२० मंसिर २०८२ शनिबार
image/svg+xml
अर्थ

कोटेश्वरमा फ्लाई ओभर र अण्डरपास: पौने ३२ अर्बको ऋण सम्झौता

सरकारले कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गर्न जापान सरकारसँग ऋण सम्झौता गरेको छ। नेपाल र जापानबिच कोटेश्वर चोक सुधार आयोजना (कोटेश्वर इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट) का लागि ३१.७६ अर्ब नेपाली रुपैयाँबराबरको ऋण सम्झौता भएको हो।

काठमाडौंमा आयोजित कार्यक्रममा दुई देशका प्रतिनिधिहरूले सम्झौतापत्र आदानप्रदान गरी अन्तिम रूप दिएका हुन्। जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) को सहयोगमा सञ्चालन हुने यो आयोजनाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा दीर्घकालीन परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

फ्लाई ओभर तथा अण्डर पास निर्माणपछि काठमाडौं, ललितपुर, भक्तपुर र बिपी राजमार्ग हुँदै चल्ने सवारीसाधनको आवागमन सहज हुने तथा ट्राफिक जाम न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुग्ने जनाइएको छ। उक्त योजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागमार्फत कार्यान्वयन गरिने भएको छ।

बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा कोटेश्वर चोक सुधार आयोजनाको लागि अर्थमन्त्री रामेश्वर प्रसाद खनालको उपस्थितिमा ऋण सम्झौतामा हस्ताक्षर गरिएको छ। जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्ब जापानी येन (करिब ३१.७६ अर्ब ) बराबरको ऋण सहायता उपलब्ध गराएको छ। मन्त्रालयका अनुसार जाइका मार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ०.२ प्रतिशत ब्याजदर रहनेछ।

ऋण सहायतासँग सम्बन्धित सम्झौतामा अर्थ सचिव डा. घनश्याम उपाध्याय र जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरेका थिए। ऋण सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सहसचिव डा. धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गरेका थिए।

हस्ताक्षरपछि जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकी, महामहिम राजदूत मायदा तोरु तथा अर्थ मन्त्री रामेश्वरप्रसाद खनालले बोल्दै द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त  गरेका थिए।

जापानी राजदूतले जापानको सहुलियतपूर्ण ऋण सहयोगमा कार्यान्वयन हुने कोटेश्वर चोक सुधार आयोजना कार्यान्वयनबाट उपत्यकाको यातायात व्यवस्थामा उल्लेख्य सुधार बताए।

अर्थ मन्त्री खनालले कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल–जापान सहकार्यअन्तर्गत काठमाडौं उपत्यकाको महत्त्वपूर्ण स्थानमा ट्राफिक जाम व्यवस्थापनमा सुधार गर्ने उद्देश्यले अघि बढाइएको यो परियोजनाले राजधानीको यातायात व्यवस्थापनमा दीर्घकालीन परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, जापानी दूतावास तथा जाइका नेपालका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। मन्त्रालयका अनुसार गत  भदौ २ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोटेश्वमा दुईवटा फ्लाइओभर र एउटा सुरुङमार्ग बनाउने प्रयोजनका लागि जाइकाबाट सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको थियो।

कोटेश्वरमा फ्ललाई ओभर र अण्डर पास

जाइकाले फ्लाइओभर र सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन गरिसकेको छ। जसअनुसार तीनकुने पुलबाट कोटेश्वरको मुनिभैरव मन्दिर नजिकसम्म करिब ६ सय मिटर लामो फ्लाइओभर निर्माण गरिनेछ। मुनिभैरव मन्दिर नजिकैबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वपट्टिको किनारा (जडीबुटी) सम्म सात सय मिटर लामो सुरुङमार्ग निर्माण गरिनेछ।

जडिबुटी चोकबाट मनोहरा खोलाको पुलसम्म जोड्नेगरी दुई सय ३८ मिटर लामो अर्को फ्लाइओभर निर्माण गरिने विभागले जनाएको छ। मन्त्रालयका अनुसार  कोटेश्वर क्षेत्रमा निर्माण गरिने फ्लाइओभर ग्वार्को चोकमा बनेको जस्तो मोडलको हुने छैन। बिचबिचमा पिलर भएका फ्लाइओभर निर्माण गरिने विभागका इन्जिनियरले जनाएका छन्। कोटेश्वर क्षेत्रमा निर्माण हुने सुरुङमार्ग भने कट एन्ड कभर मोडलको हुनेछ।

नागढुंगामा सुरुङमार्ग बनाउन खनेको जस्तो गरी कोटेश्वरमा खनिने छैन। ‘होचो जमिन भएकाले कोटेश्वरमा कट एन्ड कभर मोडल अपनाइने भएको हो’, मन्त्रालयका एक कर्मचारीले भने।

जाइकाले सन् २०३३ को अगस्टसम्म फ्लाइओभरको सबै काम सक्ने जनाएको छ। जाइकाले ऋण सम्झौतादेखि निर्माण पूरा नहुँदासम्मको विस्तृत कार्यतालिका बनाएको छ।

विस्तृत कार्यतालिका अनुसार सन् २०२५ सेप्टेम्बरमा ऋण सम्झौता, डिसेम्बरमा ऋण सम्झौताको प्रभावकारी कार्यान्वयन, २०२६ मेमा परामर्शदाताको नियुक्ति, २०२६ जुनदेखि २०२७ मेसम्म परामर्शदाताले विस्तृत डिजाइन तयार गर्ने छ। २०२७ जुनमा ठेकेदार कम्पनी छनोट, २०२८ अप्रिलमा ठेकेदार कम्पनीसँग सम्झौता र अगस्ट २०३३ मा सबै काम पूरा गर्ने जाइकाले जनाएको छ।

मन्त्रालयका अनुसार कोटेश्वर चोकमा सुरुङमार्ग बनाउन नागरिक उड्डयन प्राधिकरण (क्यान) सकारात्मक देखिएको छ। मन्त्रालयका अनुसार कोटेश्वरमा जाम घटाउन जाइकाले विभिन्न विकल्पमा पूर्वसम्भाव्यता अध्ययन गरेको थियो।

प्रकाशित: १८ मंसिर २०८२ ०९:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App