाको वित्तीय स्थितिअनुसार चालु खाता, शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चितिको अवस्था अघिल्लो महिनाको भन्दा थप मजबुत देखिएको छ।

गत असारको तुलनामा गत भदौमा विदेशी मुद्रा सञ्चिति ४.३ प्रतिशतले बढेको छ। गत असारमा यस्तो सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ थियो। गत भदौसम्म अमेरिकी डलरमा यस्तो सञ्चिति २६ अर्ब ४८ करोड पुगेको छ।

असारमा २५ अर्ब ३१ करोड डलर थियो। भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.३ प्रतिशत छ। चालु आव २०८३/८४ को दुई महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २०.९ महिनाको वस्तु आयात र १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको दाबी छ।

चालु आवमा राष्ट्र बैंकले कम्तीमा सात महिनालाई आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति कायम गर्ने लक्ष्य तय गरेको छ। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहमा सुधार आएको छ। चालु आवको साउनमा २३ अर्ब ५८ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो भने भदौसम्म सो कर्जा प्रवाह बढेर ९३ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ।

चालु आवको भदौसम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशत अर्थात् ९३ अर्ब ५२ करोडले वृद्धि भई कुल ५९ खर्ब ५० अर्ब ५८ करोड पुगेको छ। गत आवको सोही अवधिमा यस्तो कर्जा ०.९ प्रतिशतले बढेर ४९ अर्ब २४ करोड पुगेको थियो।

वार्षिक बिन्दुगत आधारमा भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जा ७.३ प्रतिशतले बढेको छ। भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.५ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

गत आवको सोही महिनामा यस्तो अंश क्रमशः ६२.८ प्रतिशत र ३७.२ प्रतिशत थियो। चालु आवको सोही अवधिमा निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा १.७ प्रतिशत, विकास बैंकहरूको ०.६ प्रतिशत र वित्त कम्पनीहरूको १.४ प्रतिशतले बढेको छ।

भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्तिको सुरक्षणमा १५.६ प्रतिशत छ भने घरजग्गा धितो सुरक्षणमा ६२.८ प्रतिशत छ। भदौ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १५.१ प्रतिशत र ६४.३ प्रतिशत थियो।

आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये खनिज क्षेत्रतर्फको कर्जा १०.४ प्रतिशत, यातायात उपकरण उत्पादन तथा मर्मत क्षेत्रतर्फको कर्जा ७.६ प्रतिशत, धातुजन्य उत्पादन, यन्त्र र विद्युतीय सामान उत्पादन तथा मर्मत क्षेत्रतर्फको ७.३ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ३.७ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा २.७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

यसैगरी थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २.५ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.१ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १.९ प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले बढेको छ। वित्त, बिमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा ४.७ प्रतिशत र कृषि क्षेत्रतर्फको कर्जा २.२ प्रतिशत घटेको राष्ट्र बैंकले जनाएको छ।

चालु आवको भदौमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह भएको कर्जामध्ये ट्रस्ट रिसिट कर्जा ९.४ प्रतिशत, विपन्न वर्ग कर्जा ४.७ प्रतिशत, आवधिक कर्जा १.६ प्रतिशत, रियलस्टेट कर्जा १.४ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा १.४ प्रतिशत र मार्जिन प्रकृतिको कर्जा ०.८ प्रतिशतले बढेको छ। त्यस्तै क्यास क्रेडिट कर्जा १.३ प्रतिशत, अधिविकर्ष कर्जा १.२ प्रतिशत र हायर पर्चेज कर्जा ०.१ प्रतिशतले घटेको देखिएको छ।

महँगी बढ्यो

चालु आवको भदौमा महँगी दर बढेर (उपभोक्ता मुद्रास्फीति) ६.३४ प्रतिशत कायम भएको छ। साउनमा यस्तो मूल्यवृद्धि ५.९६ प्रतिशत थियो। गत आवको भदौमा महँगी दर (उपभोक्ता मुद्रास्फीति) जम्मा १.८७ प्रतिशत थियो। चालु आवको साउन र भदौमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.५४ प्रतिशत छ। गैरखाद्य तथा सेवा समूहको ५.६९ प्रतिशत छ।

अघिल्लो आवको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि १.३४ प्रतिशतले ऋणात्मक थियो भने गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ३.७० प्रतिशत थियो। चालु आवको भदौमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यु तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १६.६८ प्रतिशत, फलफूलको १५.९९ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको १२.१४ प्रतिशत, माछा तथा मासुको ७.३४ प्रतिशत, तरकारीको ७.०७ प्रतिशत र मरमसलाको ६.७१ प्रतिशतले बढेको छ।

यसैगरी गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १२.७७ प्रतिशत, मदिराजन्य पेय पदार्थको ८.८३ प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ७.०६ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ६.०१ प्रतिशत र सुर्तीजन्य पदार्थको ५.४५ प्रतिशतले बढेको छ।

चालु आवमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ६.७८ प्रतिशतले र सहरी क्षेत्रको ६.१९ प्रतिशतले बढेको छ। भदौमा प्रदेशगत आधारमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति सबैभन्दा बढी मधेशमा ७.४८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिममा ५.१६ प्रतिशत छ।

चालु आवको भदौमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२८ प्रतिशत, तराईको ६.८९ प्रतिशत, पहाडको ६.४१ प्रतिशत र हिमालको ५.६९ प्रतिशत छ। भदौमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.०८ प्रतिशत छ। गत आवको सोही महिनामा यस्तो मुद्रास्फीति २.१० प्रतिशत थियो।

रेमिट्यान्स बढ्यो

चालु आवको भदौ मसान्तसम्म रेमिट्यान्स (विप्रेषण आप्रवाह) २३.९ प्रतिशतले वृद्धि भई ४३६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो। भदौमा विप्रेषण आप्रवाह २२१ अर्ब ३१ करोड रह्यो। अघिल्लो आवको सोही महिनामा विप्रेषण आप्रवाह १७४ अर्ब ६७ करोड रहेको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.५ प्रतिशतले बढेर २ अर्ब ८५ करोड पुगेको छ। अघिल्लो आवमा  यस्तो आप्रवाह २७६ प्रतिशतले बढेको थियो।  

प्रकाशित: ३० आश्विन २०८३ ०६:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App