१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

सुदूरपश्चिम सरकारको बजेट खर्च घट्यो

सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिकमा खर्च घटेको छ । पोहोरभन्दा ३.०७ प्रतिशतले बजेट खर्च कम भएको हो । गत आर्थिक वर्ष २०८१/८२ को प्रथम चौमासिकको तुलनामा चालु आवमा बजेट खर्च कम देखिएको हो । प्रदेश सरकारले कम खर्च गरेको बजेट साउनदेखि कात्तिक मसान्तसम्म रहेको प्रदेश लेखा नियन्त्रक कार्यालय सुदूरपश्चिम प्रदेशले जनाएको छ ।  

प्रदेश लेखा नियन्त्रक कार्यालय सुदूरपश्चिम प्रदेशका प्रदेश लेखा नियन्त्रक बासुदेव जोशीका अनुसार प्रदेश सरकारले चालु आवको विनियोजित बजेटमध्ये प्रथम चौमासिकमा ५.५६ प्रतिशत बजेट खर्च भएकोमा गत आवमा विनियोजित बजेटमध्ये प्रथम चौमासिकमा ८.६३ प्रतिशत बजेट खर्च भएको थियो । जुन खर्च प्रगति गत आवको प्रथम चौमासिकको तुलनामा चालु आवको प्रथम चौमासिकमा ३.०७ प्रतिशत कम बजेट खर्च भएको उनले बताए  ।  

प्रदेश सरकारले प्रथम चौमासिकमा चालुतर्फ एक अर्ब ५७ करोड २८ लाख ५५ हजार रुपैयाँ खर्च गरेकोमा पुँजीगततर्फ एक अर्ब २८ करोड १८ लाख १४ हजार रुपैयाँ खर्च गरेको छ । खर्च प्रगति चालुतर्फ ११.८३ प्रतिशत छ भने पुँजीगत तर्फ १.४२ प्रतिशत रहेको छ । प्रथम चौमासिकमा कुल खर्च दुई अर्ब २७ करोड ५० लाख रुपैयाँ रहेको छ ।  

यसैगरी प्रदेश सरकारले गत आवमा विनियोजित बजेटमध्ये प्रथम चौमासिकमा चालुतर्फ एक अर्ब ५५ करोड ३८ लाख २२ हजार रुपैयाँ खर्च गरेकोमा पुँजीगततर्फ एक अर्ब १७ करोड ६५ लाख ४४ हजार रुपैयाँ खर्च गरेको उनले बताए । जुन खर्च प्रगति चालुतर्फ १२.०९ प्रतिशत छ भने पुँजीगततर्फ ६.२७ प्रतिशत रहेको छ । प्रथम चौमासिकमा कुल खर्च दुई अर्ब ७३ करोड ३६ लाख रुपैयाँ रहेको छ ।  

यस्तै प्रदेश सरकारले चालु आवमा चालुतर्फ १३ अर्ब ५२ करोड ६१ लाख रुपैयाँ विनियोजन गरेकोमा पुँजीगततर्फ (विकासको काममा खर्च हुने बजेट) १९ अर्ब ८२ करोड ५२ लाख रुपैयाँ विनियोजन गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

गत आवमा प्रदेश सरकारले चालुतर्फ १२ अर्ब ८५ करोड ७४ लाख रुपैयाँ विनियोजन गरेकोमा पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख रुपैयाँ विनियोजन गरेको थियो । प्रदेश सरकारले गत आव र चालु आवमा वित्तीय व्यवस्थातर्फ १० करोड रुपैयाँ विनियोजन गरेको थियो ।  

प्रदेश सरकारले चालु आवमा ३३ अर्ब ३६ करोड १३ लाख रुपैयाँ विनियोजन गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।  

जेनजी आन्दोलनपछि कार्यालयहरूमा क्षति पुग्नुका साथै प्रदेश सरकारले विभिन्न खर्च कटौती गरेकाले गर्दा पनि खर्च कसरी गर्न भन्ने अन्यौलता सिर्जना हुँदा कम बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक जोशीले बताए ।  

उनले भने, ‘बजेट कटौती गर्दा खेरी अन्यौलता भयो कुन–कुनमा खर्च गर्न कुन–कुनमा नगर्नेभन्दा बजेट खर्च कम भएको हो । दोस्रो चौमासिकदेखि खर्च कटौती भएका कार्यक्रमबाहेक अरूमा बजेट खर्च हुन्छ । त्यसपछि बजेट खर्चको आयतन पनि बढ्छ ।’

गत आवको प्रथम चौमासिकको तुलनामा चालु आवमा कम बजेट खर्च हुनुको कारण यही नै रहेको जोशीको भनाइ छ । प्रथम चौमासिकमा बजेट खर्च कम नै हुने गरेको उनले बताए । आन्दोलनलगायत विभिन्न कारणले गर्दा गत आबको जति बजेट खर्च नभए पनि यत्तिको बजेट खर्च हुनु पनि सन्तोषजनकनै रहेको उनले बताए ।

 

प्रकाशित: २७ मंसिर २०८२ २०:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App