बागलुङ नगरपालिका-१ रामरेखास्थित बांगेचौर खेलमैदानमा बागलुङ महोत्सव जारी छ। महोत्सवको विभिन्न व्यापारिक स्टलहरूको सुरुवातमै ‘मेड इन बागलुङ’ को ब्यानरमुनि विभिन्न स्थानीय उत्पादन राखिएको छ।
‘मेड इन बागलुङ’ को पहिलो स्टलमा बडिगाड गाउँपालिका-७ भिमगिठेका लोकबहादुर केसी महोत्सवमा आएका व्यक्तिहरूलाई आफूले ल्याएका स्थानीय उत्पादनबारे जानकारी गराउँदै छन्।
‘यो एकदमै लोकल र अर्ग्यानिक मह हो, मौरीले चिउरीको फूलबाट रस लिएर बनाएको मह, महको कहिले पनि म्याद जान्दैन। जहिले प्रयोग गरे पनि हुन्छ,’ उनी जिज्ञासुको जवाफ मेटाउँदै भन्छन्।
बडिगाड गाउँपालिकाभित्रका विभिन्न ठाउँमा उत्पादन भएका वस्तुहरू जम्मा गरेर केसी बागलुङ महोत्सव आएका छन्।
‘बडिगाड गाउँपालिकाभित्रका विभिन्न वडामा उत्पादन भएका वस्तुहरू सबै लिएर आएको छु,’ उनले भने, ‘अर्ग्यानिक मह, लोकल घिउ, अचार, भागो, सिस्नोको धूलो, दुनाटपरी, कोदोको पिठो, टिमुर, किवीलगायतका वस्तुहरू सबै हाम्रो पालिकाभित्र उत्पादन भएका छन्।’
बडिगाड-८ मा उत्पादन भएको किवी, भागो, टिमुर, बडिगाड-७ मा उत्पादन भएको कोदोको पिठो, मह, दुनाटपरी, बडिगाड-५ मा उत्पादन भएको घिउ लिएर महोत्सवमा आएको उनले सुनाए।
‘यी सबै लोकल र अर्ग्यानिक उत्पादन हुन, यसमा कुनै मिसावट छैन,’ उनले भने, ‘हामीले कम्पनी दर्ता गरेर सानो सानो लगानीमा व्यावसायिक उत्पादन सुरु गरेका छौँ। त्यसका लागि पालिकाले पनि सहयोग गरेको छ।’ पालिकाभित्र उत्पादन भएका वस्तुहरूको संकलन गरेर पालिकाले नै छनोट गरेर आफूलाई महोत्सवमा पठाएको केसीले बताए।
‘सबै उत्पादनहरू गाउँपालिका नै संकलन गरेर मलाई नै जिम्मा दिएर यहाँ ल्याएको हो,’ उनी भन्छन्, ‘यहाँको खानबस्नको खर्च गाउँपालिकाले दिएको छ। स्टल महोत्सव आयोजकले निःशुल्क उपलब्ध गराएको छ।’
गाउँमा उत्पादन गरिएका वस्तुहरू गाउँबाटै बिक्री हुने गरेको उनी बताउँछन्। ‘अहिले नै ठुलो मात्रामा उत्पादन गरिएको छैन, माग अनुसारको सामग्री उत्पादन हुन्छ,’ उनले भने, ‘गाडीबाट पठाउँछौँ, नजिकमा आफै पुर्याएर बजारीकरण गर्ने गरेका छौँ। अहिलेसम्म राम्रै छ। घरबाटै पनि बिक्री हुन्छ।’
उनका अनुसार चिउरीको रसबाट उत्पादन भएको मह प्रतिकिलो एक हजार पाँच सय रुपैयाँ, लोकल घिउ एक हजार चार सय रुपैयाँ किलो बिक्री हुन्छ। स्थानीय उत्पादनको सामग्री उत्पादन प्याकेजिङ ब्रान्डिङका लागि गाउँपालिकाले पनि सहयोग गरेको छ।
‘हामीलाई गाउँपालिकाले सहयोग गरेको छ, तालिम दिने, लगानीका लागि पनि अनुदान दिने काम गरेको छ,’ उनी भन्छन्, ‘हाम्रा सबै उत्पादनहरू दर्ता भएका छन्। लेबलिङ गरेर मात्रै बिक्री गर्ने गरेका छौँ।’
स्थानीय उत्पादनको बजारीकरणमा पनि गाउँपालिकाले सहयोग गरेको उनले बताए। ‘हाम्रा सामग्रीहरू बिक्री भएन भने पनि गाउँपालिकाले किनिदिन्छ, पालिकाको कार्यक्रममा दुनाटपरी प्रयोग गर्ने, अन्य उत्पादनहरू पनि पाहुनालाई कोसेली उपहार दिने गरेको छ,’ उनले भने।
बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले नागरिकलाई उद्यमसँग जोड्न सुरुवाती प्रवेश तालिम र स्तरीकरण तालिम दुवै प्रदान गरिएको बताइन्।
‘सुरुमा काम सुरु गर्न चाहनेका लागि सुरुवाती तालिम दिन्छौँ, त्यो तालिमबाट सिकेर काम सुरु गरेपछि फेरि स्तरीकरण तालिम पनि दिने गरेका छौँ,’ उनले भनिन्, ‘उद्यमीहरूलाई अनुदान र आवश्यक औजार उपकरण प्रदान गर्ने गरेका छौँ।’
स्थानीय उत्पादनका बस्तुलाई बजारीकरणका लागि पनि गाउँपालिकाले पहल गरिरहेको उनले सुनाइन्।
बागलुङ जिल्लाभर उत्पादन भएका वस्तुहरूको विक्री वितरण, प्रवर्द्धन र बजारीकरणका लागि ‘मेड इन बागलुङ’ को अवधारणा अनुसार बागलुङ महोत्सवमा निःशुल्क स्टल उपलब्ध गराएको ‘मेड इन बागलुङ’ कार्यक्रमका संयोजक सुदिपसागर कँडेलले बताए।
‘बागलुङ जिल्लाका १० वटै पालिकामा उत्पादन भएका स्थानीय उत्पादन, कृषि उपजको प्रदर्शनी र बिक्री वितरणका लागि हामीले निःशुल्क स्टल उपलब्ध गराएका छौँ,’ उनले भने, ‘घरेलु उत्पादनका सामग्री बिक्री गर्न आउने सबै स्टललाई कुनै पनि पैसा लाग्दैन।’ यसबाट स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुग्ने विश्वास उनको छ।
महोत्सवमा दुई सय बढी व्यापारिक स्टलहरू रहेका छन्।
प्रकाशित: १४ पुस २०८२ १४:०६ सोमबार





