११ आश्विन २०८३ आइतबार
image/svg+xml
अर्थ

बाढीले चीनसँगको व्यापारिक नाकामा क्षति, भारतमाथि निर्भरता बढ्ने चिन्ता

फाइल तस्बिर

नेपाल-चीन व्यापारको मुख्य उत्तरी नाका रसुवागढीमा बाढीले ठुलो क्षति पुर्‍याएपछि चीनसँगको व्यापार प्रभावित भएको छ।

यसले भारतमाथिको नेपालको आर्थिक निर्भरता अझ बढाउन सक्ने विश्लेषकहरूले बताएका छन्। १० भदौमा आएको बाढीले रसुवागढीको भन्सार नाका र काठमाडौंबाट सीमा जोड्ने १४५ किलोमिटर सडकको ४५ किलोमिटर भागमा क्षति पुर्‍याएको थियो। 

भन्सार जाँचपास रोकिएपछि चिनियाँ विद्युतीय सवारी, इलेक्ट्रोनिक्स, कपडा लगायतका सामान आयात गर्ने व्यापारीले वैकल्पिक मार्ग खोज्नुपरेको छ।

नेपाल ट्रान्स-हिमालय सीमा वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीका अनुसार ७६ जना व्यवसायी र उनीहरूका कर्मचारी बेपत्ता छन्। बाढीले करिब २०० कन्टेनर पनि बगाएको छ। तीमध्ये करिब ७० कन्टेनरको भन्सार शुल्कसमेत तिरिसकिएको थियो। उनले करिब एक अर्ब रुपैयाँ क्षति भएको अनुमान गरेका छन्।

नेपालले आफ्नो ६५ प्रतिशत अन्तर्राष्ट्रिय व्यापार भारतसँग गर्छ। चीनसँगको व्यापार बढाउने प्रयास भए पनि व्यापारमा ठुलो असन्तुलन छ। गत आर्थिक वर्षमा नेपालले चीनबाट ४२५.२४ अर्ब रुपैयाँ बराबरका सामान आयात गर्दा १.८९ अर्ब रुपैयाँ बराबरको सामान मात्र निर्यात गरेको भन्सार विभागले जनाएको छ।

पूर्वाधार इन्जिनियर तथा नीति विश्लेषक सूर्यराज आचार्यले उत्तरी नाकामा बारम्बार अवरोध हुँदा भारतमाथिको निर्भरता बढ्न सक्ने बताए। ‘यस्ता घटना र आपूर्ति शृंखलामा आउने अनिश्चितताले नेपाललाई भारतसँगको व्यापारमा अझ बढी निर्भर बनाउँछ,’ उनले निक्केई एसियालाई भने।

नेपालका तीन प्रमुख उत्तरी व्यापारिक मार्गमध्ये अहिले रसुवागढीमा बाढीका कारण समस्या छ। तातोपानी नाका पनि बन्द छ भने कोरला नाकाबाट दैनिक दुई-तीन वटा मात्र कार्गो सवारी साधन आवतजावत गरिरहेका छन्। निक्केई एसियाबाट

प्रकाशित: ११ आश्विन २०८३ ०८:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App