९ चैत्र २०८२ सोमबार
image/svg+xml
अर्थ

वर्षा भएपछि खेतबारीमा व्यस्त किसान

वर्षा भएपछि जमिन बाँझो फुटाउन खेत जोत्दै किसान । तस्विरः महेश्वर चामलिङ राई/नागरिक

लामो समयपछि वर्षा हुँदा उदयपुरे किसानहरु खुसी भएका छन् । खासगरि उच्च पहाडी भेग (समुद्री सतहदेखि १५ सयदेखि २५ सय मिटरसम्म)मा आलु र मकै लगाउने बेला र तराई भेगमा चैते धान लगाउने सिजन भएकाले वर्षा हुँदा किसानलाई खुसी लागेको हो ।

निकै समयदेखि वर्षा नहुँदा लगभग आलु र मकै छर्न, चैते धानको व्याड राख्न ढिलाई भईरहेकै बेला लगातार २÷३ दिन वर्षा हुँदा किसानलाई कामको चटारो बढेको छ । उच्च पहाडी भेगमा माघ अन्तिमदेखि फागुन र चैत पहिलो साताभित्र आलु र मकै बाली लगाई सक्नुपर्छ । तराईभेगमा चैते धान रोप्नेका लागि पनि यही महिना उत्तम समय हो । यही बेला वर्षा नभईदिदा किसान चिन्तित भईरहेकै बेला प्रकृतिले राहत महसुस गराएको हो ।

उच्च पहाडी भेगका किसान वर्षा भएपछि खेत बारीमा आलु रोप्न र मकै छर्न व्यस्त हुन थालेका छन् । ‘झण्डैझण्डै ढिला भईसक्याथ्यो, अहिले पनि पानी नपरेको भए यो वर्ष आलु र मकै फल्ने आसै मर्न लागेको थ्यो’ रौतामाई १ माझखर्क ग्याल्बु शेर्पाले भने ‘धन्न पानी पर्यो, यसले त हामीलाई धेरै पो गुण गरेको छ ।’ रौतामाईको भालेबास, माझखर्क, डहर, चित्रेथाम तथा लिमचुङबुङ गाउँपालिकाका नगरे, दोबाटे, भोयोचुङ, पाप्रे र माथिल्लो बाराहाजस्तै ताप्ली गाउँपालिकाका शिखरपुर, इनामे, ताप्ली पोखरी, चिसापानीलगायत क्षेत्र आलु फल्ने उर्बर जमिन भएका ठाउँहरु हुन् ।

उचित समयमा पानी परेपछि त्यसभेगका किसान धमाधम आलु र मकै छर्न थालेका छन् । यतिखेर पनि वर्षा नभएको भए फुक्कै माटोमै मकै र आलु रोप्न बाध्य हुने अवस्था रहेको अर्का किसान मोहन राईले बताए । वर्षेनी ४५ रोपनीभन्दा बढी जमिनमा आलु र मकै सँगै फलाउने राईलाई वर्षाले अहिले विहान झिसमिसेदेखि साँझ आँखा देखिन्जेल बारीमा खट्ने अवस्थामा पुर्याएको छ । दुई छोरा विदेश रहेका उनका श्रीमति र दुई बुहारीलाई सँगै काममा खटाउँदा पनि साता १० दिनसम्म यत्तिकै व्यस्त भए मात्र काम सकिने बताए । 

नगरेका गम्बु शेर्पालाई पनि अहिले उस्तै चपेटा छ । पानी पर्न थालेदेखि नै धमाधम आलु र मकै छर्न चटारोमा परेका उनका अनुसार त्यस भेगका स्थानीयको वर्षे बाली र मुख्य आमदानी नै आलु र मकै भएकाले यो अवसर गुमाउनु भनेको भाग्यमै खोट लाग्नु सरह हुन्छ । यतिखेर मौसमले साथ दिएन भने आउँदो वर्षभरि परिवार भोकै बस्नुपर्ने अवस्था आउँने भएकाले सबै मिलेर खटिरहेको शेर्पाले बताए । 

मध्ये पहाडी भेग (८ सयदेखि १५ सय मिटरसममको कक्षार)क्षेत्रमा पनि अव मकै छर्ने बेला नजिकिदै गरेकाले बारी बाँझो फुटाउने, गोबर मल (कम्पोष्ट) लगाउने बेला छ । यतिखेर बाँझो जोतेन वा मल छरेन भने बैशाखमा मकै छर्दा राम्रो उत्पादन नहुने किसानहरु बताउँछन् । लिमचुङबुङ ५ जाँतेका काईला राई वर्षा भएपछि बाँझो जोत्न गोरु नारेर बारीमा रमाउन व्यस्त छन् । वर्षा भएपछि बाँझो बारी कमलो हुने भएकाले यै बेला मल छरेर बाँझो जोत्ने गर्नुपर्छ नत्र हावाली मल उडाउने चिन्ता उनलाई छ ।

मध्ये पहाडी भेगमा मकै छर्न भने अर्को छिमलको पानी पर्नुपर्छ । ‘हाम्रो पहाडी भेगका किसानलाई यो वर्षाले बाँझो जोत्न र मल पुर्न मात्र काम लाग्छ’ ताप्लीका गुरु पोखरेल भन्छन् ‘मकै छर्ने बेला भईहालेको छैन, मकै छर्न बैशाख पहिलो सातादेखि अन्तिमसम्मको समय हो, चरणको वर्षा वर्षा त्यसबेला चाहिन्छ ।’ 

यता तराई भेगमा भने यो वर्षाले चैते धान रोप्ने किसानहरुको दैनिकी व्यस्त पारेको छ । चैत अन्तिमसम्म वा बैशाख पहिलो साताभित्र रोप्नुपर्ने चैते धानका लागि यो वर्षाले व्याड राख्न सहयोग गरेको छ । सिँचाई सुविधा भएको खेतमा व्याड हुर्कन लागे पनि सिँचाई नपुगेको खेतीवाल किसानलाई यो आकाशे पानीकै भरमा व्याड राख्नेदेखि रोपाई गर्नेसम्म गर्नुपर्ने हुन्छ । त्रियुगा नगरपालिका ८ का किसान समुन्द्र दनुवार वर्षा भएप्छि हतार हतार चैते धानको व्याड राख्ने काम खटेका छन् । 

उदयपुरको सबै भागमा सिँचाई नपुगेका कारण आकाशे पानीको भरमा खेती गर्नेहरुर्लाइ यो वर्षाले खुसी बनाएको हो ।

प्रकाशित: ९ चैत्र २०८२ १९:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App