१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

बिमामार्फत किसानले पाए दुई अर्ब ६५ करोड भुक्तानी

किसानले कृषि बाली तथा पशुपन्छी बिमामार्फत दुई अर्ब ६५ करोड ९९ लाख रुपैयाँ भुक्तानी पाएका छन् । किसानले गत आर्थिक वर्ष २०८१/८२ मा सरकारको अनुदान रकम र बिमा कम्पनीमार्फत भुक्तानी पाएका हुन् ।  

नेपाल बिमा प्राधिकरण बाली लेखा महाशाखाका प्रमुख निर्मल अधिकारीका अनुसार गत आवमा किसानले आठ करोड ८४ लाख रुपैयाँ बालीतर्फ र एक अर्ब २५ करोड रुपैयाँ पशुपन्छीतर्फ गरेर एक अर्ब ३३ करोड ८४ लाख रुपैयाँ सरकारको अनुदानमार्फत बिमितले दाबी भुक्तानी रकम पाएका छन् ।  

बिमा कम्पनीमार्फत बालीतर्फ किसानले २१ करोड ९१ लाख रुपैयाँ र पशुपन्छीतर्फ एक अर्ब २० करोड २४ लाख रुपैयाँ गरेर एक अर्ब ४२ करोड १५ लाख रुपैयाँ दाबी भुक्तानी रकम पाएको उनले बताए ।  

बालीतर्फका एक हजार एक सय २३ जना र पशुपन्छीतर्फका २२ हजार पाँच सय ६० जना गरेर २३ हजार ६ सय ६८ जना किसानले दाबी भुक्तानी रकम पाएका थिए ।  

सरकारले कृषि बिमालाई प्राथमिकतामा राख्दै बिमितलाई कृषि तथा पशुपन्छी बिमाको बिमा शुल्कमा ५० देखि ८० प्रतिशतसम्मको अनुदान रकम प्रदान गर्दै आएको छ ।  

गत आवमा बिमित एक लाख ६२ हजार १० जना रहेकोमा बिमांक (वस्तुको मूल्य) तीन खर्ब ६ अर्ब ८४ करोड रुपैयाँ छ भने बिमा शुल्क एक अर्ब ७० करोड रुपैयाँ छ ।  

बाली र पशुपन्छी बिमा गर्नेहरूमध्ये २०७९/८० मा बिमित एक लाख ८८ हजार आठ सय ९३ जना रहेकामा बिमांक (वस्तुको मूल्य) पाँच खर्ब एक अर्ब १० करोड रुपैयाँ रहेको थियो भने बिमा शुल्क दुई अर्ब ३१ करोड रुपैयाँ थियो ।

सोही आर्थिक वर्षमा बिमितले सरकारमार्फत अनुदान रकम एक अर्ब ८५ करोड रुपैयाँ पाएका छन् भने बिमा कम्पनीमार्फत एक अर्ब ८४ करोड रुपैयाँ पाएका थिए । सोही रकम पाउने दाबी भुक्तानीको संख्या ३७ हजार नौ सय २१ छ ।  

यस्तै आर्थिक वर्ष २०८०/८१ मा बिमित एक लाख ५६ हजार एक सय २१ जना रहेकामा बिमांक (वस्तुको मूल्य) चार खर्ब दुई अर्ब १४ करोड रुपैयाँ छ भने बिमा शुल्क दुई अर्ब तीन करोड रुपैयाँ छ । यस आवमा बिमितले सरकारमार्फत अनुदान रकम एक अर्ब ६२ करोड रुपैयाँ पाएका थिए भने बिमा कम्पनीमार्फत एक अर्ब ५८ करोड रुपैयाँ पाएका थिए । सो रकम पाउने दाबी भुक्तानीको संख्या ३३ हजार एक सय २८ छ ।  

बिमा लेखा महाशाखाका प्रमुख अधिकारीका अनुसार प्रत्येक वर्ष बिमा गराउने बिमितहरूको संख्या बढिरहेको छ । सरकारले नियमित अनुदान दिँदा र बिमितले पनि बिमा कम्पनीमार्फत दाबी भुक्तानी रकम समयमै पाउन थालेकाले गर्दा पनि बिमा गराउनेको संख्या बढेको उनले बताए ।  

बिमा गराएको एक वर्षमै दाबी भुक्तानी रकम पाउने भएपछि अरू किसानले पनि बिमा गरेपछि रकम पाइन्छ भन्ने मानसिकता विकास भएकाले गर्दा पनि बिमितको संख्या बढेको उनको भनाइ छ ।  

किसानले बिमाको महत्त्व बुझ्दै जान थालेकाले गर्दा पनि बिमातर्फ आर्कषण बढेको जनाइएको छ । बिमा सम्बन्धी बिमा कम्पनी र प्राधिकरणले संयुक्त रूपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको नेपाल बिमा प्राधिकरणले जनाएको छ ।

प्रकाशित: २९ मंसिर २०८२ २१:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App